विश्व

सबैभन्दा धेरै अर्बपति भएको सहर बेइजिङ, धेरै धन कहाँ ?

  • २७ चैत शुक्रबार, २०७७ | ०९:२५:०० मा प्रकाशित

फोर्ब्स म्यागजीनले नियमित प्रकाशित गर्ने अर्बपतिहरूको सूचीको नयाँ संस्करणमा चीनको बेइजिङ संसारमै सबैभन्दा धेरै अर्बपतिहरू भएको सहर बनेको छ ।

गत वर्ष ३३ जना अर्बपति थपिएपछि बेइजिङमा अर्बपतिको सङ्ख्या १०० पुगेको छ ।

विगत सात वर्ष सबैभन्दा धेरै अर्बपति भएको सहर अमेरिकाको न्यूयोर्कमा ९९ जना अर्बपति छन् ।

चीनले कोरोनाभाइरसलाई छिटै नियन्त्रणमा लिएको, प्रविधि कम्पनीहरूको सफलता र स्टक बजारका कारण न्यूयोर्कलाई पछाडि पार्न बेइजिङ सफल भएको हो ।

धेरै धनाढ्य भए पनि अर्बपतिहरूको कुल सम्पत्तिमा न्यूयोर्क नै अगाडि छ। त्यहाँका अर्बपतिसँग बेइजिङका अर्बपतिभन्दा ८० अर्ब डलर बढी सम्पत्ति छ । 

बेइजिङका सबैभन्दा धनी टिकटकका संस्थापक ज्याङ यिमिङसँग ३५.६ अर्ब डलर सम्पत्ति छ ।

न्यूयोर्कका सबैभन्दा धनी व्यक्ति पूर्वनगरप्रमुख माइकल ब्लूमबर्गसँग ५९ अर्ब डलर सम्पत्ति छ ।

अघिल्लो संस्करणको तुलनामा चीनमा यो संस्करणमा २१० अर्बपति थपिएका छन् ।

फोर्ब्सको सूचीमा अहिले अमेरिकाका ७२४ अर्बपति छन् भने चीनका ६९८ अर्बपति छन् ।

गत वर्ष संसारभरिबाट ४९३ नयाँ अर्बपति थपिएका छन् । यसको अर्थ औसतमा प्रत्येक १७ घण्टामा एक अर्बपति थपिएका छन् ।

भारतमा १४० अर्बपति छन् जसले भारतलाई तेस्रो स्थानमा उभ्याएको छ ।बीबीसी

संसारको सबैभन्दा धनी व्यक्तिका रूपमा एमजनका जेफ बेजोस छन् ।

गत वर्ष ६४ अर्ब सम्पत्ति बढेर उनको कुल सम्पत्ति एक खर्ब ७७ अर्ब डलर पुगेको छ ।

तपाईँको मत