गाउँ सहर

गण्डकी प्रदेशका मन्त्री श्रेष्ठको प्राथमिकतामा कोभिड र बाढी प्रभावित विद्यालय

पोखरा । गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका नवनियुक्त मन्त्री मेखलाल श्रेष्ठको प्राथमिकतामा कोभिड र बाढी प्रभावित विद्यालय परेका छन् ।

कोभिड र बाढी पहिराेबाट समस्यामा परेका गण्डकी प्रदेशका विद्यालयका लागि आवश्यक कदम चाल्ने उनले बताए । जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय रहेकोले शिक्षालाई उदाहरणीय रुपमा अगाडि बढाउँदै जेष्ठ नागरिकलाई सम्मान तथा वालवालिकाहरुलाई भविष्यको कर्णधार बनाउनेमा आफू प्रतिबद्ध रहेको बताएका छन् ।

मन्त्री श्रेष्ठले “बाढीपहिरोबाट क्षति भएका विद्यालयहरुको विवरण संकलन गरी पठन पाठन सञ्चालन गर्नको लागि सहयोग उपलब्ध गराइने, कोभिड–१९ बाट प्रभावित शिक्षक एवम् विद्यार्थीहरुको लगत संकलन गरी आवश्यक अनुसार मनोसामाजिक परामर्श उपलब्ध गराइनुका साथै विद्यालयहरुमा विद्यार्थी एवम् शिक्षकहरुको नियमित स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सञ्चालन गरिने बताए ।

मन्त्री श्रेष्ठले “असल नागरिक तयार गर्नको लागि सबैभन्दा पहिला असल शिक्षाको आवश्यक पर्छ, असल शिक्षकको नेतृत्वबाट नै कर्मठ र उर्जावान विद्यार्थी उत्पादन गर्न सकिन्छ । विद्यार्थी र शिक्षकहरुलाई मानसिक, शारिरीक र संवेगात्मक कारणले नियमित क्रियाकलाप गर्न असक्षम नहुन भनी त्यसको पहिचान गरी गुणस्तरीय शिक्षा उत्पादन गरि गण्डकी प्रदेशलाई नै अग्रस्थानमा राख्न दिनरात नभनी लागि पर्छु,” भन्दै प्रतिबद्धता व्यक्त गरे ।

गाउँ सहर संवाददाता

तपाईँको मत