यसवर्ष पनि साउनमा पशुपतिनाथ मन्दिर नखुल्नेभयाे
- गाउँ सहर संवाददाता
- २१ असार सोमबार, २०७८ | २०:१५:०० मा प्रकाशित
काठमाडाैं । यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रुपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो । वैशाख १६ गतेदेखि सरकारले कोरोनाबाट बच्न निषेधाज्ञा नै जारी गरेको थियो । असार दोस्रो सातादेखि अन्य क्षेत्र विस्तारै खुल्न थाले पनि बढी भीड हुने भन्दै धार्मिक क्षेत्र खोलिएको छैन । मन्दिर क्षेत्रमा मुख्य ढोकामा ताला लगाइएको छ ।
कोषका सदस्य सचिव डा.प्रदीप ढकालले धेरै भीड बढ्ने भएकाले साउनमा पशुपतिनाथ मन्दिर खोल्न सकिने अवस्था नदेखिएको बताए । साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । साउनमा देशका विभिन्न भागका साथै भारतलगायत देशबाट पनि भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शका लागि आउने गर्छन् ।
गत वर्ष पनि साउन महिनामा कोरोनाका कारण वर्षभर मन्दिर खुल्न सकेको थिएन । गत वर्ष साउनमा भक्तजनले पशुपति क्षेत्रमा आएर बाहिरबाटै पशुपतिनाथको दर्शन गरेका थिए । बाहिरबाट दर्शन गर्नसमेत भक्तजनको भीड लागेको थियो । विसं २०७६ चैत पहिलो सातादेखि मङ्सिर मसान्तसम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरुपमा बन्द गरिएको थियो । गत पुस १ गतेदेखि बिहान छ बजेदेखि मध्यान्हसम्म खुला गरिएको थियो । महाशिवरात्रिदेखि भने पशुपतिनाथ मन्दिर साविक अनुसार नै खोल्न थालिएको थियो ।
वैशाख लागेपछि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि पुनः बन्द गरिएको हो । सदस्य सचिव डा.ढकाल वातावरण सामान्य बन्दै गएमा तीजमा भने मन्दिर खोल्न सकिने बताउँछन् । कोरोनाका कारण पशुपति क्षेत्र सुनसान छ ।
भक्तजनका लागि बन्द गरिए पनि पशुपतिनाथ मन्दिरमा नित्य पूजालगायत कर्म भने जारी छ । पशुपति क्षेत्रको घाट सेवा पनि सञ्चालन भइरहेको छ । कोरोनाका कारण निधन हुनेको सङ्ख्या बढेपछि आर्यघाट, भष्मेश्वरघाट, विद्युतीय शवदाह गृहलगायत स्थानमा शव जलाउने क्रम पनि वृद्धि भएको छ ।
कोराना उच्च बिन्दुमा पुगेका बेला वैशाख अन्तिम र जेठ दोस्रो सातासम्म दैनिक २०० सम्म शव आएको कोषले जनाएको छ । विद्युतीय शवदाह गृहको क्षमताले नधानेपछि वाग्मती किनारमै पनि कोरोनाबाट निधन भएकाको शव जलाइएको थियो । पशुपति क्षेत्रमा विद्युतीय समेत १५ घाट सेवा उपलब्ध छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस