उखु मिल समयमा सञ्चालन नहुँदा उखु किसान अन्यौलमा
- अंगद यादव
- ६ पौष शुक्रबार, २०७५ | २१:३६:०० मा प्रकाशित

नवलपरासी पश्चिम । अहिले उखु क्रसिङ गर्ने उत्तम समय भनेकै मंसिर दोश्रो साता हो । यो समय बितेको झण्डै महिना दिन बित्न लाग्यो । तर, पनि उखु मिल सञ्चालनमा नआउँदा उखु किसानहरु अन्यौलमा परेका छन् । साहु महाजनसँग चर्को ब्याजदरमा ऋण लिएर गरेको उखु खेती अहिलसम्म खेतमै सुकिरहदा किसानहरुलाई ऋणको ब्याज र घरव्येवहार समेत मिलाउन समस्या भएको गुनासो गरेका छन् ।
एकातर्फ सरकारले अहिलेसम्म उखुको उचित मूल्य निर्धारण नगर्नु अर्कोतर्फ चिनी मिलका सञ्चालकहरु आलटाल गर्दै अहिलेसम्म मिल सञ्चालन नगर्नुले मिल चल्ला कि नचल्ला भनि किसानहरु अन्यौलमा परेका छन् । मिल समयमै सञ्चालनमा नआउँदा किसानहरु गहुँ, मसुरो, केराउ र तोरी खेती सिजन सकेर सो खेतीबाट बन्चित त भए नै यता खेत मै उखु सुकेर किसानहरुलाई थप घाटा भइरहेको सुस्ता गाउँपालिका ३ नर्सहीका उखु किसान लख्खु यादवले दुखेसो पोखे ।
स–साना किसानहरु घर व्यवहार मिलाउन बाध्य भई स–साना उखु क्रसर तथा बिचौलियाहरुलाई ३५० देखि ४०० रुपिया प्रति क्वीन्टल सस्तोमा उखु बिक्री गरिरहेका छन् । जिल्लामा ईन्दिरा सुगर मिल, वागमती खाडसारी चिनी मिल र लुम्बिनी चिनी मिल गरि ३ वटा ठूला चिनी उद्योग र ५० भन्दा बढी स–साना उखु क्रसरहरु सञ्चालनमा छन् । यी ठूला मिलहरुले किसानहरुको बक्यौता रकम ५ करोड रुपैयाँ अझै भुक्तानी दिएका छैनन अर्कोतर्फ समयमै मिल नचलाएर किसानहरुलाई सस्तो उखु खसाल्न बाध्य बनाई रहेको प्रतापपुर गाउँपालिका ८ पिपरपातीका किसान युवराज मौर्यले गुनासो गरे ।
विगतमा मंसिरमै उखु मिलहरु सञ्चालनमा आई उखु क्रसिङ्ग गर्ने गर्दथे तर अहिलेसम्म उखु मिल सञ्चालनमा नल्याउँदा किसानहरु अन्यौलमा परि ठूलो मर्कामा परेका छन । सरकारले समयमै उखुको उचित मूल्य निर्धारण गर्न र उखु मिलहरुलाई तत्काल सञ्चालनमा ल्याउन पहल गरिदिन उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले सरकारसँग आग्रह गरे ।
समितिका अध्यक्ष यादवका अनुसार सरकारले किसानहरुलाई दिएको अनुदान रकमप्रति क्वीन्टल ६५/२८ रुपैयाँ झन्झटिलो प्रक्रियाका कारण किसानहरुले सो अनुदानको रकम पाउन सकेका छैन । यस गण्डक कमाण्ड क्षेत्रका अधिकांश किसानहरु उखु खेती हुण्डा, उखडा, आठ नं। प्रति र बगर नदीको छेउछाउमा गरेकाले सो पूजा नहुँदा अनुदान रकम पाउनबाट बन्चित नै भइरहेको अध्यक्ष यादवले दुख सुनाए । उनले, सरकारले अनुदानको रकम पाउन सहज प्रक्रिया बनाएर किसानहरुलाई सहजै सो रकम उपलब्ध गराउन आग्रह गरे ।
यता उखु मिलका सञ्चालकहरुले मिल सञ्चालन नगरि किसानहरुलाई सस्तोमा उखु खसाल्न बाध्य बनाईरहेको किसानहरुले गुनासो गरेका छन् । मिल सञ्चालकहरुले मिलको मर्मत कार्य भइरहेकाले मिल सञ्चालनमा ढिलाई भएको सफाई दिदै किसानहरुलाई सस्तोमा उखु खसाल्न बाध्य बनाईरहेको पाइएको छ । त्यसैमा मौकाको फाईदा उठाउदै बिचौलियाहरु ठाउँ–ठाउँमा उखु खरिद सेन्टर राखी सस्तोमा उखु खरिद गर्ने चलखेलमा लागेका छन् ।
जिल्लामा कुल साढे ७ हजार हेक्टयर क्षेत्रफलमा उखु खेती हुदै आएको छ जसमा करिब १४ हजार घरपरिवार उखु खेती आवद्ध छन् । सो खेतीबाट करिब २० लाख क्विन्टल उखु उत्पादन हुने गरेको समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस