कला

इद मुबारक

सन्दर्भ- इद–उल–अज्हा (बकर इद) पर्व २०८०

‘सधैँ भाग नलगाई सबै घरभित्र पस्थ्यो । आज किन तीन भाग लगाउनुभयो ?’ दश वर्षका इब्राहिमले बुबालाई प्रश्न गरे ।

सामुहिक विशेष नमाज पाठ गरेर फर्केपछि बुबाले खसी र भेडाको बली दिएका थिए र मासु तीन भाग लगाएका थिए । नयाँ परिधानमा छरछिमेका मानिसहरू रमाइरहेका थिए । हुनेखानेको अनुहार हरिलोभरिलो हुने नै भयो । हुँदाखानेहरूको अनुहारमा समेत मुस्कुराहट अँटाइनअँटाई थियो । सबैजसोका घरमा खसी, बोका, बाख्रा, राँगा, भैँसी, भेडा, ऊँटजस्ता चौपायाको बली दिइएको थियो । आफ्ना इष्टमित्रलाई घरमा बोलाएर मासुको परिकार खुवाई शुभकामना आदानप्रदान गरिँदै थियो । त्यसबेला दुःखपीडा मुस्लिम बस्तीबाटै कुलेलम ठोकेको प्रतीत हुन्थ्यो ।

‘छोरा, योे एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याएको हो ।’ बुबाको उत्तरले सन्तुष्ट नभएर इब्राहिमले प्रश्नको घोचो ठड्याइहाले– ‘खसी पनि हाम्रै, भेडा पनि आफ्नै । अरुलाई किन दिनुपर्ने !’

‘मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माण गर्न बाँडेर खानुपर्छ । यसले आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि गर्छ । यो हाम्रो मौलिक संस्कृति र परम्परा हो ।’ बुबाको गहकिलो कुरो बुझ्न नसकेर इब्राहिम ट्वाल्ल परे ।

त्यहीबेला निम्तो मान्न टुप्लुक्क आइपुगेका हरिप्रसादले थपे; ‘जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीचको हाम्रो यस एकताले नै राष्ट्रियता र राष्ट्रिय एकताको भावना प्रगाढ बन्छ । सबैलाई इद मुबारक !!!’

तपाईँको मत