गाउँ सहर

विजया दशमीमा सावधानी अपनाउन राप्रपा पाँचथरकाे अनुरोध

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरले विजया दशमीको शुभकामना दिँदै परिवारजन र आफन्तको हित ध्यानमा राखेर सावधानी अपनाउन जनतासमक्ष अनुरोध गरेको छ ।

‘विजया दशमी, शुभ दिपावली, छठ पर्व, न्हूदँया भिन्तुना तथा चासोक तङनाम पर्वहरूको शुभ उपलक्ष्यमा नेपाली दाजुभाई दिदीबहिनीहरूमा मंगलमय शुभकामना व्यक्त गर्दछु । कोभिड महामारीबीच सावधानी अपनाएर पर्व मनाउनु पर्ने समय छ, परिवारजन, आफन्तहरूको हित र दीर्घ स्वास्थ्य ध्यानमा राखौं,’ राप्रपा पाँचथरका जिल्ला अध्यक्ष राजकुमार जोशीले एक शुभकामना सन्देशमा भने ।

दशैंको साथसाथै जनतामा रहेको निराशा र राजनीतिक नेतृत्वको अकर्मण्यताबाट निकास प्राप्त हुने अपेक्षा सन्देशमा उल्लेख छ । बडा दशैंको सुअवसरमा सुख, शान्ति, ऐश्वर्य तथा समृद्धि प्राप्त होस् भनी सबै नेपालीमा राप्रपा पाँचथरले हार्दिक शुभकामना अर्पण गरेको छ ।

‘देशमा परिवर्तन सँगसँगै स्थायित्व, समावेशीता र विकासको ठूला अपेक्षा थियो । तर, राजनीतिक नेतृत्व जनआकांक्षा विपरीत देखिएको छ । सामाजिक, राजनीतिक, आर्थिक क्षेत्र, सबैतिर चरम निराशा छ,’ जिल्ला अध्यक्ष जोशीले आइतबार भने । ‘जनता विकल्पको खोजीमा रहेको घाम जत्तिकै छर्लङ्ग छ । देशले मागेको प्रजातान्त्रिक निकासमा एकजुट भएको राष्ट्रिय प्रजातन्त्र पार्टी अब्बल साबित हुनेछ भन्ने जनअपेक्षालाई मूर्त रूप दिन जनतासँग हामी हातेमालो गर्नेछौं ।’

जोशीले भने, ‘पाँचथरको हकमा पनि जनचाहनालाई गुरूमन्त्रको रूपमा शिरोधार्य गरेर एकढिक्का राष्ट्रिय प्रजातन्त्र पार्टी निरन्तर अघि बढ्नेछ । हाम्रो क्रियाशीलता देश, जनता र राष्ट्रियता अनुकूल छ, रहनेछ ।’

शुभकामना सन्देशमा उनले भने, ‘पाँचथरको विकासमा स्वर्गीय नेता पद्मसुन्दर लावतीको देन पाँचथरबासीको मानसपटलमा ताजै छ । सोही आदर्श बोकेर जनतामाझ जानेछौं, जनहित र राष्ट्रहितको सम्वद्र्धन गर्नेछौं ।’

गाउँ सहर संवाददाता

तपाईँको मत