पूर्वाधार

गौरवको आयोजना ६ वर्षदेखि अलपत्र

  • ८ जेठ बिहीबार, २०८२ | ०८:०४:०० मा प्रकाशित

पर्वत । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक गौरवको आयोजना’अन्तर्गत पर्वतको जलजलामा निर्माणाधीन सडक छ वर्षदेखि अलपत्र बनेपछि वैकिल्पक मार्ग बनाउन थालिएको छ । जलजला गाउँपालिका–७ मिलनचोकबाट सल्यान–घायखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक आयोजना छ वर्षदेखि अलपत्र बनेको हो । 

ठेकेदार कम्पनीले समयमा काम नगर्दा सडक अलपत्र बनेपछि स्थानीयले वैकिल्पक मार्ग खोल्न थालेका हुन् । उक्त खण्डअन्तर्गत मिलनचोकबाट सल्यानसम्मको तीन दशमलव ५०० मिटर गत वर्ष कालोपत्र भए पनि सोभन्दा माथिको सात दशमलव पाँच किलोमिटर सडक अलपत्र बनेको हो ।

धाइरिङ्गस्थित किराखोरमा बर्सेनि झर्ने पहिरोका कारण वर्षायाममा सडक पूर्णरूपमा क्षति हुने गरेकाले वैकिल्पक मार्ग निर्माण गर्न थालिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार पहिरो नपर्ने र बस्तीसमेत सुरक्षित हुने दिशातर्फबाट वैकिल्पक मार्ग खोलिएको छ । 

वैकल्पिक मार्गका रूपमा सल्यानबाट घायखेतसम्मको ट्राक परिवर्तन गर्न थालिएको अध्यक्ष आचार्यले बताए । ठेकेदारले समयमा काम नगर्दा किराखोर पहिरोमा बर्सेनि समस्या बढेपछि वैकल्पिक मार्ग खोली हाल स्तरोन्नतिको काम भइरहेको उनले जानकारी दिए । 

दुई किमी लामो सडकको नयाँ मार्ग जलजला गाउँपालिकाले आफ्नै लगानीमा खोलेको हो । सोही सडकमा चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट विनियोजित बजेटले स्तरोन्नति सुरु गरिएको आचार्यले बताए । टेवा पर्खाल लगाउने, ग्याबियन जाली भर्ने, घुम्ती सुधारलगायत काम भइरहेका जनाउँदै उनले स्तरोन्नति सम्पन्न भएपछि बाह्रै महिना यातायातको सुविधा पुग्ने उल्लेख गरे ।RSS

तपाईँको मत