कला

लघुकथा- सङ्कल्प

“के सरकार पाँच वर्ष टिक्छ त ?” वृद्ध आमाको स्वरले मेरो कान चिर्‍यो । त्यो स्वर ढुङ्गामा चिरा परेको आवाजझैँ गहिरो र हठात् थियोे ।

भुइँमा खेलिरहेको नाति त्यसै आवाजतर्फ अचम्मले हेर्दै थियो । ढोकाबाट पस्ने छायाले झन् कोठा गम्भीर बनाइरहेको थियो ।

मैले बाहिरको सडकतर्फ आँखा डोर्याएँ-

झण्डाहरू हल्लिइरहेका थिए, भीड उर्लिरहेको थियो, नारा गुन्जिरहेका थिए-

“काम गर्ने सरकार चाहिन्छ, भाषण दिने होइन !”

त्यसबेला मेरा छोराका आँखाहरू राताम्य भएर भित्र छिरे । उसको स्वर नाङ्गो बिजुलीजस्तै मेरो छातीमा बज्रियो-

“आमा, पाँच वर्षमा देश बदलिँदैन । तर पुस्तौँको त्याग सुरु भए पाँच वर्षै ढुङ्गो हुन्छ, जसबाट महल उठ्छ ।”

आमाको अनुहारमा हल्का मुस्कान फैलियो । थरथर काँपिरहेको दीयोको ज्योतिजस्तो त्यो मुस्कान भित्रैसम्म पस्यो ।

“किताबले होइन, कर्मले देश बलियो हुन्छ ।” उनले शान्त स्वरमा भनिन् ।

त्यसैक्षण बाहिरको भीड मौन भयो । कालो आकाश च्यात्दै बिजुली चम्कियो । अचानक एउटा नारा चिरेर आयो-

“लोकप्रियताले होइन, परिणामले इतिहास लेखिन्छ !”

आमाले नातिलाई अँगालोमा बेरेर बिस्तारै गुनगुनाइन्-

“देश बन्ने कुरा समयको होइन, सङ्कल्पको खेल हो ।”

०००

तपाईँको मत