गाउँ सहर

आजदेखि नेपाल संवत ११४२ सुरु, म्हः पूजा गरिँदै, मिथिलामा ‘गोधन’ पर्व

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। आजैदेखि यस संवतको नयाँ वर्ष सुरु हुन्छ। जसले गर्दा आज नयाँ वर्षका रुपमा मनाउने प्रचलन छ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए। नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए। ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत हो’, उनले भने।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो। नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ। गरीब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए। कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौँमा अझै छ।

म्हः पूजा गरिँदै

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ। कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायले आफ्नो म्हः पूजा पर्व मनाउने गर्दछन्।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्। आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रशन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ। 

 

मिथिलामा ‘गोधन’ पर्व मनाइँदै

दीपावली (तिहार) पर्वको चौथो दिन अर्थात कात्तिक शुक्ल प्रतिपदाका दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै छ।

बस्तीका आपस्त बन्धुबान्धव, परिवारका घरमूली, महिला एक ठाउँमा जम्मा भई मङ्गल गीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा रहेको छ। पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले पूजा गर्ने गरिन्छ। विघ्ननाशक गणपतिको आह्वान गर्दै सुरु गरिने यो पूजा विधिमा प्रकृतिको आराधना भएको मैथिल विद्वान बताउँछन्।

यो पर्व द्वापरयुगमा श्रीकृष्णले गोकुल (तत्कालीन मथुरा राज्यअन्तर्गतको बस्ती) नजिकको गोवद्र्धन पर्वतलाई इष्टजनसहित पूजा गरेको परम्पराको सम्झना भएको मानिन्छ। गाई (गो) मुख्य पशुधन मानिने त्यो बेला श्रीकृष्णले गोवर्द्धन पर्वतले गाई पाल्न घाँस, पानी दिएको भन्दै सबैलाई इन्द्रको साटो पर्वतलाई पूजा गर्न हौस्याएको महाभारतकालीन कथावस्तु नै पर्व परम्परा भएको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्र विमल बताउँछन्। पछि गोवर्द्धन पूजा नै मिथिलामा ‘गोधन’ भनिन लागिएको डा विमलको भनाइ छ।

कात्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चक पर्वको चौथो दिन मनाइने यस पर्वमा मिथिलाका कतिपय जाति समुदायमा महिलाले धान, सिन्दूर, फूल, दुबो र पिठार ओखलमा राखेर कुट्ने गर्छन्। यो मिश्रण गाई, गोरुसहितका पशुधनलाई रङ्गाउन प्रयोग गरिन्छ। गाई, गोरुलाई विभिन्न रङ्मा मिसाएर यो मिश्रणले रङ्गाउने गरेमा पशुधनमा कसैको आँखा नलाग्ने, देशान (रोगव्याधी) नलाग्ने मैथिल जनविश्वास छ।

पर्वका दिन गाई, गोरुका सिङ, खुरमा तोरीको तेल लगाई दिने, पिना (तोरी पेलिएको चोकर) खुवाउने र नयाँ दाम्ला लगाइदिने (दाम्ला फेर्ने) परम्परा रहेको छ। पर्वको मुख्य पक्षचाहिँ प्रकृति (वन, पहाड, पानीका मुहान, चरन क्षेत्र) संरक्षणको सन्देश रहेको डा विमल बताउँछन्।

गाउँ सहर संवाददाता