छोरा-छोरी विदेश पढ्न पठाउने बा-आमाको पीडा
- लक्ष्मीप्रसाद आचार्य
- १५ श्रावण बिहीबार, २०८२ | १२:१३:०० मा प्रकाशित

हाम्रो देशको लाखौं बाआमाको बिहान एकै किसिमको हुन्छ- पाँच बजे गाई दुहेर, खेततिर गोरु हाँक्दै, चिया नपिउँदै बच्चालाई विद्यालय पठाउने। आफ्ना सपनाको थैली च्यातेर, छोराछोरीका लागि नयाँ झोला किनिदिने। आफू चप्पल फाटेको लगाएर हिँड्ने, तर बच्चालाई जुत्तासहित स्कुल लैजाने। यो केवल दैनिकी होइन, यो हो त्यागको मन्दिर । जहाँ हरेक बा-आमाले एउटा आशिर्वाद झैँ दोहोर्याउँछन्, “हाम्रो सन्तान ठूलो बनून्।” तर अहिले त्यो "ठूलो बन्ने" सपना विदेशको टिकटसँग साटिन थालेको छ। प्लस टु सकेपछि हजारौं यूवाहरूको पहिलो सपना हुन्छ– “अब त विदेश जानुपर्छ!” त्यसबेला न उनीहरू बा-आमाको न्यानो मन सम्झन्छन्, न गाउँको बाटो, न देशको माटो।जब छोराले भन्यो– “मलाई अस्ट्रेलिया जानुछ,” त्यस दिन बुबाले आफ्नो जीवनको लालपुर्जा सम्झिए। आमाले आफ्ना गरगहना गन्न थालिन्। ऋणको चक्रमा पसेर, साहूको खुर्पेटोमा जीवन राखेर, एउटा सपना हवाईजहाजमा उडाइन्छ टाढाको आकाशमा। तर त्यो सपना कहिल्यै फिर्ता आउँदैन – न रकममा आउँछ, न सन्तानको स्पर्शमा।
छोरा–छोरीको जीवन विदेश पुगेपछि स्वतन्त्रता, पैसा र भौतिक सुखको संसारमा प्रवेश हुन्छ। न चाडो उठ भन्ने आमाको किच किच ! न बाबाको पढ भन्ने कच् कच् ! पी.आर., ग्रीन कार्ड, कार, फ्ल्याट अनि एकान्त र स्वतन्त्र जीवन- यिनै ‘सपना’ ९/१० मा पढ्दा खेरि नै जन्मिदै जादारहेछन्। तर भित्रभित्रै एक मौनता हुन्छ — जुन न त अमेरिकाको पार्कले मेटाउँछ, न त अष्ट्रेलियाको ओसिलो समुद्रले। र त्यो मौनता त त्यतिबेला अझ बढ्छ, जब आफ्ना नानीबाबुहरू ‘नेपाल’लाई ‘फेरि कहिल्यै नखुल्ने कथा’ जस्तो बुझ्न थाल्छन्। बा-आमाका लागि सबैभन्दा खुसीको पल छोरा–छोरीको सफलता हो- जब उनीहरूले उच्च GPA ल्याउँछन्, जब छोरा अफिसर बन्छ। तर त्यो खुसी सस्तो पर्छ जब त्यही छोराले बा-आमाको बुढेसकालमा किड्नी फेल हुँदा, डरलाग्दो रोग लागेर थला परेको बेला पैसा त पठाउँछ तर आफैं टाढा बस्छ। त्यो पीडा झन् ठूलो हुन्छ जब छोरा–छोरी साथमा भएर कुरिरहँदा आधा बिमार निको भएको महसुस हुन्छ, तर बिडम्बना उनीहरूले एउटा ट्याक्सी ड्राइभरलाई आफ्नो जीवनको सहारा बनाउनुपर्ने अवस्था आउँछ।
बुढेसकालमा हातको सहारा चाहिन्छ, मुटुको स्पर्श चाहिन्छ, छोराको काँध चाहिन्छ। तर त्यस्ता बाआमाले हाँस्दै यो सुन्नुपर्छ- त्यो छोराले एक दिन फोन गर्छ- “बाबा, पैसा पठाएको छु, औषधी किन्नुहोला।” तर बुबाले चाहेको औषधी त्यो थिएन- उनले चाहेका थिए छोरोको काँध, आमाले चाहेकी थिइन् नातिको अँगालो।जब बा-आमा एक्लै मर्छन्, अनि छोरा सात समुद्रपारि उनको मृत्युको खबर सुन्छ, त्यो दिन आकाश रोइरहेको हुन्छ। तर अनुहार छुँदैन, आँखाबाट अश्रु झार्नेसम्मको अधिकार पनि पुग्दैन। र अन्ततः, जीवनको अन्त्यमा अस्पतालको मुर्दाघरमा कुरिरहन्छन्– छोरा आओस् भनेर– ताकि कम्तीमा आफ्नो अन्तिम संस्कार त सन्तानको हातबाट होस्। तर समयमै छोरा आएन भने? अन्तिम पटक छोएको अनुहार पनि फोटोमै सीमित रहन्छ। बाँकी रहन्छ- एक गहिरो पीडा, एउटा अन्तिम फोटो।
कल्पना गरौं त, जब छोराले उतै बिहे गर्छ र त्यहाँ नातिनातिनी जन्मिन्छन्, उनीहरूका लागि नेपाल केवल एउटा ‘टुरिजम क्षेत्र’ हुन्छ। दशैं, तिहार, माघे संक्रान्ति – माता तिर्थ औंसी, कुसे औंसी- सबै ‘इन्ष्टाग्राम/फेसबुक पोस्ट’ मा सीमित हुन्छन्। नातिनातिनी भन्छन्- “Oh wow Grandpa, do you speak English ?” त्यो बेला बुबाको मन भित्रभित्रै फुटिरहेको हुन्छ, तर हाँसेर भन्छन्- “हो, अलिकति।”यता बाआमालाई साहूले र बैंकको ब्याजले भोक र निन्द्रा हरण गरिरहेका हुन्छन्। आमा चाडपर्वमा चिटिक्क पारेर हिँड्ने मान्छे, अब भन्छिन्- “मलाई त गरगहना लाउने रहर नै मरेको छ।” बाहिर हाँस्छिन्, भित्र जलीरहेकी हुन्छिन्।
कहिले बुझ्ने? देश भनेको मात्र माटो होइन– यो हो युवाको जोश, संस्कारको ध्वनि, र बाआमाको सपना। जब देशका अस्पताल डाक्टरविहीन, विद्यालय शिक्षकविहीन, खेतहरू किसानविहीन, र गाउँहरू यूवा विहीन बन्छन्– त्यो बेलामा देशले आँसु झार्न थाल्छ। सपना पूरा गर्न हिँडेको बाटो, परिवार, संस्कृति र देशको चिहान बन्न पुग्छ। विदेश पलायनको यो लहरले केवल घर–परिवार मात्र होइन, देशको मेरुदण्ड नै खोक्रो बनाइरहेको छ।युवाहरू विदेश जाँदा त्यो केवल व्यक्तिगत निर्णय मात्र होइन– त्यो देशको रक्तस्राव हो। अब नीति बनोस्– जहाँ विदेश पढ्न जान सकिन्छ, तर फर्कने बाटो खुला रहोस्। अब शिक्षा दिनुहोस् – जसले देशमै अवसर देख्छ। अब रोजगारी सिर्जना होस्– जसले सपना आयात नगरी, स्वदेशमै उत्पादन गर्छ।
प्रिय छोराछोरी हो, तिमी विदेश जान चाहन्छौ भने जाउँ- तर एकपल्ट आमाको निधार छामेर सोच। ममताको शिरानी बनेकी आमाको अनुहार सम्झेर निर्णय गर। बुबाको झुसे कपाल सुम्सुम्याएर हेरेर सोच- तिमीले पछ्याउने सपना साँच्चिकै तिमीले रोजेको हो कि समाजले देखाएको आभास मात्र ? देशमै केही गर्न सकिन्छ। आफ्ना बा-आमाको हात समाएर, गाउँ फर्केर, देश बाँचाएर देखाउन सकिन्छ। बा-आमालाई आज पैसा हैन, तिमी नजिक चाहिएको छ। तिम्रो अनुपस्थितिमै बा-आमाले दम तोड्नुपर्यो भने, भविष्यमा मानिसले भन्न थाल्छन्- “सन्तान जन्माउनु भनेको दुर्भाग्य हो।”देश र डाँडाको जुनघाम भएका ती बाआमाको सपना अझ बाँकी छ- र त्यो सपनामा तिमी बिना अधुरो छ।
आज फर्कनुहोस्, नत्र भोलि फर्कँन खोज्दा देश बाँकी नहुन सक्छ। बाआमाका आत्माले तिमीले बाँचेको सुविधाजनक जीवनलाई सरापी रहेका हुनेछन् ।
प्रतिकृया दिनुहोस