दृष्‍टिकोण

जलवायु परिवर्तनका समस्या र समाधानका उपाय

‘राष्ट्रिय सम्मेलन- २०७५, सिन्धुपाल्चाेक गुफाडाँडा’

अन्तर्राष्ट्रियस्तरमा विभिन्न समयमा जलवायु परिवर्तनका समस्या र समाधानका उपाय विषयमा विभिन्न कार्यक्रम भइरहेका हुन्छन् तर विषयका जानकारी स्थानीय तथा लक्षित वर्गमा पुगेको पाईंदैन । सम्बन्धित क्षेत्रमा नै यस्ता कार्यक्रम आयोजना हुँदा यसबारे चासो र सरोकार अझै बढ्न सक्छ । 

यस्तै विभिन्न सम्मेलनमा सहभागी हुन पुगेका नेपालका जलवायु परिवर्तनविद् तथा अन्य सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिले जलवायु परिवर्तनको हिसाबले नेपाललगायत अल्पविकसित राष्ट्रलाई बढी प्रभाव पारेको भन्दै समयमा नै न्यूनीकरण गर्न आवश्यक रहेको बताउने गरेका छन् । 

नेपालले कार्बन व्यापारबाट हुने फाइदाका साथै जलवायु परिवर्तनका कार्यक्रममार्फत विपन्न वर्गको आर्थिकस्तरमा सुधार, लैङ्गिक समावेशीकरण, गरिबी निवारणलगायतका विषयमा फाइदा लिनुपर्ने छ । 

जलवायु परिवर्तनको हिसाबले अन्य देशको तुलनामा नेपाल उच्च जोखिममा रहेको र यसको नकारात्मक प्रभावले प्राकृतिक विपत्तिको सामना गर्नुपरेको छ । नेपालमा जलवायु परिवर्तनका कारण हिमताल फुट्ने, हिउँ पग्लनेजस्ता समस्या देखापर्दै आएको छ । जलवायु परिवर्तन अनुकूलनका कार्यक्रम आवश्यक छ, प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । 

कार्बन नै वातावरण दूषित बनाउने मुख्य रसायन भएको सन्दर्भमा यसको प्रयोग र उत्सर्जन रोक्नु नै जलवायु सिर्जित समस्या समाधानको उत्तम उपाय हो । कार्बन उत्सर्जन रोक्न विश्वभरिका उद्योगधन्दा बन्द गर्नुपर्ने हुन्छ तर यो असम्भव हुन्छ । यस सन्दर्भमा सन् ९० को दशकमा राष्ट्रसङ्घीय सम्मेलनको ठहर के रह्यो भने कार्बनको हानी रोक्न हरिया वनस्पति हुर्काउन सकिने र वनजङ्गल भएका देशलाई वातावरण बिगार्नेले क्षतिपूर्ति स्वरूप रकम दिने सहमति भयो । यसले औद्योगिक गतिविधि र हरित वातावरण बनाउने क्रमसँगै हुने भयो, यो नै कार्बन व्यापार हो । यसर्थ जलवायु परिवर्तनका कारण हुन सक्ने आर्थिक उथलपुथल रोक्ने अस्त्रको रूपमा कार्बन व्यापारलाई लिन सकिन्छ । 

नेपाल हाल संयुक्त राष्ट्रसङ्घले नेपाल र घानालाई कार्बन व्यापारका लागि छनौट गरेको सन्दर्भमा नेपालको संभावना बढेको छ । हालसम्म नेपालका गोबरग्यास प्लाण्टहरू समेत कार्यक्रममा दर्ता भएकाले यसले समेत विदेशी रकम भित्राउन थालेको छ । विश्व जनसङ्ख्याको करिव शून्य दशमलव ४ प्रतिशत मानिस बसोवास गर्ने नेपालले विश्वको कुल हरितगृह ग्यासको करिब ०.०२५ प्रतिशत मात्र उत्सर्जन गरेतापनि वायुमण्डलीय तापक्रम वृद्धिका कारण नेपाल धेरै प्रभावित हुँदै गएको छ । 

जलवायु परिवर्तनको कारण कृषि तथा खाद्यान्न, जलस्रोत, वन जङ्गल तथा जैविक विविधता, स्वास्थ्य, पर्यटन तथा पूर्वाधारमा प्रतिकूल प्रभाव पर्न थालेको छ । बाढी, पहिरो तथा डढेलोमा तीव्रता आएको छ । यी कारणबाट नेपालमा अत्यधिक मात्रामा धनजनको क्षति हुनुको साथै जीविकोपार्जनमा असर पारेको देखिन्छ । 

यहाँ वार्षिक वर्षा–चक्रमा हेरफेर, लामो समयसम्म खडेरी पर्ने वा तिब्र वर्षा हुने गरेको छ । हाल दिन र रात दुबै पहिलेको भन्दा बढी ताता भइरहेका छन् अर्थात ठण्डा दिन र रातको सङ्ख्या कम हुँदै गएको छ । एक सय मिलिमिटर वा सोभन्दा वढी परिमाणमा पानी पर्ने दिनहरू अर्थात् मुसलधारे वर्षा हुने दिनको सङ्ख्या बढ्दैछ । पानी पर्ने समय र अवधिमा परिवर्तन भइरहेको छ । तिब्र गतिमा हिमगलन हुँदै जानाले हिमनदीहरू पातलिँदै र छोट्टिँदै गएको तथा हिमतालको आकार बढ्दै गएको छ । जलवायु परिवर्तनको कारण कृषि तथा खाद्यान्न, जलस्रोत, वन जङ्गल तथा जैविक विविधता, स्वास्थ्य, पर्यटन तथा पूर्वाधारमा प्रतिकूल प्रभाव पर्न थालेको छ । बाढी, पहिरो तथा डढेलोमा तीव्रता आएको छ । यी कारणबाट नेपालमा अत्यधिक मात्रामा धनजनको क्षति हुनुको साथै जीविकोपार्जनमा असर पारेको देखिन्छ । 

हाल जलवायु परिवर्तनबाट लाखौँ नेपालीहरू जोखिममा परेको अनुमान गरिएको छ । सगरमाथा क्षेत्रमा रहेको हिमरेखा विगत करिब नौ दशकको अवधिमा ३३० फिट उचाई गलन (भर्टिकल लस) भएको छ । हिमगलनको कारण नयाँ हिमतालहरू बन्दै गएका तथा नेपालका नदीमा सन् २०३० सम्म केहीे मात्रामा पानीको बहाव बढे तापनि यस शताब्दीको अन्त्यमा ठूलो परिमाणमा घट्ने अनुमान गरिएको छ । जलवायु परिवर्तनको कारक नेपाल नभए तापनि अनुकूलनका कार्यक्रमहरू कार्यान्वयन गर्दै जानुपरेको छ । तसर्थ, नेपालले जलवायु अनुकूलनलाई राष्ट्रिय एजेण्डाको रूपमा अगाडि ल्याएको छ । 

सिन्धुपाल्चोकमा असर 
जलवायु परिवर्तनको असर सिन्धुपाल्चोकमा पनि धेरै देखिएको छ । बेलाबेलामा भइहरने बिपत्तिले यो जिल्लालाई छोडेको छैन । त्यसकारण पनि जिल्ला समन्वय महासङ्घको आयोजनामा यस जिल्लामा जलवायु सम्मेलन आयोजना गर्न लागिएको छ । अङ्गे्रजी नयाँ वर्षको शुरुवातकै दिनबाट मेलम्ची नगरपालिकाको गुफाडाँडामा यो सम्मेलन हुँदैछ । अन्यत्र पानी नपर्दा पनि यहाँको नदीनालामा बाढी आएर धेरै जनधनको क्षति गरेको छ । यस जिल्लाको जुरे पहिरोमा पनि त्यसको प्रभाव रहेको वैज्ञानिक मत रहेको छ । सिङ्गो बस्ती नै क्षति हुने गरेर आएको जुरे पहिरोका कारण झण्डै दुई सय मानिसले मृत्युवरण गर्नु परेको थियो । कुनै पहिरोको सम्भावना नदेखिएको ठाउँमा यसरी पहिरो खस्नु यहाँको जलवायुको असर हुने वैज्ञानिक मत छ । यस्तै जलस्रोत, कृषि तथा खाद्यान्न, वन तथा जैविक विविधता, भौतिक पूर्वाधार, जनस्वास्थ्य र पर्यटनलगायत जीविकोपार्जनका संसाधनहरू अत्यधिक मात्रामा प्रभावित हुँदै गइरहेका छन् । 

अहिले पनि सिन्धुपाल्चोकको माथिल्ला क्षेत्रमा यसको असर देखिन थालेको छ । राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको स्थल नजिक रहेको हेलम्बूमा अचेल स्याउ उत्पादन नहुनु पनि जलवायुकै प्रभावको रूपमा हेरिएको छ । एक समयमा चर्चित हेलम्बूको स्याउ अहिले एकादेशको कथा भएको छ । पुरानो ठाउँमा सामान्य बोट पनि देख्न सकिन्न । यस विषयमा पनि छलफल आवश्यक छ । सम्मेलनस्थलबाट देखिने हिमालहरू सेतोभन्दा पनि कालो देखिदै जानु जलवायु परिवर्तनको असरको रूपमा लिईएको छ । यहाँबाट देखिने लाक्पादोर्जे हिमशृङ्खलाका दृष्य क्रमशः कालोवर्णमा परिणत हुँदै जान थालेको छ । साथै यस भेग आसपासमा बैशाख जेठमा फुल्ने ऐसेलुका वोटमा अहिले नै फूल देख्न थालिएको छ । त्यसो त लामो सुरुङमार्गको आयोजना मेलम्ची खानेपानी पनि यही ठाउँमा छ । सुरुङ आसपासका धेरै खानेपानीका मुहान सुकेको प्रत्यक्ष देख्न सकिन्छ । यी विभिन्न समस्यालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न पनि सम्मेलन सहयोगी हुनेछ । प्रकृतिको नियमभन्दा फरक दृष्य देख्न थालिएपछि यस जिल्लाको यो माथिल्लो भागमा जलवायु सम्मेलन आयोजना गर्न लागिएको हो । 

जलवायु परिवर्तन सम्बन्धी महासन्धिको केन्द्र विन्दु स्थानीय बासिन्दा हुन् तर, उनीहरूको सम्बन्धित निकायको क्षमता वृद्धि हुन सकेको देखिँदैन । त्यस विषयमा पनि जोड दिने यो सम्मेलनको उद्देश्य छ । 

जलवायु परिवर्तन सम्बन्धी महासन्धिको केन्द्र विन्दु स्थानीय बासिन्दा हुन् तर, उनीहरूको सम्बन्धित निकायको क्षमता वृद्धि हुन सकेको देखिँदैन । त्यस विषयमा पनि जोड दिने यो सम्मेलनको उद्देश्य छ । 

सामुदायिक जलवायु अनुकूलन तथा न्यूनीकरणको उपायहरूको पहिचान, कार्यक्रम तर्जुमा तथा कार्यान्वयनले स्थानीयस्तरमा प्राथमिकता नपाएको कारण क्षेत्रगत तथा विषयगत सूचना उपलब्ध गराउने संयन्त्र बनाउन जोड दिइनेछ । स्थानीय तहमा नीति कार्यान्वयनको लागि आवश्यक कानुनी व्यवस्था छैन त्यसलाई लागू गर्न जोड दिइने छ । कार्यक्रम तर्जुमा तथा कार्यान्वयनमा सम्बन्धित राष्ट्रिय तथा स्थानीय सरकार, निजी क्षेत्र, गैर सरकारी संस्थाको एकता अभाव देखिएको छ । यसलाई समन्वय गर्न आवश्यक ठानिएको छ । जलवायु अनुकूलन तथा क्षमता अभिवृद्धिका कार्यहरू लक्षित समूहमा पुर्याउन जोड दिनुपर्दछ । 

जलवायु परिवर्तनका प्रभावहरूमध्ये ६० प्रतिशतभन्दा बढी जलस्रोतमाथि पर्ने गरेको देखिएका छन् । एशिया, यूरोप, आन्टर्टिकालगायत उत्तर अमेरिकामा समेत यसले असर पारेको पाईन्छ । एशियाली विकास बैङ्क र पोट्सड्याम इन्ष्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो । जलवायु परिवर्तन यथावत् रहेमा यसले एशिया प्रशान्त क्षेत्रका देशको भावी वृद्धिलाई गम्भीर प्रभाव पार्न सक्ने, अहिलेको वृद्धि उल्टन सक्ने र जीवनस्तरसमेत खस्कने दाबी प्रतिवेदनको छ । प्रतिवेदनअनुसार बाढीदेखि आँधीबेहरीको घटनामा हुन सक्ने सम्भावित वृद्धिले विशेष गरी एशियाका चीन, भारत, बङ्गलादेश र इण्डोनेसियाका मानिसहरू प्रभावित छन् । त्यस्तै गरेर स्थिति बिग्रँदै गएमा बङ्गलादेश, भारत र पाकिस्तानका तल्लो तटीय क्षेत्रमा बस्ने १३ करोड मानिस विस्थापित हुने जोखिममा छन् । यस क्षेत्रका एक सय ३६ ठूला तटीय शहरको अध्ययन गर्ने क्रममा प्रतिवेदनका लेखकहरूले सन् २००५ मा बाढीका कारण विश्वले वर्षेनि औसत ६ अर्ब डलर गुमाएकोमा सन् २०५० सम्ममा क्षतिको यो रकम बढेर ५२ अर्ब डलरमा पुग्नेछ । सन् २००५ देखि सन् २०५० सम्ममा वर्षेनि सबैभन्दा धेरै गुमाउने विश्वको शीर्ष २० शहरमध्ये १३ शहर एशियामा रहेका प्रतिवेदनमा बताइएको छ । 

कार्बन उत्सर्जनमा विश्वका औद्योगिक तथा धनी राष्ट्र जिम्मेवार रहेको यथार्थ विभिन्न अध्ययन प्रतिवेदनले सार्वजनिक गरिसकेका छन् । हरितगृह ग्यासको प्रमुख कारकको रूपमा देखिएको कार्बन डाइअक्साइडको उत्सर्जन नै विश्वव्यापी उष्णीकरण र जलवायु परिवर्तनको कारक मानिएको छ । औद्योगिक राष्ट्रले उत्सर्जन गरेको कार्बन वापत उनीहरूले आर्थिक लगानी गरेका छन् । यो लगानी नेपालका ग्रामीण र प्रत्यक्ष असर परेको स्थानमा ल्याउन यस्ता कार्यक्रम सहयोगी हुने विश्वास लिईएको छ ।

तपाईँको मत