प्रदेश सभा

प्रदेश ३ को १३ जिल्लामा सामाजिक विकास कार्यालय खोलिने

  • १० असोज बुधबार, २०७५ | १७:४१:०० मा प्रकाशित

हेटौँडा । प्रदेश नं ३ सरकारका सामाजिक विकास मन्त्रालयले पारदर्शी कार्यपद्दति कायम गर्न आज पत्रकार सम्मेलन गर्दै दुई महिनाको प्रगति विवरणसहित प्रतिवेदन सार्वजनिक गरेको छ । 

मन्त्रालयको रु दुई अर्ब ९९ करोड ९८ लाख ६ हजारको वार्षिक स्वीकृत जम्मा बजेटलाई विभिन्न क्षेत्रमा विभाजन गरिएको छ । केन्द्र सरकार र मन्त्रालय सहितको कूल बजेट रु चार अर्ब २१ करोड ८५ लाख रहेको छ । 

जसअन्तर्गत स्वास्थ्य, सामाजिक विकास, शिक्षा, विविध कार्यक्रम तथा प्रशासनिकजस्ता क्षेत्रमा उक्त बजेट विभाजन गरिएको छ । छुट्याइएको बजेट तथा निर्माण गरिएका कार्यक्रमको त्रैमासिक रूपमा सार्वजनिक गर्ने गरेको प्रतिवेदन प्रस्तुतकर्ता सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनाराण पौडेलले जानकारी दिए। 

मन्त्रालयको वार्षिक कूल कार्यक्रम तथा सङ्घीय सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण गरिएका कार्यक्रमको बारेमा समेत जानकारी दिइएको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा प्रदेशस्तरीय प्रयोगशाला सम्बन्धी मापदण्ड निर्धारण, आयुर्वेदिक तथा वैकल्पिक चिकित्साको प्रदेशस्तरीय नीति तयार गर्ने जस्ता कार्य सम्पन्न गरिने सचिव पौडेलले बताए। 

त्यसैगरी पत्रकारको प्रश्नको जवाफमा सामाजिक विकासमन्त्री युवराज दुलालले प्रथम त्रैमासिक अवधिमा प्रदेश प्राविधिक शिक्षा परिषद् स्थापना र सञ्चालन गर्न बनेको विधेकको मस्यौदा तयार भई सदनमा पेश गरिएको जानकारी दिए । 

त्यसैगरी उनले स्वयम् सेवक परिचालन कार्यविधि निर्देशिकासमेत तयार भइसकेको बताए । मन्त्री दुलालले अबको दोस्रो त्रैमासिक अवधिमा द्वन्द्व प्रभावितको लागि स्वरोजगारमूलक तालीम सञ्चालन गरिने, आपतकालीन बाल उद्धार कोष सञ्चालन गर्ने, जिल्लास्तरीय रङ्गशाला निर्माण कार्यक्रमलगायतका धेरै कार्यक्रम गरिने बताए । 

साथै उनले प्रदेश नं ३ अन्तर्गत १३ जिल्लामा सामाजिक विकास कार्यालय खोल्ने तयारी भइरहेको र त्यहाँबाट शिक्षा, स्वास्थ्य कार्यक्रम सञ्चालन रेखदेख, नियन्त्रण गर्ने कार्य हुने बताए । 
 

तपाईँको मत