लघुकथा: बगरे र बोका
- खेमलाल पहारी
- ८ पौष बुधबार, २०७७ | २१:३३:०० मा प्रकाशित

एउटा बगरेको अस्थायी खोरमा जाकिएको एउटा च्यांसे पाठोले एउटा खसीलाई भन्यो, ''जख्खरे, अब भोलि तेरो पालो हो l जति मनलाग्छ खा बरु सुन, मेरो भाग पनि खा l '' जख्खरेले हर्ष र विस्मातको मिश्रणमा च्यांसेको भाग दानापानी खायो र झकाउन थाल्यो l उता च्यांसे मख्ख परेर पहुर मार्न थाल्यो l यो देखेर खोरका अरु खसी बोकाले साउती गरे, ''हेर यो पाजी च्यांसे, आफ्नो भागको दानापानी अरुलाई सुम्पेर जिउ सुकाउँछ र नाकका पोरा फुलाउँछ l'' च्यांसेका मुर्ख्याईं मा सबै हाँसे l भोलिपल्ट च्यांसेले आफ्नो भाग धैंसेलाई र पर्सि माने अनि अर्को न दिन झल्लेलाई दियो l सबैले उसको भाग खुशी खुशी खाए l त्यसपछि पनि च्यांसेले आफ्नो दानाको बलिदानी दिईनैरह्यो l खोरबाट क्रमशः जख्खरे, धैंसे, माने, झल्ले हराएसंगै अरु नयाँ खसी बोका पनि खोरमा आए गए l एकदिन बगरेले खोरमा मुन्टो घुसारेर चिहायो l खोर प्राय: खाली थियो l एउटा लिखुरे पाठोलाई खोरमा एक्लै देखेर बगरेले उसलाई बाहिर निकाल्यो l छालामा अण्डकोष मात्र झुण्डिएको पठ्याक्रो देखेर बगरेको मनमा दया जागेर आयो र खै के सोचेर उसले त्यसलाई छोडिदियो l बगरेले ग्रहशान्ति गरेर छोडेको सम्झेर टोलका कसैले पनि च्यांसेलाई तातोपानीमा चोबल्ने आँट गरेनन् बरु एकाध मुठी अन्नपात च्यांसेले स्वागतमा पाइरह्यो l हिजोआज च्यांसे जंगे भएको छ l ऊ टोल टोलका बाख्रीहरूलाई तृप्त बनाउँछ र बगरेको खोर भर्दछ l
प्रतिकृया दिनुहोस