अन्तर्वार्ता

अल्टिच्यूड एयरको हेलिकोप्टर दुर्घटना भएको स्थानमा पुगेर बिरामीको सफल उद्धार गर्न सफल भयाैँ : डा. कार्की

सेवा उपलब्ध गराउन २४ सै घण्टा चार वटा टीम तयार छौँ

शनिबार बिहानै अल्टिच्यूड एयरको हेलिकोप्टर धादिङको खनियावास गाउँपालिकामाथिको आकाशबाट सम्पर्कविहीन भएको समाचार सार्वजनिक हुनासाथ सञ्चार माध्यम र सामाजिक सञ्जालमा एकाएक भाइरल भयो । 

शुरुमा त हेलिकोप्टरमा को-को थिए र कहाँ आकस्मिक अवतरण वा दुर्घटना भयो भन्नेमा अन्योल रह्यो । तर द्रुत रुपमा खोजी कार्य गरेको केही घण्टापछि नुवाकोटको सदरमुकाम विदुरदेखि पश्चिममा रहेको म्यागङ गाउँपालिका-४  मुइलाम्राको गुराँसे पहाडको जंगलमा दुर्घटना परेको भेटियो । 

होलिकोप्टर शनिबार गोरखाको चुमनुब्री गाउँपालिका-१ सामागाउँमा चारजना चिनियाँ र एकजना नेपालीसहित ल्यान्ड भएको थियो । त्यहाँबाट एकजना जापानी नागरिक चढाएर पाइलटसहित ७ जना लिएर बिहान ७ बजेर ४० मिनेटमा उडेको थियो । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका दिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखा चुमनुब्री–२ का ल्हो आनि डोल्मा निकी, चुमनुब्री–१ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका सुनील तामाङ र चालक निश्चल केसी सवार थिए ।

सो समयमा नेपाल मेडिसिटी हस्पिटलका डा. सञ्जय कार्की र डा. रमेश न्यौपानेको मोबाइल आइसीयू टोली बुटवलमा बिरामी लिन जाने तयारीमा थिए अन्तत: बुटवल नभएर आकस्मिक रुपमा उद्धारका लागि अल्टिच्यूड एयरको हेलिकोप्टर दुर्घटना भएको स्थानमा पुगेर एक बिरामीको सफल उद्धार गर्न सफल भए । यहि सन्दर्भमा गाउँ सहर डटकमले मेडिसिटी अस्पतालका इमर्जेन्सी मेडिसिन विभागका प्रमुख इमर्जेन्सी मेडिसिन फिजिसियन डा‍. सञ्जय कार्कीसँग गरिएको संक्षिप्त कुराकानी प्रस्तुत गर्दछौं । 

१. अल्टिच्यूड एयरको हेलिकोप्टर दुर्घटनासँग नेपाल मेडिसिटी अस्पताल र तपाईँहरु कसरी जोडिनुभयो ?
शनिबार बिहानै हाम्रो टिम बुटवलमा मुटुको बिरामी लिन हेलिकोप्टरमा जाने तयारीमा थियौं । त्यहि क्रममा हामी हेलिकोप्टर कम्पनीसँग कुरा गर्दैथ्यौं । तर हामीलाई सिम्रिक एयरलायन्स र श्री एयरलायन्सले केही समय होल्ड गर्नुहोला अल्टिच्यूड एयरको हेलिकोप्टर दुर्घटनाको खबर आएको छ, बरु तपाईँहरुको टोली पनि उद्धार र उपचारको लागि जानुपर्ने हुन सक्दछ तयार हुनुहोला भनेपछि हामी १५ मिनेटभित्र डाक्टर र उद्धार टोली तयार भएर बस्यौं । हामीलाई उहाँहरुले केही मानिसहरु जीवतै हुनसक्छ तपाईँहरुको आवश्यकता पर्न सक्छ भन्नुभयो र हामी पछि गयौं पनि । विशेषत हामीलाई खबर गर्ने सिम्रिक एयरलायन्स र श्री एयरलायन्सलाई धन्यबाद दिनुपर्दछ, जसले हाम्रो हस्पिटलमा खबर गरेर त्यहाँसम्म लगेर जीवित बिरामीलाई अस्पिटलसम्म ल्याएर उपचार गर्ने र बचाउने पून्य काममा सहयोग गर्नुभयो ।      

२. उद्धारको लागि तपार्इँहरु घटनास्थल पुग्दा त्यहाँको अवस्था कस्तो थियो ?
दुर्घटनाको खबर पाउनासाथ हामी उद्धारका लागि त्यसतर्फ एकदम छिटो पुगेका हौं । निकै लामो प्रयासपछि हामी घटनास्थलको पहिचान भयो तर मौसम निकै नै खराब  र डाँडाकाँडा तथा कठिन भौगोलिक क्षेत्रमा दुर्घटना भएकाले पनि सहजै घटनास्थलमा पुग्न गाह्रो भयो । लंगलाईन अर्थात स्लिङ अप्रेसन गर्न हामीलाई निकै कठिनाई आइपर्यो । जियोग्राफी रुपमा अनि मौसमका कारण हामीलाई उद्धारमा कठिनाई भयो ।

मौसम केही सुधार आएको मौकामा पारी हामीले घटनामा गम्भीर घाइते भएका एक जनाको उद्धार गर्न सक्यौं । घटनास्थलमै पुगेर उपचार सेवा दिनु सम्भव नभएकाले घाइतेलाई झण्डै ५ सय मिटर टाढा खुला ठाउँमा लगेर हाम्रो टोलीले प्रारम्भिक स्वास्थ्य सेवा उपलब्ध गरायो । घाइतेलाई बचाउने कसरतमा हामीले सकेको गर्यौं । 

हाम्रो मोबाइल आइसीयू टोलीको उद्धेश्य नै गम्भीर घाइतेको जीवन यथाशक्य बचाउनु थियो । हामी त्यही जिम्मेवारी निभाउन लागि पर्यौं । घाइतेलाई फेला पार्दा उहाँको अवस्था हाइपोथर्मिया अर्थात शरीर एकदमै चिसो थियो । साथै उहाँ निकै पीडामा हुनुहुन्थ्यो । हामीले त्यहीँबाट उपचार सुरु गर्यौं र तत्काल अस्पताल लैजानु पर्छ भनेर हामीले घाइते बोकेर अस्पताल ल्याइपुर्यायौं । हाम्रो पहिलो प्राथमिकता बिरामीको जीवन बचाउनु नै हो । जुन काममा हामी सफल भयौं । 

३. मेडिसिटिको टिम कस्तो कस्तो दुर्घटनामा उपचार र उद्धारको लागि पुग्नुहुन्छ ?
हाम्रो हस्पिटलमा कसैले कहिँ दुर्घटना भएको छ र उद्धार गर्नुपर्यो वा कतै आकस्मिक उपचारको लागि ल्याउनुपर्यो भने खबर जानकारी गर्न सक्नुहुन्छ । तर कतिपय अवस्थामा आर्थिक पाटोको पनि कुरा आउँदछ । तथापी पहिलो प्राथमिकता भनेको बिरामीको उपचार भएकोले कसैले हामीलाई सेवा उपलब्ध गराउन कसैले आग्रह गरेमा हामी तयार नै छौं । हामीले यस अघि युएस बंगला विमान दुर्घटनामा पनि हामीले आकस्मिक सेवा उपलब्ध गराएका थियौं । हामी देशको कुनै पनि भूगोलमा कुनै पनि समयमा सेवा उपलब्ध गराउन २४ सै घण्टा चार वटा टीम तयार छौं ।

४. देशको कुनै भागमा आकस्मिक उपचारको उद्धार गर्नुपर्ने अवस्था आयो तर आर्थिक अवस्था कमजोर छ भने के गर्ने ?
त्यस्तो अवस्थामा देशमा सरकार छ । सहयोग गर्ने विभिन्न सरकारी तथा गैह्रसरकारी संघसंस्था तथा मनकारी दाताहरु छन् । सबैले सहयोग गर्नुपर्ने हुन्छ । बिरामीको उद्धारदेखि उपचारसम्म सबै बेहोर्न हस्पिटलले मात्र पनि सम्भव हुँदैन । हस्पिटलको तर्फबाट गर्नसक्ने सहयोग रहन्छ । किनभने हस्पिटलमा पनि डाक्टरदेखि प्रशासनिक र औषधि खर्च भइरहेको हुन्छ त्यसकारण हामी सबैको पहिलो कर्तव्य बिरामीको ज्यान बचाउनु हो भने त्यसपछि बजेटको पनि व्यवस्थापन चाहिँ गर्नेपर्ने हुन्छ । 

५. प्रि हस्पिटल केयरमा काम गर्न कत्तिको अफ्ठेरो छ अझ झन हेलिकोप्टरबाट उद्धार गर्नुपर्दा ?
प्रि-हस्पिटल केयर भनेकै बिरामीलाई कसरी व्यवस्थापन गर्ने, अस्पतालसम्म कसरी सजिलो तरिकाले ल्याइपुर्‍याउने र दुर्घटना भएको ठाउँबाट उद्धार गर्ने भन्नेमा विशेष ध्यान दिनुपर्दछ । कतिपय अवस्थामा बिरामीलाई हेलिकोप्टरबाट उद्धार गर्दा हाइ-अल्टिच्यूडको समस्या हुन सक्दछ । जसले गर्दा बिरामीलाई सास फेर्न समस्या उत्पन्न हुन गई झन अफ्ठेरो हुन सक्दछ ।  कतिपयलाई हेलिकोप्टरमा राख्न नमिल्ने पनि हुन सक्दछ । त्यस्ता प्राविधिक कुरामा पनि ख्याल गर्नुपर्नेहुन्छ अन्य हस्पिटलमा भएका बिरामीलाई थप उपचारका लागि ल्याउनु पर्‍यो भने डाक्टरको टीमसँग छलफल गरेर, आइसियूबाट निकाल्न मिल्छ मिल्दैन सबै हेरेर थप उपचारका लागि व्यवस्थापन गर्नुपर्दछ । यो डिपार्टमा काम गर्न रिस्क पनि छ र बिरामीलाई सुरक्षित हस्पिटलसम्म ल्याएर उपचार गरि घर फर्काउन पाउँदा मनमा आनन्द पनि आउँछ ।

(स्मरण रहोस मेडिसिटी अस्पतालका डा. सञ्जय कार्की र डा. रमेश न्यौपानेको मोबाइल आइसीयू टोली तथा सिम्रिक एयरका क्याप्टेन विवेक खड्काले घाइते डोल्मा डिकीलाई जीवितै उद्धार गर्न सफल भएका थिए ।)
 

तपाईँको मत