माइतिघरमा किसानको प्रदर्शन, सिंहदरबारमा करार कर्मचारीको धर्ना
- गाउँ सहर संवाददाता
- ३१ असार बुधबार, २०८३ | १४:३६:०० मा प्रकाशित
काठमाडौं। उत्पादनको उचित मूल्य नपाएको भन्दै तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध प्रदर्शन गरेका छन्।
किसानहरूले सरकारले कृषि क्षेत्रलाई आवश्यक अनुदान, उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न नसकेको तथा आयातमुखी नीतिका कारण स्वदेशी किसान संकटमा परेको आरोप लगाए। प्रदर्शनका क्रममा उनीहरूले बिक्री हुन नसकेको गोलभेँडा सडकमै फाल्दै सरकारको कृषि नीतिप्रति असन्तुष्टि जनाए।
आन्दोलनरत किसानले गोलभेँडासहित अन्य तरकारीको न्यूनतम समर्थन मूल्य तोक्न, कृषि उत्पादनमा अनुदान वृद्धि गर्न, मल–बीउको सहज उपलब्धता सुनिश्चित गर्न, कृषि बीमा लागू गर्न, प्रत्येक वडामा शीत भण्डार (कोल्ड स्टोर) स्थापना गर्न तथा किसानमैत्री बजार व्यवस्थापन गर्न माग गरेका छन्। उनीहरूले "कृषि बीमा लागू गर", "एक वडा एक शीत भण्डार", "किसानलाई सही बजार व्यवस्थापन गर" लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
प्रदर्शनमा सहभागी किसान आकाश कार्कीले किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य नपाउँदा बिचौलियाले फाइदा उठाइरहेको बताए। सस्तो आयातित तरकारीका कारण नेपाली किसान प्रतिस्पर्धामा टिक्न नसकेको उनको भनाइ थियो।
उता, सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाएर आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि धर्ना दिएका छन्।
आन्दोलनरत कर्मचारीहरूले उक्त निर्णयले लामो समयदेखि करार सेवामा कार्यरत हजारौँ कर्मचारीको रोजगारी असुरक्षित हुने दाबी गर्दै निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। उनीहरूले आफ्नो सेवाको सुनिश्चितता गर्न तथा आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्न सरकारसँग आग्रह गरेका छन्।
बुधबार राजधानीमा किसान र करार कर्मचारीका छुट्टाछुट्टै आन्दोलनले कृषि क्षेत्रको समस्या र करार कर्मचारीको रोजगारी सुरक्षाको विषयलाई एकैदिन राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस