दृष्‍टिकोण

बाढी र सुक्खा खडेरीको एउटै समाधान

नगरे चुनौतीहरु अझ बढी नेपालका दक्षिणतिर रहेका सहरहरुले भोग्नु पर्ने

तस्बिरः काठमाडाैँ पाेस्ट

प्रत्येक वर्ष देशले बाढी र सुक्खा खडेरीको सामना गर्नुपर्छ । आपत पर्दामात्र सरकार तात्ने नभए कानमा तेल हालेर बस्ने गलत परिपाटी हुर्कँदा वर्षेनी प्रभावित संख्यामा प्रणालीगत प्याकेज ल्याउन सकेका छैनौँ ।

गत वर्ष ०७४ पौषको २० नागरिक दैनिकमा प्रकाशित यो लेख सोही वर्ष साउनको अन्तिम सातामा आएको बाढीबाट मोरंग र सुनसरीमा २७ जनाले ज्यान गुमाउनुको साथै ३००० बढी घरधुरी प्रभावित भएका थिए । घटना पश्चात याे अनुसन्धान प्रकाशित भएको थियो । अनुसन्धानकर्ताले त्यो बाढीका कारण र त्यसका दीर्घकालीन समाधानका उपायलाई उतार्ने प्रयास गरेका थिए ।

बाढीका कारण

१. अत्यधिक वर्षा या क्लाउड ब्रस्ट

निश्चित ठाउँमा केन्द्रित रहेर धेरै पानी पर्नु भन्न नै ‘क्लाउड ब्रस्ट’ हो । (जनजीब्रोको बोलीमा मुसलधारे वर्षा भन्ने गरिन्छ) । एक घन्टामा १०० मिलिलिटर भन्दा बढी पानी पर्नुलाई क्लाउण्ड ब्रष्ट भन्ने गरिन्छ । 

साउन महिनामा औसत रुपमा ३५० मिलिलिटर वर्षा हुने गरेको थियो । तर त्यो पटक साउन महिनाको ३ दिनमै ३९० मिलिलिटर (१५.३४ इन्च) वर्षा भएको थियो । सन् १९९३ मा मध्य नेपालमा २४ घण्टामा ५४० मिलिलिटर (२१ इन्च) वर्षा भएको थियो र यसलाई नेपालमा भएको सबैभन्दा ठूलो क्लाउड ब्रष्ट हो भनिन्छ । यो प्रक्रिया क्लाउड ब्रस्ट जलवायु परिवर्तनको कारणले नै हो भनेर किटान गर्नसक्ने अवस्था छैन । तर थोरै समयमा धेरै पानी पर्ने र कयौँ दिन खडेरी जस्ता वर्षामा आएको फेरबदल जलवायु परिवर्तनले नै गर्दा हो भन्ने कुरा पुष्टी भइसकेको छ ।

२. बढ्दो सहरीकरण

सहर बढेसंगै आकासबाट पानी पर्नासाथ, जमिनबाट बगेर जाने पानीको मात्रा पनि बढ्ने गर्छ । सहरीकरणका कारण जमिनका खुल्ला भागमा घर, ढलान, सडक आदी कंक्रिटले खुला जमिन ढाकिन पुग्दछ । खुल्ला जमिन हुँदा जमिनले पानी सोच्ने गर्दछ, जसले गर्दा वर्षा पछि जमिनबाट बगेर जाने पानीको मात्रा कम हुने गर्दछ । विभिन्न सहरहरुको अध्ययनहरुले खुल्ला जमिन हुँदा २० प्रतिशत पानी मात्र बगेर जाने गर्ने तर सहरीकरण सँगै आकाशबाट परेको पानी ८० प्रतिशतसम्म बेगर जाने तथ्यांक विज्ञहरुले प्रस्तुत गरिसकेका छन् ।

अहिले पूर्वका सहरहरु जस्तै बिराटनगर, इटहरी, सुन्दर हरैचा, पथरी, धरान, लेटाङ्मा तीब्र रुपमा सहरीकरण भइरहेको छ । सहरीकरण संगै खुल्ला जमिनको क्षेत्र खुम्चिँदै छ ।अहिले धेरै सहरहरुमा आकाशबाट पानी पर्नासाथ सिधै खोलामा हाल्ने गरिएको छ । यी क्षेत्र भावर भित्र भएकाले यो जमिनले सजिलै पानी सोच्ने गर्दछ ।

यस क्षेत्रका बूढी, सिघिया, टयांग्रा आदि खोलाहरुमा थोरै पानी पर्ने साथ  बाढी आएको बिगतको समयमा पनि हामीले देख्दै आएका छौँ । यसको प्रत्यक्ष प्रभाव गरिब, सुकुम्बासीहरु लगायत खोला किनारमा बस्ने बासिन्दालाई पर्दै आएको छ ।

यसपाली बिराटनगर र इटहरी  आसपासको क्षेत्र डुबानको कारण, यसका नजिकै बग्ने साना खोलाहरुको प्रबाह क्षमता भन्दा बढी पानीभएर डिल माथिबाट बाहिरिएर भएको हो ।अबका आउने दिनहरुमा यस्ता घटनाहरु अझ बढ्ने छन् । यस्ता चुनौतीहरु अझ बढी बिराटनगर लगायत नेपालका दक्षिणतिर रहेका सहरहरुले भोग्नु पर्ने दिन आउने छन् ।

३. जलवायु परिवर्तनलाई अत्मसात नगरी गरिएको विकास
बिराटनगर-इटहरी जोड्ने सडक फराकिलो पार्ने क्रममा छ । बिगतमा भएको ढलको क्षेत्रफल निकै खुम्चिएर  सानो बनाईँदै छ । हिजो  जमिन खुल्ला क्षेत्र हुँदा पानीको मात्रा कति हुने र सडक र सहरीकरण संगै ढलमा कति पानी हुन्छ भन्ने अनुमान नै नगरी, ढललाई साँघुरो पारिँदै छ । आजभोलि नयाँ भौतिक पूर्वाधार निर्माण गर्दा, बिगत १०० वर्षको वर्षाको तथ्यांकको बिष्लेषणबाट तयार गर्नु पर्नेमा त्यस्तो गरेको देखिँदैन ।  अझ जलवायु परिवर्तनको कारणले गर्दा वर्षामा आउने फेरबदललाई आँकलन गर्ने अवस्था छैन, र झन भएको तथ्यलाई पनि राम्ररी केलाइएको छैन ।

प्राकृतिक प्रकोप रोक्न सक्ने क्षमता हाम्रो वसमा छैन, तर गत साउनमा आएको बाढीको प्रकोप मानवीय क्रियाकलापबाट आर्जित हो भन्दा फरक पर्दैन । तत्कालिन समयमा भर्खरै, सम्पन्न प्रतिनिधि सभाको चुनाबमा बाढी नियन्त्रण प्रमुख मुद्दा बनेको थियो । अग्ला तटबन्द बनाउने कुरा मुख्यरुपमा बढी नियन्त्रणको रुपमा सुझाएको थियो । तर बाढीको कारण प्रति त्यति ध्यान दिएको पाइएन । रोगको उपचार गर्नु भन्दा लक्षणको उपचारमा केन्द्रित भएको भान हुन्छ । यस्ता क्रियाकलापले झन् खोला नजिक बस्ने मानिसहरुलाई थप जोखिममा पर्ने छ । इटहरी लगायत बिराटनगरमा आएको बाढी खोला फुटेर या भारतद्वारा निर्माण गरिएका बाँधका कारण नभई सहरीकरण संगै  आकाशबाट पानी पर्ने साथ जमीनबाट बग्ने पानीको मात्र बढ्नु नै मुख्य कारण हो । ठूला तटबन्द बनाए नि सहर विस्तारको क्रम नरोकिने भएकाले यसले समस्या समधान नगरी वर्षा संगै डुबान को समस्या अझ बढ्ने छ ।

सम्भाव्य समधानका केही विकल्पहरु
बाढी नियन्त्रणको लागि लाखौ लाख खर्च गर्नु पर्दैन केवल हाम्रो सानो प्रयासबाट पनि भविष्यमा हुने बाढीको जोखिम न्यूनीकरण गर्न सकिन्छ । यसको  लागि हामीले आकाशबाट पर्ने पानी जतिसक्दो धेरै  भन्दा धेरै जमिन मुनि पठाउनु पर्दछ । जमिन मुनि पानी पठाउन विभिन्न उपाय अरु अबलम्बन गर्न सकिन्छ । तीमध्ये, हामीले सजिलै  अबलम्बन गर्ने सकिने उपायहरु निम्न प्रकारका छन् ।

क. रिचार्ज पिट : आकाशे पानीलाई  २-३ मीटर जति गहिरो सानो खाल्डो बनाई त्यसमा ढुंगा, गीटी र बालुवा राखी, पानी त्यसमा हाल्न सकिन्छ । 
ख. इनारमा पानी हाल्ने : प्रयोग भइरहेका या प्रयोग नभएका इनारहरुमा आकशको पानी सिधै छत या छानाबाट हाल्न सकिन्छ । 
ग. पूर्ण रुपमा ढलान नगर्ने : सडक पेटी, आँगनहरु, ढल निर्माण गर्दा ठाउँ ठाउँमा जमिनमा ढलान नगरी खाली ठाउँ छोड्ने जसबाट जमिनले पानी सोच्ने गर्दछ । 
घ. सिमसार क्षेत्रको संरक्षण गर्ने : सिमसारक्षेत्रले पानीको बहाबलाई नियन्त्रण गर्ने काम गर्दछ । 
ङ. रिचार्ज पोखरी : खुला जमिनमा पोखरी निर्माण गर्दापनि निश्चित समयको लागि पानीको बहाबलाई नियन्त्रण गर्दछ । हाम्रा परम्परगत पोखरीहरुको संरक्षण गर्नु पर्छ । 

यी क्रियाकलापबाट बाढी मात्र नियन्त्रण नभई, जमिन मुनिको पानी को सतह पनि बढाउने गर्दछ । तराईका जिल्लाहरुको पानीको मुख्य श्रोत भनेको भूमिगत जलभण्डार नै हो ।धरान उपमहानगरपालिकाले भर्खरै आफूले निर्माण गर्दा, यस्ता पानी जमिनमा  पठाउन मदत गर्ने  संरचना निर्माण गर्ने र आम धरानबासीलाई घर घरमा निर्माणगर्न अनुरोध गर्ने र प्रोत्सहान गर्ने नीति लिइ सकेको छ । तर यस्तो प्रयास एकव्यक्ति, समुह वा एउटा नगरपालिकाले मात्र गरेर पुग्दैन, यसका लागि यस क्षेत्रका सबै नगरपालिका, गाउँपालिकाहरुले समन्वय गरेर लागु गर्नु पर्दछ । यस्ता गतिविधिमा संलग्न घरहरुलाई प्रोत्सहान स्वरूप नक्सा पास गर्दा छुटको व्यबस्था नि गर्नु पर्दछ । त्यसै गरी अहिले भइरहेको सडक निर्माणको क्रममा साँघुरो पारिएको ढल निर्माण कार्यलाई पुनरावलोकन गर्नु पर्ने देखिन्छ । बाढीबाट हुने करौडौंको क्षतिबाट बच्चनको लागि सयको लगानीनै बुद्धिमतापूर्ण काम हुनेछ । दीर्घकालिन बाढी नियन्त्रण र जल सुरक्षाको लागि प्रयासको थालनी आजैबाट गर्नु पर्दछ । 

[email protected]

अनसन्धानकर्ता

साउथ एशिया इन्स्टिच्यटु अफ एड्भान्स्ड् स्टडीज    (सियास)

तपाईँको मत