गाउँ सहर

एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) ले भदौ १० गते गएको विनाशकारी भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड १ लाख आर्थिक सहयोग गरेको छ।

HIDCL ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग रकम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको हो। HIDCL का प्रवक्ता ऋषि पण्डितका अनुसार विपद्को समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यो सहयोगले प्रभावित समुदायको तत्कालीन मानवीय प्रतिकार्यमा योगदान पुर्‍याउनेछ।

बाढीका कारण रसुवा, नुवाकोटलगायत त्रिशूली नदी करिडोरमा जनधनको ठूलो क्षति भएको छ। जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचना, सडक, पुल र स्थानीय पूर्वाधारमा समेत गम्भीर असर परेको छ।

प्रवक्ता पण्डितले विपद्पछिको तत्कालीन राहतसँगै प्रभावित त्रिशूली करिडोरको शीघ्र पुनरुत्थान, पुनर्निर्माण तथा जलवायु उत्थानशील पुनर्स्थापनाका लागि दीर्घकालीन वित्त आवश्यक रहेको बताए।

यसै सन्दर्भमा HIDCL ले प्रभावित जलविद्युत् तथा ऊर्जा पूर्वाधारको पुनरुत्थानका लागि छुट्टै “त्रिशूली करिडोर पुनरुत्थान तथा उत्थानशीलता वित्तीय संरचना विकास गर्न अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

पण्डितका अनुसार उक्त वित्तीय संरचनामार्फत प्रभावित ऊर्जा तथा जलविद्युत् पूर्वाधारको पुनरुत्थानलाई शीघ्र र प्रभावकारी बनाउन सम्बन्धित निकाय तथा सरोकारवालासँग समन्वय गरिनेछ। त्रिशूली करिडोरको दीर्घकालीन पुनर्निर्माणलाई जलवायु उत्थानशील बनाउने दिशामा समेत HIDCL ले आवश्यक पहल गर्ने जनाएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत