गाउँ सहर

डायस्पोरामा रहेका नेपालीहरुको अनुभवमा महान पर्व - दशैं

यस वर्ष पनि हाम्रो वरपर फेरी ठूलो महान चाड दशैँ हर्षोल्लासका साथ घर आँगनमा छुट्टै रौनक, आस्था सद्भावको प्रतिक लिएर आएको छ। विशेष गरी दशैँ आम नेपालीहरु दु:ख, पीडा भुलेर परिवार, नाता गोतासँग खुशीको समय बिताउने क्षण हो। शहरबाट गाउँ जानेको लर्को लाग्न थालेपछि दशैँ आएको आभाष हुन्थ्यो। चिटिक्क पोतिएको घर, नयाँ कपडा अनि मिठो खानेकुराले दशैैँको सुगन्ध ल्याउँथ्यो। अझ, लिङ्गे पिङको चुचुहुई र आकाश भरी उड्ने रंगबिरंगी चङ्गाले दशैँको रौनकमा थप रङ् भर्थ्याे। प्रविधिको वृद्धिसंगै यस्ता चाड पर्व मानने तौर तरकामा समेत आजकल फेरबदल देखिएको भए पनि दशैँ नेपालीको लागि आपसमा शुभकामना साटा साट गर्ने, आपसी सद्भाव, मेलमिलाप भाईचारा र अनेक किसिमका रमाइलो गर्ने गरी मनाउने परम्परा रहिरहँदा डायस्पोरामा रहेका नेपालीहरु के कसरी मनाउने गरेका छन त उनीहरुको अनुभव समेटने प्रयास गरेका छौँ।

- छमन मगर, हाल यूएई

करिब ३ वर्ष भयो आफ्नो देश अनि आफ्नो जन्मभूमि छोडेर आएको अनि तिनवटा दशैँ यो पराई मुलुकमा बिते खोइ दशैँ पनि दशैँ जस्तो लाग्दैन गाउँमा साथी भाइ इस्टमित्र भेटिन्थे र पो दशैँ आएजस्तो लाग्थ्यो अनि घर परिवार सँगै टीका जमरा रमाउँदै लाईन्थ्यो र पो दशैँ आए जस्तो लाग्थ्यो तर यहाँ यो तीनवर्षले धेरै कुरा दुःखले याद गरायो अनि थोरै सुखले भुलाईदियो यो दशैं तिहारमा परदेशमा बस्ने कस्को मन पो नरुने होला र यसम म पनि अछुतो रहिन दशैँमा छोरो घर आएन भनेर गाउँमा आमा बाबा रुँदै होलान छोरोले परदेशमा आँसुलाई पनि पसिनामा बदलेर ५५ डिग्रीको घाममा साथीभाईको अगाडि त्यो मधुरो मुस्कान मुस्कुराई रहेको होला के गर्नु याद आउँछ दशैमा लगाईने त्यो पिङ अनि फुलपातिमा काटिने बोका अझबढी त्यो दशैंको मेला खुब याद आउँछ जान सक्ने भएत भर्खरै उडेर जान मन थियो खैर जे भएपनि........। स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण दाजुभाई दिदिबहिनीमा बिजय दशमीको हार्दिक मङ्गलमय शुभकामना।

- सन्तोष पाठक, हाल अस्ट्रेलिया

सामुहिकतामा रमणीय हुने चाडपर्व मध्य बडा दशैं पनि एक हो ।आफ्नै घर परिवार इष्ट मित्र छर छिमेकबीच हार्दिकता माया र सद्भाव साटासाट गरेर पिङ सेल रोटी र जमरा सँग ठूला बडाबाट लिइएको आशीर्वादको महत्व नै फरक हुन्छ। एक दशक देखि अष्ट्रेलियालाई कर्म भूमि बनाउँदै आए पनि यसपालीको दशैँ गत वर्ष भन्दा केहि फरक तरिकाले मनाउने हो। कोभिडका कारण गत वर्ष खासै उल्लासमय हुन नसकेकोले अष्ट्रेलियाको माहोल यसपाली केही फरक बनिरहेको छ । साधारणतया हिन्दू महासँघ परिवार भजन मन्डली नेपाली गैर आवसिय सँघ परिवार तथा नेपाली दिदी बहिनी परिवारसँग आबद्धमा रहेर बिगतका केही दशैहरु हर्शोउल्लासपूर्ण बनेता पनि सानो ब्यापारिक समूहसँग आबद्धता जनाउँदै टीका ग्रहण गर्ने योजना रहेको छ।आफ्नै परिवारका ठूला बडा सदस्यहरुको आशीर्वाद लिन नपाएनि आफूभन्दा उमेरले जेठा दाजु दिदीहरु सँग टीका ग्रहण गर्दा पनि प्रदेशमा बडा दशैंको सम्मान हुने र घरको सम्झनामा कमी आउने छ। विशेषत:आफ्नै घर सानो जमघटबीच टीका आदन प्रदान गर्ने र नेपाली ब्यापारिक समूहसँग सामुहिक टीका टाला कार्यक्रममा सरिक हुने र आफ्नै नेपाली परीकारसँग रमाएर दशैँ मनाउने सोच छ।

- सुनील पौडेल, हाल अमेरिका

दशैँ तिहार आइसके खै यो साल पनि घर गइ भएन प्रायः सबै परदेशीका बिलौना हुन यि, कामको चाप, परिस्थिती सबै बाधक हुँदा वर्षोँसम्म आफ्नो परिवार संग चाडपर्ब मनाउन नपाउनुका पिडालाई भुल्न बिदेशमै भएका साथीभाइ यसो रमाइलो गरौ संगै बसौ भनेर २-४ दिन समेत छुट्टी नपाउँदाको पल अझ कति पिडादायी होला। विदेशीनु बाध्यता रहे पनि चाड पर्व आउँदा घर परिवारसँग टाढा बस्दा खल्लो महसूस हुने गर्दछ। अँध्यारो पछि उज्यालो आउँछ भन्ने आशामा बस्नु बाहेक अर्को बिकल्प देखिन्न परदेशीहरुका लागि चाडबाड। तसर्थ प्रवासमा रहे पनि खुसीका साथ आत्मीय साटा साट गरी मनाउनेमा आफू रहेको बताए।

- कृष्ण बिक्रम भण्डारी, हाल साउदी अरब

लगातार ८ वर्षसम्मको महान चाडले बेलामा प्रदेशमै रहिरहँदा, मन मुटुमा खुसी, उमङ्गको आभाष उत्पन्न गराउने गर्दछ। यस वर्षको दशैँ परिवार तथा आफन्तसंग धुमधामले मनाउने सोच भएरै प्रदेशबाट स्वदेश फिर्ति हुनकै लागि कम्पनीमा छुट्टिको प्रकृया अगाडि बढाएको थिएँ। विडम्बना, कम्पनीले छुट्टि नपठाउने भएपछि, यस वर्षको दशैँ विदेशमै अलपत्र भएको छ्। यो दशैँमा साथीभाईहरु मिलेर खसी काट्ने र रमाईलो गर्ने योजना त छ। तर, यहि दशैँको दिनहरुमा आफ्नै दैनिकी ड्युटिमा ४ घण्टा दैनिक तालिमको समय तालिका थपिएको छ जसले गर्दा यो महान चाड मेरो लागि जतिसुकै खाने र लगाउने गरिएपनि खासै उमङ्गमय नहुने र घरपरिवार तथा आफन्तको अभाव निकै खड्किने पक्का भएको छ। यसरीनै अहिलेको दशैँलाई विदा गरिने र आगामी चाड पर्व परिवारसँग बसेर मनाउने विचार छ।

- अर्जुन पौडेल, हाल भारत

परदेशी हुँ मेरो लागि न दशैं न तिहार आउँछ। मलाई त जब म मेरो मातृभूमिमा प्रवेश गर्छु तब हमेशा दशैं तिहार आउने गर्छ।त्यसैले यो दशैं तिहार भन्ने कुरा परदेशमा त्यति सम्झन मन लाग्दैन। किनकी यो मन यो मुटु हरपल मेरै मातृभूमिको लागि धड्किने गर्छ। बिहानीको मिर्मिरे हुन नपाउँदै अनि रात झमक्कै परेपछि पबेलियनमा फर्किने यी मेरा दिनचर्याहरुले मलाइ दशैं के हो तिहार के हो भनेर सोधिरहन्छ्न्। म जवाफ दिनेगर्छु- यी मेरो लागि सपनाहरु हुन जो हरेक रातहरुमा आउने गर्छन अनि मिर्मिरे मै एक्लो बनाएर जाने गर्छन्।

मेरो लागि जे जस्तो भएपनि मेरा हरेक सहयात्रीहरुलाई यो दशैं तिहारको अविरल शुभकामना यी महान पर्वहरु वर्षमा एकपल्ट मात्रै हैन कि बार बार आउने गरून्। हरेक सहयात्रीहरुको जिन्दगी सबल सुखद र मंगलमय रहोस भन्ने कामना गर्न चाहन्छु।

- गोपाल गिरी, हाल दक्षिण कोरिया

भविष्यको चिन्ता र आफ्ना घर परिवारको याद आईरहँदा किन कुन्नि आफूलाई यी चाड पर्वहरु नआए पनि हुने जस्तो लाग्ने तर वर्षको एक पटक आउने यी पर्वले मलाई कता कता साथीहरु मिलेर घर आँगन सजाउन नजिकैको गाउँमा गएर रातो माटो र कमेरो लिएर आएको हिजो जस्तो लाग्छ। तर अहिले सात समुन्द्र पारी बस्दा यी दशैंका बेला गुँजिने मालश्री धुनले मनमा एक किसिमको तरङ्ग, उत्साह र जागर पैदा गर्दछ। विदेशमा बसेर राम्रोसँग घर परिवारसँग दशैं नमानेको वर्षाैँ भयो। यो वर्ष आउँछु आमा, अर्को वर्ष आउँछु आमा भनेर बहना बनाएर पन्छिएको धेरै भयो। तर पनि आफूलाई सम्हालन कोरोनाको जोखिमलाई मोलेर बाहिर कार्यक्रम पनि नभएकोले घरमा बसेर साथी सँग मनाउने विचार गरेको छु।

- पोषण पुन, हाल पपुवा न्यूगिनी

विगत केहि वर्ष देखि म यहाँ ब्यवसाय गर्दै आई रहेको छु र एन आर एन सँग पनि आबद्ध रहेको छु। विगतमा केहि कार्यक्रमहरु गरिएको थियो। तर २ वर्ष यता कोभिडका कारण कार्यकम र म स्वयं पनि काम ब्यस्तताका कारण दशैं नमानेको धेरै भयो। दशैंको नाम सुन्नसाथ आफूलाई गाउँमा हुँदा पिङ खेलेको, घरमा आमाले सेल रोटी बनाएर खुवाएको झलझलि आँखा अगाडि नाचेको अनुभूति हुन्छ। अहिले यहाँ आएपछि काममा नै बढी ब्यस्त हुने र यहाँ नेपालीको संख्या पनि अत्यन्त न्यून रहेको हुँदा त्यति चहलपहल देखिँदैन त्यसैले पनि अहिले हाम्रो परिवारबीच नै रहेर दशैं मनाउने सोच गरेको छु।

- प्रतिमा श्रेष्ठ, हाल जापान

सधैँ नेपालमा नै मानिरहेको यो चाड यसपाली पहिलो पटक जापानमा मान्दै छु। अहिले सम्म कहिले पनि घर परिवारबाट टाढा रहेर नमानेको यो पर्व आज यसरी मान्नु पर्दा आफूलाई अत्यन्त गारो महसूस भएको छ। दशैंमा नयाँ लुगा लगाउने, रोटी खाने, पिङ खेलने गरेको त्यो पल अहिले आफूलाई कहाली लागेको अनुभूत भएको छ। घरमा बुवा, आमा, दीदीहरुसँग मिलेर दशैं मानेको तिहारमा साथी मिली भैली खेलेको अब सम्झना मात्र सीमित भएको ठानेकी छु। बिरामी आमाको यसपाली हातबाट टीका लगाउने र आशिर्वाद ग्रहण गर्ने सपना जस्तो भयो। सधैँ हजुरबुवा र आमा बुबाले माया गरी लगाएको त्यो टीकामा यो निधार यसपाली खाली हुने भएको छ। उच्च शिक्षा र यहाँको रोजगारीले भविष्यको चिन्ता त छँदैछ त्यही पनि आफ्नो पीडा लुकाएर घर परिवारलाई सुख र शान्ति देखिन सकोस भनेर नै लागी परेकी छु। हर्ष, उत्साह, जोश, उमङ्गका साथ मानने गरेको यो पर्व म बिना अरु सबै परिवार एक साथ बसेर रमाइलो गर्ने धोका अधुरो रह्यो तहि पनि यहाँ आफूसँग साथमा रहेका साथीहरुसँग बसेर रमाइलो गर्ने रहेको छ।

तपाईँको मत