जे होस् गाउँ बाँचेको छ
- अन्जन चालिसे
- ६ बैशाख शनिबार, २०७७ | ०९:५१:०० मा प्रकाशित

शहरबाट गाउँ छिरेका मानिसहरु पनि बिहान ६ बजे उठिसक्छन, किनकी त्यतिन्जेलसम्म घरका अन्य सबै सदस्यहरू उठिसकेका हुन्छन् । टोलका प्राय: सबैजसो बिहान एकपटक लैनो भैँसी पाल्नेका घरमा भेला हुन्छन् । मीठो दुध चिया पिउछन् । अघिल्लो साँझ बराल्लिएकाहरु कालो चियामा झरिलो कागती निचोरेर भिन्नै स्वाद भन्दै चुस्क्याँछन् । मुखमा मञ्जन-ब्रस र हातमा अम्खाेरा बाेकेर आउनेहरूकाे लागि पनि अघिल्लो दिनका विश्वभरिका सत्य, असत्य, फेसबुके सबै समाचारहरुको अपडेट थलाे त्यही चिया पसल हाे । यो विहानी समयकाे चिया पसल गाउँको अखबारीय सेसन पनि हो ।
दिउँसो गाउँमा लाटोकसेरो बाहेक अरु कोही सुत्दैन । अहिले व्यस्त छ शहर भन्दा गाउँ । घरधन्दा र खेतीपातीको काममा लाग्नेहरुको आफ्नै नियमित दिनचर्या छ । बाँकी गाउँले टुरिस्टहरुको भिन्दै गाउँ धन्दा छ । कोही लोकल हाइकिङ्गमा जान्छन । कोही खोलामा पौडिन । कोही कोइरालोको सुरिलो रुख चढ्न त कोही ऐसेलुको झाम्मिएको झाडी छिर्छन ।
खल्ती बचेकाहरु स्तर अनुसारको खाल जमाउँछन् । रित्तिएकाहरु खेल समिक्षा गर्ने गुटमा मिसिन्छन् । गाउँका नियमित पेशेवरहरुले चाहिँ वर्षमा १/२ पटक चल्ने यस्ता ठूला खाल हेरेरै आनन्द लिन्छन् ।
गाउँ साँझमा फेरी एकपटक जुर्मुराउँछ । विरेन्द्र शिल्ड खेलेकादेखि स्थानीय काली भगवती टीमका युवासम्मले भलिबल कोर्टमा आफ्नो पाइन देखाउछन् । बारीको डिलमा बसेर ताली पट्काउनेहरुको यहाँ फेरी छुट्टै स्वाग छ ।
टोलैपिच्छे स्तर अनुसारका सेनिटाइजरको पर्याप्तता छ । यही बेला कसैका गफले बाघ मर्छन । कोहीले शितन मात्रै टप्काइ बस्छन् । गाउँमा सामान्य राजनीतिक नोकझोंक त चल्ने नै भयाे । अघिल्लो चोटीको भोट, अब बाड्ने कृयाशील सदस्यता, विद्यालयको व्यवस्थापन समिति, सामुदायिक वन, स्थानीय सडक, पानी ट्याङ्की सबैको हिसाबकिताब यहीँ हुन्छ ।
बेलुका परिवारका सबै जम्मा भएर टिभीमा समाचार हेर्छन्। WHO र अमेरिकाको युद्ध, विश्वभरिको कोरोना अपडेट, काठमाडौंको आतङ्क, सरकारको रबैया, जनताको सास्ती, भ्रष्ट सत्ता, निरीह जनता, अलपत्र यात्री । पूजीँवादको अघोषित पराजय, समाजवादको धुमिल भविष्य । कहालीलाग्दो वर्तमान, अनिश्चित भविष्य ।
जे होस् गाउँ बाँचेको छ । रमाएको छ । जोसिला युवाहरुले गाउँ हरियाली भएको छ । यहाँ कोरोनाको कहर फिटिक्कै छैन । बरु उल्टै गाउँले सहर जिस्काइरहेछ । गिज्याइरहेछ । प्रदीप गिरीले ससंदको रोष्टममा उभिएर वीपीलाई स्मरण गर्दै 'विकास सहरमा होइन, गाउँलाई गरौ, समाजवादको असली मोहरा गाउँमा छ ' भनेको सम्झन्छु । उद्धेलित हुन्छु । सबैको जय होस् ।
प्रतिकृया दिनुहोस