खेल

स्याङ्जा वालिङमा १ करोड लागतमा नयाँ ‘फुटसल सेन्टर’

स्याङ्जा । स्याङ्जाको तल्लो वालिङमा ४ युवा खेलाडीहरुको संयुक्त १ करोड लागतमा ‘वालिङ फुटसल’ सञ्चालनमा आएको छ । पछिल्लो समय युवा पुस्तामा लोकप्रिय बन्दै गएको फुटबलको सानो रुप फुटसलको क्रेज बढेसँगै स्याङ्जाको वालिङ नगरपालिका वडा ९ तल्लो वालिङमा शुक्रबार देखी औपचारिक रुपमा फुटसल सेन्टर सञ्चालनमा ल्याईएको हो ।

वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँडले अन्तर्राष्ट्रिय मापडण्ड अनुसार निर्मित सो ‘फाईभ ए साईड फुटसल सेन्टरको विधिवत उद्घाटन गरे । सो अवसरमा बोल्दै नगर प्रमुख खाँडले स्वास्थ्यको पक्षमा फुटसलले सकरात्मक भूमिका खेल्ने बताए । उनले यसअघि वालिङ बजारमा एक वटा मात्रै फुटसल सेन्टर सञ्चालनमा रहेको बताउँदै नयाँ ‘वालिङ फुटसल’ थपिनुले युवाहरुको माझमा फुटसलको क्रेज बढ्दै गएको स्पष्ट हुने धारणा राखे ।

वालिङ बजारमा दोस्रो फुटसल सेन्टरको रुपमा सञ्चालनमा आएको उक्त फुटसल साढे तीन रोपनी जग्गामा फैलिएको बताउँदै अन्तर्राष्ट्रिय मापडण्ड अनुसार नै निर्माण गरिएको सञ्चालक सोम बहादुर मल्ल (विमल) ले बताए  । उनका अनुसार उक्त फुटसलका प्रशस्त पार्किङ, क्यान्टिन, स्पोर्टस् पसल तथा राती खेल्न मिल्ने गरि यथेस्ट फग लाईट जडान गरिएको छ ।

प्रतिघण्टा १ हजार ३ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । उक्त फुटसलमा हिमालयन शेर्पाका पुर्व खेलाडी समेत रहेका विमलसँगै अन्दाज थकाली, अनिशमान श्रेष्ठ र विरेन्द्रध्वज मल्लको संयुक्त लगानी रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत