कृषि

अस्ट्रेलिया जाने सपना पन्छाएर गाउँमै बाख्रापालनबाट वार्षिक १२ लाख कमाइरहेका छन् मल्ल

  • २६ असार शनिबार, २०७८ | ०९:५२:०० मा प्रकाशित

म्याग्दी । आफ्नै गाउँठाउँमा उद्यम गरी म्याग्दीका कृष्ण मल्ल मनग्य आम्दानी गर्न सफल भएका छन् । बेनी नगरपालिका–६ चुत्रेनीका २९ वर्षीय मल्लले पैसा कमाउनकै लागि अस्ट्रेलिया जाने तयारीलाई पन्छाएर गाउँमा नै सुरु गरेको बाख्रापालनबाट अहिले वार्षिक १२ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । 

उनी करिब ६ वर्ष खाडी मुलुकमा बिताएर तीन वर्षअघि स्वदेश फर्किए । सुरुमा अस्ट्रेलिया जाने सोचे पनि त्यसलाई त्यागेर यहीँ बाख्रापालन थाले । बुबाले रहरले पालेका स्थानीय जातका बाख्रामा मल्लको ध्यान गयो । अहिले भने बोयर जातका बाख्रापालन गरेका छन् ।

‘विदेश जाने सोच त्यागेर बाख्रापालन गरिरहेको छु, जेठसम्म १२ लाख रुपैयाँका बोका बेचेर त्यसलाई बाख्रापालनमा नै थपेको छु’, मल्लले भने । करिब ११ लाख रुपैयाँबाट सुरु भएको व्यवसायमा लगानी ३० लाख पुगेको छ ।

खोरमा अहिले २८ वटा बोएर छन् । ठूलो क्षेत्रफलमा उन्नतजातको घाँससमेत लगाइएको छ । बाख्रा र बोका बिक्रीबाट वार्षिक २० लाख रुपैयाँसम्म कमाइ गर्ने उनकाे लक्ष्य छ । उनको फार्ममा तीन लाखसम्म पर्ने बोयर बोका छन् । ‘यहाँको कमाइले म पूर्णरूपमा सन्तुष्ट छु,आम्दानीलाई दोब्बर बनाउने गरी थप खोर विस्तार गदैंछु’, नेपाल व्यावसायिक बाख्रापालन महासंघ म्याग्दीका अध्यक्ष समेत रहेका मल्लले भने ।

 अस्ट्रेलियाबाट आयात गरिएको बोयर जातको बोका र एक माउबाट सुरु भएको बाख्रापालन यसै वर्ष ५० पुर्‍याउने लक्ष्य उनले सुनाए । थप बोयर मगाइएको छ । खोरमा एक वर्षमा दोब्बर हुने गरी माउ राखिएको छ । मल्लले यूवापुस्तालाई बाख्रापालनमा सक्रिय बनाउन आवश्यक प्राविधिक सहयोगसमेत गर्ने बताए ।

कृष्ण बहुउद्देश्य कृषि तथा पशुपालन फार्म दर्ता गरेर मासुको प्रयोजनका लागि नभई शुद्व बोयर एवम् स्थानीय खरी जातको बाख्रालाई बोयर बोका दिएर नस्ल सुधार गर्दै उन्नतजातका पाठापाठी बिक्री गर्ने याेजना उनकाे छ । छिमेकीको बाँझो जमिन भाँडामा लिएर घाँस खेतीसमेत विस्तार गरिएको छ । रासस

तपाईँको मत