अनुदानमा दिएको बोका किसान र जनप्रतिनिधि मिलेर दशैंमा काटेर खाएपछि...
- गाउँ सहर संवाददाता
- १ कार्तिक सोमबार, २०७८ | १४:५७:०० मा प्रकाशित

बुटवल । बाख्रामा नश्ल सुधारका लागि नवलपरासीको सुनवल नगरपालिकाले अनुदानमा दिएको झण्डै तीन लाख रुपैयाँमा किनेको बोका किसान र जनप्रतिनिधि मिलेर दशैंमा काटेर खाएका छन् ।
अनुदानमा ल्याएको बोका काटेर खानु सरकारी सम्पत्तिको हिनामिना भएको भन्दै स्थानीयले भने यसबारे छानविन गरी दोषीहरुलाई कारबाही गर्न माग गरेका छन् ।
सुनवल नगरपालिकाले दुई वर्ष अघि अष्ट्रेलियन बोयर जातको बोका वडा नम्बर १३ का किसानहरूका लागि स्थानीय किसान गंगाराम गैरेलाई पाल्न दिएको थियो । स्थानीय सरकारको ७० प्रतिशत र किसानको ३० प्रतिशत लागत रहने अनुदान कार्यक्रम अनुसार सुनवल नगरपालिकाको २ लाख ८० हजार र किसानको ७८ हजार रूपैयाँ लगानीमा बोका ल्याइएको थियो ।
त्यही बोका, दशैंमा किसान र जनप्रतिनिधि मिलेर काटेका छन् । बोका बिरामी परेर नश्ल सुधारका लागि काम नलाग्ने भएपछि नगर प्रमुख भिमबहादुर थापा (भरत), नगर पशु शाखा प्रमुख मिश्रिप्रसाद खड्का र वडाध्यक्ष कृष्णप्रसाद देवकोटाको सहमतिमा काटेर मासु बेचेको गंगारामले बताएका छन् । उनकाअनुसार उक्त बोकाको मासु ९०० रुपैयाँ प्रतिकेजीका दरले विक्री गरिएको थियो ।
नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १३ का वडाध्यक्ष कृष्णप्रसाद देवकोटाले पनि बोका पटक–पटक बिरामी भएपछि बोयर प्रजातिको अर्को बोका दिने शर्तमा काट्न अनुमति दिएको बताए । बोका करिब ८० केजीको थियो ।
लुम्बिनी प्रदेश कृषि मन्त्रालयका पशु विकास अधिकृत हुमाकान्त पाण्डेले भने नश्ल सुधारका लागि सरकारी अनुदानमा दिइएको बोका मासु खाने प्रयोजनका लागि आफूखुशी बध गर्न नपाइने बताए । ‘बोका अस्वस्थ रहेको प्रमाणित भएको छैन,’ पाण्डेले भने, ‘यो विषयमा छानविन गरेर दोषीलाई कारवाही हुनुपर्छ ।’
स्थानीय केही युवाले पनि बोका काटेर खानेहरुलाई कारबाही गर्न माग गर्दै नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका छन् । दोषीलाई कारवाहीको माग गर्दै निवेदन दर्ता गरेको सुनवल नगरपालिकाका स्थानीय दीपक रानाले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस