जीवनशैली

भाते संस्कृति : भाते बानीले ‘सुगर’ हुँदा समेत अटेसमटेस नहुन्जेलसम्म भात खान छाड्दैनाैं

  • १४ श्रावण मंगलबार, २०७६ | ०९:२८:०० मा प्रकाशित

भात भन्ने बित्तिकै हरेक नेपालीकाे घरमा विहान बेलुकी पाक्ने नियमित परिकार । नेपालीकाे मुख्य आहार मीठो दाल भात तरकारी र अचार । निमुखा र मध्यमवर्गदेखि धनीसम्मकाे एउटाै भाेजन हाे भात । 

अनेक नाममा हामी चामलकै भात खाइरहेका छाैं । बिहान बेलुकीकाे नियमित भात खाने बाहेक फ्राइ राइस, पुलाउ राइस, जाउलाे, अण्डा राइस, खिचडी, खिर अनेक अनेक प्रकारमा हामी पेटमा भातै हालिरहेकाे हुन्छाैं । 

जन्मेर गरिने कर्मकाण्डदेखि मृत्युपछि दिइने पिण्डदानसम्म भातकाे प्रयाेग । हरेक काजक्रियामा अनिवार्यन नै भइसक्याे भात अर्थात चामल । भात खाने बानीले हाम्राे जीवनशैलीमा नै परिवर्तन ल्याइसक्याे । भाते नेपाली भइसक्याैं हामी । नेपालीहरूको भान्साबाट मकैको च्याख्लाको भात वा कोदाको ढिँडो र रोटी विस्थापित भएको छ भने मसिनो र बास्नादार चामलको खपत बढ्दै गएको छ । नेपालमा मसिना र बास्नादार चामलको उत्पादन कम हुने भएकाले मागअनुसार स्वदेशी उत्पादन नपुग्दा विदेशबाट आयात दर बढ्दै गएको छ ।

भात खान धान राेप्नुपर्‍यो तर भात खाने बानीले आर्थिक वर्ष २०७५-७६ को  १० महीनामा रु २७ अर्ब ९० करोड बराबरको चामल आयात भइसकेको छ । वरिष्ठ धान विशेषज्ञ भोलामानसिंह बस्नेतले हालको जनसङ्ख्यालाई धान्न झण्डै ६० लाख मेट्रिक टन धानको आवश्यक पर्ने बताउँछन् । 

‘सुगर’ हुँदा समेत भात छाड्दैनन् । बरू राेग लागे पनि लागाेस् खाएरै मरिन्छ भनेर पेट नउक्सिउन्जेलसम्म भर्ने बानी छ हाम्राे । त्यसाे त नेपाली मात्र हाेइन संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ) ले पनि विश्वभर भाते ‘भाते संस्कृति’ मौलाउँदै गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

भाते बानीका कारण हामी नेपालीले बढी पौष्टिक तत्व भएको मकै, ढिँडो, आलु, कोदो, फापरजस्ता खाद्य पदार्थ खान छाडिसक्याैँ । भात मात्र खाने बानी हटाउने र पोषणयुक्त खानाबारे जानकारी दिने उद्देश्यले काठमाडौंमा बेला-बेला खाद्य महोत्सव आयोजना पनि हुन्छ । तर त्यसकाे खासै परिवर्तन ल्याउन सकेकाे छैन । 

हामी खानाको रुपमा भातमा मात्रै भर पर्‍यौं । जसले गर्दा कुपोषण बढेर विभिन्न प्रकारका रोगले संक्रमण गरेको छ । कुपोषणबाट जोगिन पोषणयुक्त आहारा खानुपर्छ । कुपोषणबाट जोगिन स्थानीय स्तरमा भेटिने गेडागुडी, फलफुल, चिनो, कागुनो, फापर, कोदो, मकै, आलु, सागपात लगायतका खाद्यान्न पदार्थहरु संतुलित परिमाणमा खानुपर्छ ।

बाहिरका प्याकेटका खानेकुरा नखुवाउनूस् भन्दा पनि आमाबाबु सुन्दैनन्,। भातको दाँजोमा कोदोको ढिँडो सन्तुलित हुन्छ। वास्तवमा सिस्नो र ढिँडो खाने परविार सम्पन्न हो ।कर्णालीकाे दरमुकाम जुम्लामा सधैँ चामलको हारालुछ । एकातिर कोदो र ढिँडो खाने सम्पन्न हुन् भन्ने, अर्कोतिर भात पठाएर कर्णालीवासीलाई कमजोर बनाउने गरेकाे डा अरूणा उप्रेतीकाे बुझाइ छ । उनी भन्छिन्- 'कुहिएकै सही, जसरी हुन्छ बाहिरको चामल पुर्‍याउन चाहन्छन् । स्थानीयस्तरमा उत्पादित अन्य खाद्यवस्तुचाहिँ खानुहुँदैन भन्ने भावना छ ।'

आम नेपाली भाते राजनीतिका सिकार भइरहेका छाैं । स्थानीयस्तरमा पाइने खानेकुरा प्रयोग गर्ने चलन हराउँदै छ । जतिसुकै चामल पठाए पनि कर्णालीमा कहिल्यै खाद्य सुरक्षा हुन नसक्ने अवस्था छ । 

बालबालिकाका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था पनि स्थानीय खाद्यवस्तुका सट्टा आयातित प्याकेटकै प्रवर्द्धन गररिहेका हुन्छन् । नेपालकै केही संस्थाले भने स्थानीय खाना आलु, चामल, गाँजर, सुजी आदिको प्रयोग गरेर कुपोषित बालबालिकालाई ठीक पारेका छन् । तर, ती ठाउँमा गएर बालबालिकाका लागि कसरी कम पैसामा बढी पोषणयुक्त खाना दिन सकिन्छ भनेर कहिल्यै हेर्न चाहँदैनन्, अन्तर्राष्ट्रिय संस्थाहरू। किनभने, यसबाट विदेशी सहायता आउँदैन ।

रंगीचंगी प्याकेट र चिल्ला कागजमा बेरएिर व्यापारिक उद्देश्यले प्रचार गरिने खानामा हाम्राे आँखा पुग्दछ । व्यस्त र आधुनिक जीवन शैलीका कारण वयस्क र बालबालिकासमेत होटेल र रेष्टुंरासहित तयारी खानेकुरामा बढी जोड दिएका कारण मुलुकका लागि कुपोषण ठूलो चुनौती बनेको छ । कुपोषणका कारण पाँच बर्ष मुनिका झण्डै ४१ प्रतिशत वालवालिका कुपोषित अवस्थामा भेटिएका छन् भने करिब ५० प्रतिशत महिलामा पनि यो समस्या भेटिएको छ ।
 
५० प्रतिशतमध्ये ३५ प्रतिशत महिलामा फलामे तत्व कम भएर रगतको कमीबाट हुने रोग एनेमियाको समस्या देखिएको छ । सहर बजारका सम्पन्न परिबारका महिलाहरुमा भने नजानेर बढी परिमाणमा पोषण तत्व सेवन गरेका कारण करिब १४ प्रतिशतमा मोटोपनाको समस्या देखिएको छ । कुपोषणका कारण बच्चा पाउने समयमा र बच्चा पाइसकेपछि बढी संख्यामा महिलाको मृत्यु हुने गरेको छ ।

सामान्यतः नेपालमै उत्पादन हुने अन्न- धान, मकै र गहुँले माग धान्ने भए पनि भात नै चाहिने नेपालीको प्रवृत्तिले चामलको आयात बढेको हाे । वर्षमा प्रतिव्यक्ति १९१ किलो अन्न खपत हुन्छ, जसमध्ये चामल ९० किलो, मकै ४५ किलो, गहुँ ४५ किलो र अन्य खाद्यान्न १४ किलो खपत हुन पर्ने हो तर नेपालीको भाते प्रवृत्तिले वर्षमा प्रतिव्यक्ति १ सय ४० किलो चामल खपत हुँदै आएको छ

कुपोषणलाई रोक्न र स्थानीय स्तरमा उपलब्ध हुने पोषणयुक्त खाद्यान्न, सागपात, तरकारी, गेडागुडी फलफुल, चिनो, कागुनो, फापर, कोदो, मकै, आलु, सागपातलगायतका खाद्यान्न पदार्थहरु संतुलित परिमाणमा खानुपर्नेमा डाक्टर तथा खाद्य विज्ञहरूकाे सल्लाह छ ।

गत वर्ष प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेडिकल व्यवसायी प्रसाईंको घरमा मार्सी चामलको भात खाएको फोटो सामाजिक सञ्जालमा भाइरल भएकाे थियाे । 

सर्वसाधारणको खाने बानीमा परिवर्तन आएको, वैदेशिक रोजगारका कारण अधिकांशको जीवनशैलीमा प्रभाव पनि हो । भाते बानीका कारण नेपालमा बढी पौष्टिक तत्व भएको मकै, गहुँ, आलु, कोदो, फापरजस्ता खाद्यपदार्थको उपयोग घट्दो छ । गाउँघरमा खाइने कोदो, मकै, भटमास, आलुजस्ता परिकारलाई गरिबको खानेकुराका रूपमा हेर्ने प्रवृत्तिका कारण पनि धानमाथिको निर्भरता बढ्दै गएको हो । खानाका रूपमा भातमा मात्रै भर पर्दा कुपोषण बढेर विभिन्न प्रकारका रोगको संक्रमणको जोखिम बढेको छ ।

भातमा बढी कार्बोहाइड्रेड हुने हुँदा शरीरलाई आवश्यक धेरै तत्व भातले पूरा गर्न सक्दैन । त्यसैले भात मात्रै खानेहरू कुपोषणका सिकार भएका छन् । कुपोषणबाट सिर्जित अनेकौं रोगको उपचारका लागि स्रोतसाधनको आनावश्यक खर्च भइरहेको छ ।

संविधानमा खाद्यान्नसम्बन्धी हक उल्लेख गरे पनि सरकारको नीति नै खाद्य सुरक्षाविपरीत देखिन्छ । खाद्य सुरक्षाको दिगो सुनिश्चितताका लागि चामलको खपत घटाउने, अन्य स्थानीय उत्पादन र ती उत्पादनबाट बन्ने परिकारको उपयोग बढाउने र चामलको आयतलाई घटाउने मात्रै होइन, हटाउन पहल गर्नु आवश्यक छ । 

भातको सट्टा रोटी वा अन्य खानेकुरा उपभोग गर्ने हो भने स्वदेशको उत्पादनले पुग्छ, आयात गरिरहनु पर्दैन । साथै, स्थानीय स्तरमा भेटिने गेडागुडी, फलफूल, चिनो, कागुनो, फापर, कोदो, मकै, आलु, सागपातलगायतका खाद्य पदार्थहरू सन्तुलित परिमाणमा उपयोग गर्न सक्ने वातावरण निर्माण गर्नु आवश्यक छ ।

भातलाई सामाजिक प्रतिष्ठाको विषयसँग जोड्ने मानसिकताको अन्त्य गरिनु जरुरी छ । भातबाहेक अन्य आहारले पनि मान्छे बाँच्न सक्छन् भन्ने सोचको विकास हुन सके भातमाथिको निर्भरता हटाउन सम्भव छ । भातको सट्टामा अरू अन्नपात मिलाएर खान सके असन्तुलित भोजनका कारण लाग्ने रोग कम गर्ने मात्र होइन, उपचारका लागि लाग्ने खर्च समेत बचत गर्न सकिन्छ । 

त्यसैले, चामलको खपत घटाई धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै स्थानीय खाद्य बालीको उत्पादन, वितरण, भण्डारण र उपयोग बढाउन सके खाद्य सुरक्षाको दिगो सुनिश्चिता मात्र होइन, आर्थिक विकासमा समेत महत्वपूर्ण टेवा पुग्न सक्छ । 
 

तपाईँको मत