पत्र-पत्रिकाबाट

अनुमतिको पर्खाइमा ७ करोड ३९ लाख कित्ता सेयर

  • ४ असोज बिहीबार, २०७५ | ०६:४८:०० मा प्रकाशित

काठमाडौं । नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा ७ करोड ३९ लाख ७२ हजार ४ सय ४० दशमलव ८१ कित्ता सेयर निष्कासन अनुमतिको पर्खाइमा रहेको छ । सोमध्ये ३ करोड ९४ लाख ६३ हजार ४ सय १६ कित्ता आइपिओ रहेको छ भने ३ करोड ४५ लाख ९ हजार २४ दशमलव ८१ कित्ता हकप्रद सेयर रहेको छ । आइपिओ निष्कासन गर्न १७ कम्पनी र हकप्रद निष्कासन गर्न ७ कम्पनीले बोर्डमा आवेदन दिएका छन् ।

आइपिओ निष्कासन गर्न आवेदन दिने १७ कम्पनीमध्ये १३ जलविद्युत् कम्पनी, २ लघुवित्त कम्पनी, १ इन्भेस्टमेन्ट कम्पनी र एक मर्चेन्ट बैंक रहेका छन् । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २ लाख कित्ता निष्कासन गर्न गर्जाङ उपत्यका हाइड्रोपावरले २०७३ असोज १४ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ ।

बोर्डले कम्पनीलाई क्रेडिट रेटिङ पत्र देखाउन २०७४ वैशाख १३ गते अनुरोध गरेको छ । लाफिङ बुद्ध पावर नेपाल लिमिटेड र युनिक हेडल कम्पनीले आइपिओ निष्कासनका लागि २०७४ जेठ ३१ गते बोर्डमा आवेदन दिएका थिए । यी दुवै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सेयर निष्कासन गर्न अनुमति मागेका हुन् । लाफिङ बुद्धले सिद्धार्थ क्यापिटलको बिक्री प्रबन्धकत्वमा ९ लाख ७८ हजार कित्ता र युनिक हेडलले एनएमबि क्यापिटलको बिक्री प्रबन्धकत्वमा ५ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने बोर्डसँग अनुमति मागेको हो ।

मैलुङ खोला जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि ७ लाख ३६ हजार २ सय ८६ कित्ता आइपिओ निष्कासन गर्न २०७४ असोज २० गते आवेदन दिएको थियो । कम्पनीको सेयर रजिस्ट्रार सिद्धार्थ क्यापिटल रहेको छ । युनिभर्सल पावर कम्पनी लिमिटेडले स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि ९९ लाख ६१ हजार ६ सय १० कित्ता आइपिओ निष्कासन गर्न गत जेठ १८ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीको सेयर रजिस्ट्रार सिद्धार्थ क्यापिटल रहेको छ ।

त्यसैगरी, घलेम्दी हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि १५ लाख ५५ हजार ७ सय ७० कित्ता आइपिओ निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीले स्थानीय बासिन्दाका लागि निष्कासन गरेको सेयरमा आवेदन नपरेको ४ लाख ५५ हजार ७ सय ७० कित्तासहित सो सेयर निष्कासन गर्न लागेको हो । पाँचथर पावर कम्पनीले स्थानीय बासिन्दाका लागि १९ लाख २५ हजार कित्ता र शिव श्री हाइड्रोपावरले १४ लाख ७६ हजार ४ सय कित्ता आइपिओ निष्कासन गर्न बोर्डमा आवेदन दिएका छन् । पाँचथरको सेयर रजिस्ट्रार सानिमा क्यापिटल रहेको छ भने शिव श्रीको सिद्धार्थ क्यापिटल रहेको छ ।

मध्ये भोटेकोसी जलविद्युत् कम्पनीले कर्मचारी सञ्चयकोष, संस्थापक सेयरधनी कम्पनी र ऋणदाता कम्पनी कर्मचारीलाई १ करोड ४४ लाख कित्ता साधारण सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल रहेको छ ।

सिइडिबी हाइड्रो फन्डले सर्वसाधारणका लागि २२ लाख ८९ हजार ३ सय कित्ता साधारण सेयर निष्कासन गर्नेछ । कम्पनीको सेयर रजिस्ट्रार सनराइज क्यापिटल रहेको छ । सप्तरी हाइड्रोपावर र ग्रिनलाइफ हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आइपिओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । सप्तरीले ३ लाख कित्ता र ग्रिनलाइफले १८ लाख कित्ता आइपिओ निष्कासन गर्न बोर्डमा आवेदन दिएका हुन् ।

सप्तरीको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ भने ग्रिनलाइफको काठमाडौं क्यापिटल रहेको छ । सिद्धार्थ क्यापिटलको बिक्री प्रबन्धकत्वमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १६ लाख ९० हजार ४ सय ७० कित्ता आइपिओ निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीले स्थानीय बासिन्दाका लागि निष्कासन गरेको सेयरमा आवेदन नपरेको सेयरसहित सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।

आइपिओ निष्कासन माग गर्ने कम्पनीहरूमध्ये दुई लघुवित्त कम्पनी रहेका छन् । आशा लघुवित्त वित्तीय संस्थाले ६ लाख कित्ता र जनसेवी लघुवित्त वित्तीय संस्थाले ४ लाख २० हजार कित्ता साधारण सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । आशाको सेयर रजिस्ट्रर प्रभु क्यापिटल र जनसेवीको एनएमबि क्यापिटल रहेको छ । सिबिआइएल क्यापिटलले ३ लाख कित्ता आइपिओ निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

हकप्रद सेयर निष्कासन गर्न ३ लघुवित्त कम्पनी, २ जलविद्युत् कम्पनी, १ बिमा कम्पनी र एक उत्पादनमूलक कम्पनी गरी ७ कम्पनीले बोर्डमा आवेदन दिएका छन् । श्री राम सुगर मिल्सले १ बराबर ३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न २०७४ वैशाख २८ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीको सेयर रजिस्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । वरुण हाइड्रोपावर कम्पनीले १ बराबर १ अनुपातमा र अपि पावर कम्पनीले १ बराबर २ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएका थिए । वरुणको सेयर रजिस्ट्रार एनआइबिएल एस क्यापिटल र अपिको सिद्धार्थ क्यापिटल रहेको छ ।

त्यसैगरी, महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले २ बराबर १ अनुपातमा, किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले २ बराबर १ अनुपातमा र उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले ५ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएका छन् ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीले भने संस्थापक सेयरधनीका लागि १ बराबर १ दशमलव शून्य ५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न सेबोनमा आवेदन दिएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । नयाँ पत्रिकामा खबर छ । 

तपाईँको मत