गोर्खाज फाईनान्सकाे नाफामा उल्लेख्य बृद्धि, खराब कर्जा असुलीमा पनि सुधार
- ५ भदौ बिहीबार, २०७६ | १४:३०:०० मा प्रकाशित

काठमाडाैं । गोखार्ज फाइनान्सले गत आर्थिक वर्षकाे वित्तीय विवरण सार्वजनिक गरेको छ । फाइनान्सले आफ्नो खराब कर्जा असुलीउपर गरि ७ करोड माथिको खुद नाफा आर्जन गरेकाे छ ।
खराब कर्जाले समस्याग्रस्त तत्कालीन गोर्खा डेभलपमेन्ट बैंक काठमाडौं फाइनान्ससँग मर्जर गरेर नयाँ व्यवस्थापन सहित गोर्खाज फाइनान्समा रुपान्तरित भएको थियो ।फाइनान्सले पछिल्ला दिनमा सुधार गर्दै लगेको छ ।
गोर्खाज फाइनान्सले बिहीबार सार्वजनिक गरेको एनएफआरएस वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा ७ कराेड १० लाख रूपैयाँ नाफा आर्जन गरेको छ।
अघिल्लो वर्षको यहि अवधिको तुलनामा यो ५ करोड ९७ लाख रुपैयाँले बढी हो। अघिल्लो वर्ष असार मसान्त सम्ममा फाइनान्सको खुद नाफा एक करोड १२ लाख रुपैयाँ मात्र थियो।
फाइनान्सको निक्षेप संकलन अघिल्लो आवको तुलनामा २३.८१ प्रतिशतले वृद्धि भएर ६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने ऋण लगानी पनि २७.०३ प्रतिशले वृद्धि भएर ५ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष फाइनान्सले ५ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
फाइनान्सको खुद ब्याज आम्दानी १७.९६ प्रतिशले बढेर २ करोड ४७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यस अवधिमा फाइनान्सले २ करोड ९ लाख मात्रै खुद ब्याज आम्दानी गरेको थियो। यस्तै अन्य सञ्चालन आम्दानी ६५ लाखबाट २ करोड ८० लाख पुगेको छ भने फाइनान्सले खराब कर्जा असुलीबाट एक करोड ३६ लाख ४८ हजार असुली गरेको छ।
फाइनान्सको कर्मचारी खर्च ७ करोड ३४ लाखबाट ११ करोड ९० लाख पुगेको छ भने अन्य सञ्चालन खर्च ६ करोड ७५ लाखबाट बढेर ७ करोड २४ लाख पुगेको छ। यस अवधिमा फाइनान्सको खराब कर्जा अनुपातमा सुधार भएको छ। खराब कर्जा अनुपात ६.३८ प्रतिशतबाट घटेर ४.६० प्रतिशत कायम भएको छ।
चुक्ता पूँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको फाइनान्सको प्रतिशेयर आम्दानी ८ रुपैयाँ १८ पैसा, प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात ११ गुणा बढी छ। फाइनान्सको जगेडा कोषमा ५८ करोड २२ लाख रुपैयाँ सञ्चित छ। फाइनान्सको शेयरधनी कोष भने अझै ७ करोड ६८ लाखले ऋणात्मक रहेको छ।
गत आवमा फाइनान्सको आधार ब्याजदर १२.८५, कोषको लागत ९.४८ र पूँजी कोष अनुपात १७.९१ प्रतिशत रहेको छ ।
प्रतिकृया दिनुहोस