अर्थतन्त्र

वस्तु निर्यात ११५.९ प्रतिशतले वृद्धि, विप्रेषण आप्रवाह १८.१ प्रतिशतले कमी, निक्षेप घट्याे-कर्जा बढ्याे

[देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति]

काठमाडाैँ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति, (आर्थिक वर्ष २०७८-७९ को पहिलो महिनाको तथ्याङ्कमा आधारित) ले वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.३५ प्रतिशत रहेकाे बताएकाे छ । यस्तै आयात ७५.७ प्रतिशतले र निर्यात ११५.९ प्रतिशतले बढेको छ भने  विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.१ प्रतिशत र अमेरिकी डलरमा १७.५ प्रतिशतले घटेको बताएकाे छ ।

वित्तीय स्थितिनुसार शोधनान्तर स्थिति रु.३८ अर्ब ७५ करोडले घाटामा छ । कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ४२ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च रु.१० अर्ब ४९ करोड र राजस्व परिचालन रु.९३ अर्ब २६ करोड छ । विस्तृत मुद्राप्रदाय १.६ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १९.५ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १.६ प्रतिशतले घटेको छ र निजीक्षेत्रमाथिको दावी १.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर १९.६ प्रतिशत र निजीक्षेत्रमाथिको दावीको वृद्धिदर २८.४ प्रतिशत रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।

उसका अनुसार आर्थिक वर्ष २०७८-७९ को पहिलो महिनामा कुल वस्तु निर्यात ११५.९ प्रतिशत ले वृद्धि भई रु.२० अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ क्रमशः १६७.० प्रतिशत, ४७.८ प्रतिशत र १७.५ प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, धागो (पोलिष्टर तथा अन्य), जुस, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, आयुर्वेदिक औषधी, जडिबुटी, तार, तयारी छालाका समान लगायतका वस्तुको निर्यात घटेको छ ।

तथ्यांकनुसार आर्थिक वर्ष २०७८-७९ को पहिलो महिनामा कुल वस्तु आयात ७५.७ प्रतिशतले वृद्धि भई रु.१५० अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५८.७ प्रतिशत, ८७.६ प्रतिशत र १२०.८ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन लगायतका वस्तुको आयात बढेको छ भने रसायनिक मल, सिमेन्ट, सुर्ती, हवाईजहाजका पार्टपुर्जा, तयारी पोषाक लगायतका वस्तुको आयात घटेको छ ।

समीक्षा अवधिमा कञ्चनपुर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । त्यसैगरी, समीक्षा अवधिमा कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयात वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७८-७९ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ७०.६ प्रतिशतले वृद्धि भई रु.१२९ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा  २२.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.२ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी रु. १८ अर्ब ८६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.९ अर्ब २६ करोड बराबरको यस्तो आयात भएको जारी वित्तीय स्थितिमा उल्लेख छ ।

विप्रेषण आप्रवाह

राष्ट्र बैंककानुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह १८.१ प्रतिशतले कमी आई रु.७५ अर्ब ९६ करोड कायम भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १३,८०० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २८६.१ प्रतिशतले वृद्धि भई ११,६२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८०.० प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १६.४ प्रतिशतले कमी आई रु.८५ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २० प्रतिशतले बढेको थियो । 

निक्षेप परिचालन

राष्ट्र बैंककानुसार, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.१ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १९.६ प्रतिशतले बढेको छ ।

२०७८ साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.८ प्रतिशत, ३४.३ प्रतिशत र ४९.५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.७ प्रतिशत, ३२.२ प्रतिशत र ५०.६ प्रतिशत रहेको थियो ।

२०७८ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४१.४ प्रतिशत रहेको छ । २०७७ साउन मसान्तमा यस्तो निक्षेपको अंश ४३.८ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह

राष्ट्र बैंककानुसार, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.५ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २९.४ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १.१ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १.६ प्रतिशतले बढेको छ ।

२०७८ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.८ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७७ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.१ प्रतिशत र १२.७ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८÷७९ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ०.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १.४ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ०.७ प्रतिशतले, रियल स्टेट कर्जा निक्षेप १.५ प्रतिशतले, मार्जिन प्रकृति कर्जा २.१ प्रतिशतले र हायर पर्चेज कर्जा १.८ प्रतिशतले बढेको छ भनेट्रष्ट रिसिट (आयात) कर्जा ०.४ प्रतिशतले घटेको छ ।

पुनरकर्जा, सहुलियतपूर्ण कर्जा र व्यवसाय निरन्तरता कर्जा

यस बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ साउन मसान्तमा रु.११८ अर्ब ४९ करोड लगानीमा रहेको छ ।

२०७८ साउन मसान्तसम्ममा १ लाख ११ हजार ४ सय ७१ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.१७२ अर्ब १७ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४८ हजार ४ सय ९८ ऋणीलाई प्रवाह भएको रु.११२ अर्ब ७५ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ६० हजार ३ सय २२ महिला उद्यमीलाई प्रवाह भएको रु.५५ अर्ब ७९ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ६ सय ५१ ऋणीको रु.३ अर्ब ६४ करोड कर्जा बक्यौता रहेको छ ।

“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ साउन मसान्तसम्ममा रु.१ अर्ब स्वीकृत भएको राष्ट्र बैंकले बताएकाे छ ।

वित्तीय पहुँच

राष्ट्र बैंककानुसार, कुल ७५३ स्थानीय तहमध्ये २०७८ साउनसम्म ७५० तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७७ साउनसम्म ७४७ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।

यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७८ साउन मसान्तमा १३३ रहेको छ । यस मध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, १७ वित्त कम्पनी, ७० लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असार मसान्तमा १०,६८३ रहेकोमा २०७८ साउन मसान्तमा १०,७२० पुगेको छ ।

पूर्ण पाठ यहाँ पढ्नुहाेसः

गाउँ सहर संवाददाता

तपाईँको मत