प्रतिनिधि सभा

उपभोग्य वस्तुको मूल्यवृद्धि अध्ययन, चिनीको मूल्य रु ६३ निर्धारण गर्न निर्देशन

  • १८ असोज बिहीबार, २०७५ | १५:४५:०० मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठकले बजारमा देखिएको चिनीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि एवं अभावसम्बन्धी अध्ययन गर्न एक उपसमिति गठन गरेको छ । 

समितिको आज बसेको बैठकले सांसद लेखराज भट्टको संयोजकत्वमा गठित सो समितिमा सांसद प्रदीप यादव, पार्वता डिसी चौधरी, प्रेम आले र चन्दा चौधरी रहेका छन् । उपसमितिलाई सो विषयमा अध्ययन गरी समितिसमक्ष प्रतिवेदन बुझाउन एक हप्ताको समय सीमा दिइएको छ । बैठकले चिनीको मूल्य रु ६३ नै निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ । 

समितिको बैठमा सांसदले चाडपर्वको मुखमा चिनीलगायत दाल, तेल, तरकारी एवं पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै बजारमाथि सरकारले हस्तक्षेप गर्न आग्रह गर्नुभएको थियो । उनिहरुले सरकारले चिनीको बजार मूल्य रु ६३ भन्दा माथि नजाने भन्दा भन्दै अहिले के कारणले रु ८० माथि पुग्यो ? भन्ने प्रश्न गरे । 

साथै खाने तेलको एक लिटरमा रु २५, दाल एवं गेँडागुडीमा प्रतिकिलो रु १५ भन्दा माथि मूल्यवृद्धि हुँदा सरकारले प्रभावकारी बजार अनुगमन गर्न नसकेकामा चिन्ता उनिहरुले व्यक्त गरे । 

तपाईँको मत