काेराेना नभुलाैँ, ठूलो श्वरमा मन्त्रोच्चारण गर्दै दशैंको टीका लगाऔँ
- गाउँ सहर संवाददाता
- २९ असोज शुक्रबार, २०७८ | ०४:००:०० मा प्रकाशित

झापा । आज विजया दशमी । नवरात्रिको दशौं दिनलाई विजयादशमी भनिन्छ । आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमीलाई विजयादशमी भन्ने बुझ्नुपर्छ । यो दशैंको विशेष दिन हो ।
यस दिनमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ । यस दिन घर घरमा सबैभन्दा पाको र जानकार ब्यक्तिले सोह्र सामाग्रीले भगवती दुर्गा र अरु देवीहरु तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजित देवी, दाहिनेतिर जयादेवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामाग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दूर्गा र अन्य देवदेवीहरुलाई चढाइ आरती र पुष्पाञ्जलि गर्ने गरिन्छ । यति गर्नाले कसैले पनि आफूमाथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ ।
त्यसपछि मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दूर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राखिन्छ ।
त्यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ । त्यसपछि घरका मुलमान्छेले नव दूर्गा भगवतीको प्रसाद स्वरुप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशिर्वाद दिन्छन् । अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंको लागि तयार पारी राखिएको नयाँ लुगा गहना लगाई टीका लगाउन जान्छन् । जसको लर्को तथा भिड भाड यत्र तत्र बाटोमा या बसमा प्रशस्तै देख्न सकिन्छ ।
यस दिन पिङ खेल्यो या भुइँबाट खुट्टा छोड्यो भने मरेपछि स्वर्ग गइन्छ भन्ने मान्यता समेत रहेको छ ।
दशैंमा टिका थाप्ने, जमरा पहिरिने, आशिष लिने, दक्षिणा लिने कुरा केवल परम्परा मात्र होइन, यसमा हाम्रो जीवनको मूल्य र मान्यताहरु पनि लुकेका छन् । यीनिहरुको विशिष्ट अर्थ र महत्व पनि छ ।
दशैंको आर्शिवाद:
आशिष अर्थात आर्शिवाद । आफ्नो उन्नति, प्रगति, दीर्घायूका लागि मान्यजनले राख्ने सदिच्छा ।
दशैंमा अक्सर आफुभन्दा ठूला, मान्यजनबाट टिका लगाएर आशिर्वचन दिने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने संकेत गर्छ । मान्यजनले दिने आशिष हाम्रो निम्ति जीवनोपयोगी हुन्छ भन्ने पनि हो । साथै ठूलाबडाहरुले आफूभन्दा सानालाई सही मार्गदर्शन दिनुपर्छ । सही संस्कार दिनुपर्छ भन्ने सन्देश पनि हो यो ।
दशैमा टीका लगाउँदा पुरुषलाई दिने आशिष यस्तो छः
"आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे॥"
ससर्ती सुन्दा यसको अर्थ केलाउन सकिँदैन । गाह्राे छ । तर, चार हरफको यो श्लोकले हामीलाई सही ढंगको जीवन बाच्नका लागि उपयुक्त मार्ग देखाइदिन्छ । विभिन्न पौराणिक पात्रको विशेषता उल्लेख गर्दै त्यस्तै कुरा प्राप्त गर्न सदिच्छा यसमा राखिएको छ ।
यसको अर्थ यसप्रकार छः
द्रोणपुत्र अस्वत्थामको जस्तो लामो आयु अर्थात दीर्घायु हुनु । दशरथ राजाको जस्तो धनसम्पति होस् । भगवान रामको जस्तो शत्रु नाश होस् । नहुष राजाको जस्तो ऐश्वर्य होस् । पवनसुत हनुमानको जस्तो गतिशिलता होस् । दुर्योधनको जस्तो मान होस् । सूर्यपुत्र कर्णको जस्तो दानवीरता होस् । हलधर बलरामको जस्तो बल होस् । कुन्ती पुत्र युधिष्ठरको जस्तो सत्यवादिता हुनु । विदुरको जस्तो ज्ञान होस् । भगवान नारायणको जस्तो कीति वा प्रशिद्धि होस् । भन्दै मान्यजनबाट आशिर्वाद लिइन्छ ।
दशैंमा टिका लगाउँदा महिलालाई दिने आशिष यस्तो छ:
"जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।"
यसको अर्थ यसप्रकार छः
जयन्ती देवीको जस्तै महेश्वरीको रूप र विजयशलिनी होस् । मंगला देवीको जस्तो स्वतन्त्र ,मुक्ति देवीको रूपमा प्रसिद्दि होस् । काली देवी जसले सम्पूर्ण सृष्टिलाई आफूसँग समयमा लिने हुनु । भद्रकालीको जस्तै भद्र, खुशी, मंगल हुनु । कपालिनी देवीको जस्तो दुश्मनहरूका लागि भयानक हुनु । दूर्गाले जस्तै कर्म र उपासनाबाट दुर्गतिको नष्ट गर्नु । क्षमाकी देवीले जस्तै क्षमा दिनु । शिव देवी जस्तै कल्याणकारी र सर्वशक्तिमान हुनु । धातृ देवीले जस्तै सम्पूर्ण जीवको रक्षा गर्नु । स्वाहा देवीले जस्तै हरेक यज्ञ र दानपुण्य गर्नु र स्वधा देवीले जस्तै मानवका हरेक यज्ञ दानपुण्य को संकल्प लिनु ।
दशैंको टीका:
दशैंमा आफूभन्दा ठूला मान्यजन र आफन्तबाट आशीर्वाद लिन निधारमा टीका थापिन्छ । यसरी मान्यजनले आशिष दिँदै लगाइदिने टिकाको पनि निकै अर्थपूर्ण महत्व छ । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने पनि संकेत गर्छ। टीका जसलाई अक्षता पनि भनिन्छ । गाईको दूधको दही, चिनी, जिठोको रातो रंगमा मिश्रण गरिएको चामलको टीका निधारको मध्यभाग आज्ञा चक्रमा लगाइन्छ । यो दुबै आँखीभौंको माझमा हुन्छ । यसलाई तेस्रो नेत्र अर्थात तेस्रो आँखा भनिन्छ । आज्ञा चक्र स्पष्टता र बुद्धिको केन्द्र हो । यसले मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्छ ।
यसको अर्थ ठूलाबडा, मान्यजनले हामीलाई धन, बुद्धि, स्वास्थ्य सबैकुराले सर्वसम्पन्न बन्न प्रेरित गर्दै त्यसका निम्ति तेस्रो आँखा खुला राख भनेको हो । टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । साथै, रातो र सेतो टीका शान्ति एवं समृद्धिका प्रतीक हुन्, भनिन्छ । यसले मस्तिष्क, मन र विचारलाई शुद्ध चेतनायुक्त तुल्याउँछ भन्ने विश्वास गरिन्छ। आफ्नो घरमा टीका लगाएर आफन्तजनहरुकोमा पनि टीका ग्रहण गर्ने चलन छ ।
टीका लगाउने काम पूर्णिमासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको (पन्ध्र) दशैं चाडको अन्त्य हुन्छ ।
काेराेना नभुलाैँ, शुभकामना ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस