शिक्षा

कांग्रेस नेताद्वारा सिन्धुपाल्चोकमा शैक्षिक सामाग्री बितरण

  • १५ पौष आइतबार, २०७५ | २२:२३:०० मा प्रकाशित
तस्बिर : गाउँ सहर डट कम

काठमाडौं । सिन्धुपाल्चोककाे त्रिपुरासुन्दरी गाउँपालिकाको धुस्कुनस्थित दुई विद्यालयलाई हेलम्बु एजुकेसन एन्ड लाइभहुड पार्टनरसिप (हेल्प) ले शैक्षिक सामग्री प्रदान गरेको छ ।

‘गुणस्तरीय शिक्षाको लागि साझेदारी कार्यक्रम’ अन्तर्गत कांग्रेस महासमिति सदस्य बलदेव तिमल्सिनाको संयोजकत्वमा भएको शैक्षिक सामग्री बितरण कार्यक्रम श्री महेन्द्र प्रताप माध्यमिक विद्यालय र  र बुद्ध आधारभूत विद्यालयका ३ सय बालबालिकालाई झोला, कापी, पेन्सिललगायतका सामग्री प्रदान गरिएको हो ।

प्रमुख अतिथिका रुपमा  सिन्धुपाल्चोक पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मिनेन्द्र रिजालसहित नेपाली कांग्रेसका नेता तथा समाजसेवीको उपस्थितिमा उक्त शैक्षिक सामाग्री विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको हो । 

हेल्प संस्थाका अध्यक्ष तथा नेपाली काँग्रेसका महासमिति सदस्य जीमी लामाको सहयोगमा महेन्द्र प्रतापका लागि ६५ हजार बराबरको विज्ञान प्रयोगशालाका आवश्यक उपकरण तथा थप अन्य सामाग्रीसमेत हस्तान्तरण गरिएको थियो । 

उक्त सामग्री  हस्तान्तरण गर्दै पूर्वमन्त्री रिजालले सामुदायिक विद्यालयलाई सुधार्नको लागि गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने औंल्याए । उनले शिक्षा गुणात्मक, प्रयोगात्मक बनाउनको लागि व्यवहारिक र आवश्यक सामाग्रीले सहयोग पुर्‍याउने बताए । समयानुकूल शिक्षण प्रणाली र प्रविधि प्रयोग गर्दै शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने र शैक्षिक गुणस्तरमा ध्यान दिएर शिक्षालाई अगाडि बढाउनु पर्नेमा उनले जोड दिए ।

कांग्रेस महासमिति सदस्य एवम् कार्यक्रम संयाेजक बलदेव तिमल्सिनाले उक्त विद्यालयका पिछडिएका, अल्पसंख्यक र कमजोर आयस्तर भएका थामी र पहरी समुदायका ६ जना विद्यार्थीका सम्पूर्ण शैक्षिक खर्च बेहोर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

सामुदायिक विद्यालयमा सुधार गरी अभिभावकलाई आकर्षण गर्न स्थानीय पाठ्यवस्तु जोडेर व्यवहारिक बनाई उत्पादनसँग जोड्दै विद्यार्थीको उत्सुकतालाई सम्बोधन गर्न सके रोजगारमूलक शिक्षाको आधार विद्यालयतहबाटै तयार हुने उनले बताए । 

‘आफूले अक्षरारम्भ गरेको र शिक्षा जीवनको पहिलो खुड्किलो पार गरेको विद्यालयको प्राङ्गणमा पुगेर सहयोग जुटाएर आफ्नो दायित्वबोधको अवसर मिलेकोमा गर्व लागेको छ’ कांग्रेस नेता तिमल्सिनाले भने । नेपालको शैक्षिक र विद्यार्थी आन्दोलनमा लामो समय र उल्लेख्य योगदान गरेका तिमल्सिनाले आफू बिगत केही वर्षदेखी सामुदायिक विद्यालय सुधार्न सिन्धुपाल्चोक जिल्लाभर निरन्तरता लागिरहेकाे बताए ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति विकाश लामाले जिल्लाका सामुदायिक विद्यालयको सुधारको लागि ध्यानाकृष्ट भएकोले व्यक्तितगत तथा पार्टीगत रुपमा गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको बताए । 

महेन्द्र प्रताप माविका प्रधानाध्यापकले विज्ञान प्रयोगशालको आवश्यकीय सामाग्री उपलब्ध गराएको सहयोगी दाता तथा सुभेच्छुकहरुलाई धन्यबाद दिएका थिए । 

कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति विकाश लामा, पूर्वसभापति भूपेन्द्र बहादुर थापा, एपेक्स कलेज की प्रमुख दुर्गा रिजाल, जिल्ला शिक्षा समन्वय इकाइ सिन्धुपाल्चोकका प्रमुख गौरी शंकर पाण्डे, चित्र मिजार नेपाल शिक्षक संघका जिल्ला सचिव ऋषि पौडेल लगायत स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति थियो । 

हेल्पका अध्यक्ष जिमी लामाले भूकम्पपछि १२ हजार विद्यार्थीका लागि शैक्षिक सामग्री प्रदान गरिँदै आएको बताए । लामाले उक्त वडाका वडाध्यक्ष सुकदेव रिसालले राखेकाे डिजिटल कक्षा बनाउने र अंग्रेजी माध्यामबाट बढाउने पहलमा आवश्कीय सहयोग गर्ने बताए ।

तपाईँको मत