दृष्‍टिकोण

गौरा पर्व र मानसिक स्वास्थ्य प्रवर्द्धन

[पर्वको संरक्षणको लागि राज्य र समुदाय स्तरबाट पहल गर्नु अति आवश्यक छ]

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका बासिन्दाले मनाउने साँस्कृतिक तथा साङ्गीतिक पर्व गौरा पर्व हो । भाद्र शुक्ल पञ्चमीको दिनदेखि अष्टमीसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा गौरा पर्व मनाइन्छ । यो पर्वमा व्रतालु महिलाहरू गौराघरमा गई शिव र गौरीको पूजा–अर्चना गर्दै पाँच प्रकारका अन्नको मिश्रणबाट बनेको ‘बिरूडा’ लाई प्रसादका रूपमा ग्रहण गरी रमाइलो गर्ने प्रचलन छ । यसले समग्र लोकजीवन प्रतिबिम्बित भएको देख्न सकिन्छ । गौरा पर्व समापन भएको दिन व्रतालु महिलाले घर, परिवारलाई प्रसाद्को रुपमा बिरुडा बाँड्ने र ग्रहण गर्ने चलन रहेको जनाइएको छ । गौरापर्वको दिनलाई गौराष्टमी, दुर्बाष्टमी वा अठ्वाली पनि भन्ने गरिएको छ । मान्यतानुसार गौराकी सौताका रुपमा ‘सञ्ज्या’ लाई ल्याएर ‘दुर्बा’ अर्थात दुबोको पूजा हुने गरेकाले दुर्बाष्टमी  पनि भनिन्छ । 

अमुक्ताभरण सप्तमीका दिन गौराघरमा भित्र्याइएको गौरालाई व्रतालु महिलाहरुले गौराखला (आँगन) मा लगेर पूजा गर्ने चलन छ । यो दिन तागाधारी नारीले पवित्र धागोबाट निर्माण गरिएको दुबोधागोलाई विधिपूर्वक धारण गर्ने गरिन्छ । दुर्बाष्टमीका दिन लोली गौरा र सञ्ज्या गौराको सौतीमिलन गराइ मङ्गलगान (फाग) गाएर पूजा अर्चना सकेपछि सबै व्रतालु महिला मिलेर गौरा महेश्वरलाई त्यहाँबाट उठाइ सूर्यार्घ दिने चलन छ । त्यसपछि अठ्वाली पूजा गर्ने गौराको खलामा राख्ने गरिन्छ । अठ्वाली गान सकेपछि फल फड्काउने, सूर्यको पूजा गर्ने र प्रसादको रुपमा टीका, फूल र पञ्चबिरुडा बाँड्दै देउडा खेल्ने, ठाडो खेल खेल्ने प्रचलन छ । यस चाडमा व्रत बसी शिव र गौरीको पूजा गर्नाले सुख, शान्ति प्राप्त हुने, इष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।

मानसिक स्वास्थ्य प्रवर्द्धन

गौरा पर्वले व्यक्तिको जीवनमा आएका विभिन्न मानसिक असहजता र तनावलाई कम गर्न यो मनको कुरा त्यो मनलाई अभिव्यक्त गरेर भावना साटासाट गरी मनको भारी हलुका गर्न सहयोग पुर्याउने माध्यम बनेको छ । देउडा खेल्ने, ठाडो खेल खेल्न, शुभकार्यमा गाइने सगुन, फाग र हुड्केउली गीतहरू मानसिक स्वास्थ्य प्रवर्द्धनको लागि पनि महत्वपूर्ण रहेको छ । यसले मनोविज्ञानमा प्रयोग गरिने विभिन्न थेरेपीहरु जस्तै, खेल मनोचिकित्सा, डान्स थेरापी, म्युजिक थेरापी, कथावाचन थेरापी, क्रिएटिभ मुुभमेन्ट थेरापी आदिलाई समावेश गरेको छ । गौरामा हामी यी सम्पूर्ण कुराहरु समावेश हुने भएकोले यसले मानसिक स्वास्थ्य प्रर्वद्धन गर्न पनि सघाउँछ । 

चाडपर्वको आफ्नै मनोवैज्ञानिक, सामाजिक र सांस्कृतिक महत्व रहेको छ । यसले गर्दा नै समाजमा मानिसहरूले परम्परागत ढंगबाट चाडपर्वहरू मान्दै आएका छन् । नेपालमा चाडपर्वले व्यतिको मनोसामाजिक सुस्वास्थ्यमा के–कति र कस्तो असर पार्छन् भन्ने सवालमा गहन अध्ययन भएकोजस्तो देखिँदैन । यस सम्बन्धमा मनोवैज्ञानिक तथ्यांकहरू पनि पर्याप्त उपलब्ध छैनन् । 

नेपालमा चाडपर्वमा खुसियालीका साथै सांस्कृतिक पक्ष पूरा गर्न आयको क्षमता नभए पनि चाडपर्वका बेला जसरी भए पनि उपभोग गरेर चाडपर्व मनाउनुपर्छ भन्ने मान्यताले व्यतिको मनोसामाजिक सुस्वास्थ्यमा सकारात्मक प्रभाव हाम्रो समाजमा रहेको छ ।

मनोवैज्ञानिक सुस्वास्थ्यको सिद्धान्त अनुसार, जीवनमा खुशी र समृद्धिका पाँच महत्वपूर्ण तत्वहरु सकारात्मक भावना÷संवेग, संलग्नता, सम्बन्ध, अर्थपुर्णता, र उपलब्धि हुन्छन् । सकारात्मक मनोविज्ञानले व्यक्तिको जीवनमा उपयुक्त भूमिकाको उजागर गर्न को लागि सकारात्मक भावनाहरू, संवेगहरु, चरित्र शक्तिहरू, र सकारात्मक मानव कल्याण र आनन्दको सेवा गर्दै उपयुक्त जीवन निर्माण गर्ने संस्थाहरूको अध्ययन क्षेत्र महत्वपुर्ण हुन्छ । 

हाम्रो पुराना संस्कृतिहरू सगुन र फागमा गाइने भाकाहरू लोप हुन थालेका छन् । विवाह गर्ने बेला, यज्ञयज्ञादी लगाउने बेला तथा देवीदेवताको पूजाआजा गर्दा ‘सगुन र फाग’ गाइने  गरिन्छ । यसले मानसिक स्वास्थ्य प्रर्वद्धन गर्न पनि सघाउँछ त्यसैले हामीले यि पर्वको संरक्षणको लागि राज्य र समुदाय स्तरबाट पहल गर्नु अति आवश्यक छ ।

लेखक पिके क्याम्पसका अध्यापक र द स्कुल अफ साइकलोजी नेपालका अध्यक्ष हुन् ।

तपाईँको मत