कृषि

गाउँम युवा नभेटिने बेला कृषि व्यवसायमा रमाउँदै दीपक, १५ लाखसम्म आम्दानी

  • १६ मङ्सिर शनिबार, २०८० | ०८:३६:०० मा प्रकाशित

भोजपुर । गाउँघरमा व्यवसाय गरेर बस्ने युवा कमै मात्र भेटिन्छन् । स्वदेशमा राम्रो आम्दानी नहुँने देखेर धेरै युवा वैदेशिक रोजगारमा जाने गरेका छन् । तर भोजपुरका युवा व्यवसायी दीपक श्रेष्ठ आफ्नै ठाउँमा कृषि व्यवसाय गरेर समाजको उदाहरणीय पात्र बनेका छन् ।

आफ्नै ठाउँमा केही फरक उदाहरणीय कर्म गर्ने लक्ष्यले कृषि व्यवसायमा लागेका ३४ वर्षीय श्रेष्ठले मनग्य आम्दानीसमेत गर्दै आएका छन् । दश वर्षअघिबाट व्यवसायमा जोडिएका श्रेष्ठले प्रत्यक्षरुपमा छ जनालाई रोजगारीसमेत दिएका छन् ।

कृषि व्यवसाय गरेर वार्षिक रु १५ लाखसम्म आम्दानी लिने गरेको उनको भनाइ छ । लगनशील भएर आफ्नै ठाउँमा कृषि कर्म गर्नसके पैसा कमाउनका लागि विदेश जानु नपर्ने उनको भनाइ छ । “दश वर्षअघिबाट व्यावसायिक कृषिमा लागेको छु”, उनले भने, “वार्षिक रु १५ लाखसम्म आम्दानी हुन्छ । आफू स्वरोजगार बनेर छ जनालाई रोजगारी पनि दिएको छु । व्यावसायिक बन्न सके पैसा कमाउन विदेश जानुपर्छ भन्ने छैन । यही विदेशको भन्दा राम्रो आम्दानी लिन सकिन्छ ।”

व्यवसायी श्रेष्ठले व्यावसायिक रुपमा कुखुरापालन, बङ्गुरपालन, माछापालनसँगै केरा खेती पनि गरिरहेका छन् । व्यवसायको लागि हालसम्म रु एक करोडको हाराहारीमा लगानी गरेको उनको भनाइ छ । व्यवसायमा लाग्न प्रोत्साहन गर्न गाउँघरका न्यून लगानी भएका युवालाई ६० प्रतिशतसम्म लगानी गरेर कुखुरापालन व्यवसायमा लाग्न सहयोग गर्दै आएको उनले जानकारी दिए ।

“व्यवसायको लागि हालसम्म रु एक करोडको हाराहारीमा लगानी गरिसकेको छु”, उनले भने, “लगानीअनुसारको प्रतिफल लिन कुनै समस्या छैन । युवालाई कृषि कर्ममा लाग्न प्रोत्साहन गर्न आवश्यक सहयोग पनि गरिरहेको छु । मैले प्रोत्साहन गरेसँगै कृषि कर्ममा धेरै युवा जोडिएका छन् ।”

कृषिमा उदाहरणीय काम गरिरहेको भए पनि हालसम्म राज्यबाट कुनै सहयोग नपाएको उनको भनाइ छ । कोभिडकालमा धेरै ठूलो क्षति भएको भए पनि त्यो समयमा पनि कुनै राहत नपाएको श्रेष्ठले बताए । “राज्यबाट हालसम्म कुनै सहयोग पाएको छैन” उनले भने, “कोभिडकालमा दाना नपाएर कुखुरा, बङ्गुर मर्दा दश लाख बढी क्षति भयो । तर त्यो पनि कुनै सहयोग पाइएन । सबै लगानी आफैँ गरेको छु । राज्यको लगानी शून्य छ ।”

फार्मबाट उत्पादन भएको मलको सदुपयोग गर्दै व्यावसायिक केरा खेती गरिरहेको उनको भनाइ छ । भोजपुर नगरपालिका १२ टक्सारमा रहेको आफ्नो अजिमा कृषि तथा पशुपालन फार्ममा दुई सय झाङ केरा लगाएको उनले बताए ।

यसलाई थप विस्तार गर्ने लक्ष्य रहेको श्रेष्ठ बताउँछन् । हाल एक स्थानमा बङ्गुरपालन, चार स्थानमा व्यावसायिक रुपमा कुखुरापालन र दुई वटा पोखरीमा माछापालन गरिरहेको उनको भनाइ छ ।

“व्यवसायलाई थप विस्तार गर्ने लक्ष्य छ”, उनले भने, “उत्पादित मलको सदुयोग गर्दै व्यावसायिक सुन्तला, कागती खेती र तरकारी खेती गर्ने लक्ष्य छ । खेती विस्तारको लागि आफ्नोसँगै केही जग्गा लिजमा लिएको छु ।” कृषि कर्म गर्ने दक्ष जनशक्ति पाउन समस्या रहेको उनको भनाइ छ । राम्रो काम गर्ने मानिस पाए थप दुईदेखि तीन जनालाई रोजगारी दिने योजना उनको छ ।

“सबै काम आफैँले मात्र गर्न सम्भव छैन”, “कामदार जुटाउन भने समस्या हुन्छ । खेती विस्तार गर्न दक्ष जनशक्ति पाउन मुस्किल पर्छ । मानिसमा मेहनत गरेर खानेबानी कम हुँदै गएको अवस्था छ ।” राज्यले अनुदानका कार्यक्रम सञ्चालन गर्दा वास्तविक किसानसम्म पुग्नु पर्ने उनको भनाइ छ । पहुचको भरमा कतिपय अनुदानका कार्यक्रम सञ्चालन गरिँदा वास्तविक किसानमा मारमा पर्ने गरेको उनको गुनासो छ ।

तपाईँको मत