छेपारोलाई मात खुवाउने प्रचण्ड प्रवृत्ति देशको लागि घातक छ !
- सन्ताेष सिम्खडा
- ३१ जेठ शनिबार, २०८२ | १४:०९:०० मा प्रकाशित

छेपारोले जतिसुकै रंग फेरोस्, उसको चाल, प्रवृत्ति र अन्ततः स्वभाव फेरिँदैन। यस्तै छ, पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक चरित्र। आज उनी जनताको पक्षमा बोल्छन्, भोलिपल्ट सत्ताको सन्तुलनको नाममा त्यसै जनताको घाउमा मल्हम होइन, नुन दल्छन्। उनी नेपालको राजनीतिमा त्यो छेपारोजस्तै पात्र बनेका छन्, जसको बोली, हाउभाउ, अडान, गठबन्धन र रणनीति पटक–पटक बदलिन्छ, तर उनको सत्ता मोह, अडानहीनता र विचारशून्यता कहिल्यै नबदलिने प्रवृत्तिका रूपमा स्थापित छ। भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रको व्यवहार र प्रचण्डको मौनताले फेरि एकपटक यो चरित्र निर्विवाद रूपमा पुष्टि गरिदिएको छ। सुरुमा गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध गर्ने माओवादी, केही दिनमै सत्तारुढ दलहरूसँग दुई बुँदे सहमतिमा पुगेर त्यसै अडानबाट पछाडि हट्यो। यो परिवर्तनले प्रचण्डको राजनीतिक रंग फेरिएको जस्तो देखिए पनि, उनको मूल चरित्र छेपारोजस्तै सतही परिवर्तन मात्र हो मूल प्रवृत्ति उही पुरानै छ।
प्रचण्डले बारम्बार जनताको नाममा राजनीति गर्छन्, जनताको पीडाको आवाज उठाउँछु भन्ने घोषणा गर्छन्। तर जब राज्यका संरचनाहरू जनताको शोषणको माध्यम बन्छन्, जब मानव तस्करहरू मन्त्रीस्तरमा जोगाइन्छन्, जब संसदमा पीडित होइन, गृहमन्त्री आफैं पीडितझैं प्रस्तुत हुन्छन् त्यति बेला प्रचण्डको बोली हराउँछ, विवेक मौन हुन्छ। भिजिट भिसा प्रकरण कुनै साधारण प्रशासनिक त्रुटि होइन, यो संस्थागत रूपमा मानव तस्करीको राज्य संरचनामा भएको सड्यन्त्र हो। सरकारी संयन्त्र प्रयोग गरेर पैसा लिई नेपाली युवालाई विदेशी भूमिमा बेचेको घटना हो। यसका सूत्रधारहरूलाई जोगाउन संसदको सदन नै प्रयोग हुन्छ, अनि प्रचण्ड जस्ता ‘सर्वहारा वर्गका नेता’हरू सत्ताको सुरक्षा कवच बन्न पुग्छन्।
यस्ता काण्डहरू किन सम्भव हुन्छन्? किनभने देशमा व्यापक बेरोजगारी छ, युवाहरूको पीडा र हताशालाई ठगीका एजेन्टहरूले पूँजीमा रूपान्तरण गरेका छन्। जब राज्यले रोजगारी दिन सक्दैन, तब नागरिक दलालको पासोमा पर्छ। तर राज्यका जिम्मेवार नेतृत्वदायी पात्रहरू जनताको समस्या हल गर्न होइन, त्यसै समस्याबाट लाभ लिने र दोषीलाई जोगाउने संरचना बनाइरहेका छन्। प्रचण्डजस्तो नेता, जसले कहिल्यै वैचारिक स्पष्टता नदेखाए, न समाजवादको स्पष्ट खाका दिन सके, न भ्रष्टाचारविरुद्ध दृढ अडान लियो, आज मानव तस्करीजस्तो गम्भीर मुद्दामा मौन बसेका छन् भने त्यो मौनता दोषीको पक्षमा प्रमाण बन्न पुग्छ।
नेपालको राजनीति आज दोहोरो चरित्र, अनैतिक सन्देश र कुशासनको त्रिकोणमा फसेको छ। प्रचण्ड जस्ता नेताहरूले जुनसुकै गठबन्धनसँग हातेमालो गर्न सक्छन्, जुनसुकै मुद्दा सत्ताको सुविधाका लागि त्याग्न सक्छन्। सत्ता टिकाइराख्नका लागि संसद्को अस्मिता, जनताको भावना र पीडितको आवाजसमेत किनबेच हुन्छ। जब सत्ताका संरक्षक नै अपराधका संरक्षक बन्छन्, तब लोकतन्त्रको स्तम्भहरू ध्वस्त हुन थाल्छन्। यसैले, माओवादी केन्द्रले संसद अवरुद्ध गर्ने तर्क त्यागेर दुईबुँदे सहमतिमा जानु केवल राजनीतिक आत्मसमर्पण मात्र होइन, सत्ताको जालोभित्र आफ्नै आदर्श गुमाउने घोषणा पनि हो।
यस सन्दर्भमा प्रचण्डको छवि अब परिवर्तनको प्रतीक होइन, अवसरवाद र विचलनको प्रतिक बनेको छ। उनी नेतृत्वदायी संवेदनशीलता होइन, सत्ताका सौदाबाज बन्न पुगेका छन्। इतिहासले उनीमाथि गम्भीर प्रश्न उठाउनेछ—यस्तो ऐतिहासिक जनयुद्धको नेतृत्व गर्ने पात्र अन्ततः सत्ताका दलाल र भ्रष्ट संरचनाका मौन संरक्षकमा किन परिणत भयो? किन जनताको बलिदानमा निर्मित राजनीतिक पूँजी आज जनताको घाउमा बदलियो?
प्रचण्ड, तपाईंका लागि अझै समय बाँकी छ। बोलीमा क्रान्तिको नारा घन्काउने, तर व्यवहार र निर्णयमा सत्ताको गन्ध बोकेका तपाईं अब पनि नबदलिनु भनेको जनताको अपमान हो। जनयुद्धका सहिदहरू, विस्थापितहरू, हजारौं बेरोजगार युवाहरूको सपना बेचेर सत्तामा टिकिरहनु र सत्ताले गरेको हरेक कुकर्मको बारेमा टुलुटुलु हेरीरहनु र समर्थन गरीरहनु केवल राजनीतिक अपराध मात्र होइन, ऐतिहासिक विश्वासघात पनि हो। अब पनि यदि तपाईं सुध्रनुहुन्न भने, जनताले तपाईंलाई ‘छेपारो प्रवृत्तिको नेता’को रूपमा मात्रै होइन, नेपालको राजनीतिक इतिहासकै सबैभन्दा ठूलो नैतिक पतनका प्रतीकको रूपमा सम्झिनेछन्।
प्रतिकृया दिनुहोस