शिक्षक भएनन् सरकारसँग आश्वस्त, भर्ना अभियान, पठनपाठन र परीक्षा बहिष्कारको घोषणा
- गाउँ सहर संवाददाता
- २ बैशाख मंगलबार, २०८२ | ०९:००:०० मा प्रकाशित

काठमाडाैं । विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरणलगायत शैक्षिक गतिविधिमा संलग्न हुनुपर्ने शिक्षकले भने १३ दिनदेखि जारी आन्दोलनलाई अझै कठोर बनाउने भएका छन् ।
सरकारले शैक्षिक सत्र २०८२ को भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र देशभरका विद्यालयलाई परिपत्र गरेपनि उनीहरू अवज्ञा गरेर काठमाडाैंमा आन्दोलन गरिरहेका छन् ।
नेपाल शिक्षक महासंघले सोमबार नयाँ वर्षको दिन पनि प्रदर्शन जारी राखेको छ । विद्यालय शिक्षा ऐन ल्याउन माग राख्दै आएका शिक्षकले नयाँ वर्षका दिन पनि काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गरे । उनीहरूको प्रदर्शनका कारण केही दिनयता उक्त क्षेत्रको सवारी आवागमनसमेत प्रभावित भइरहेको छ ।
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना गर्न देशभरका स्थानीय तह र विद्यालयलाई सरकारले गरेको सर्कुलर बहिष्कार गर्दै शिक्षक महासंघले भने माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको छ । महासंघले संसद्को वर्षे अधिवेशन तत्काल बोलाएर, विशेष अधिवेशन आह्वान गरेर वा अध्यादेशबाट शिक्षा ऐन ल्याउनुपर्ने अडान राखेको छ ।
ऐन जारी हुँदा सरकारले विगतमा महासंघसँग गरेको सहमति समावेश गर्नुपर्ने महासंघको माग छ । शैक्षिक हडतालसहितको शिक्षक आन्दोलनले ७० लाख बालबालिका सहभागी हुने विद्यार्थी भर्ना अभियान प्रभावित हुने भएको छ भने एसईईको उत्तरपुस्तिका परीक्षण पनि रोकिएको छ । आन्दोलन अझै केही दिन जारी रहे वैशाख ११ देखि हुने कक्षा १२ को परीक्षा पनि प्रभावित हुने छ ।
सोमबार साँझ बसेको महासंघ बैठकले विद्यार्थी भर्ना अभियानबाट शिक्षक अलग रहने, कक्षा १२ को परीक्षामा शिक्षक तथा कर्मचारी सहभागी नहुने र एसईईको उत्तरपुस्तिका परीक्षण पनि नगर्ने निर्णय गरेको आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले बताइन् ।
दुई पटकसम्म शिक्षा मन्त्रालयसँग संवाद छलफलमा बस्दासमेत माग पूरा गराउन गम्भीर नदेखिएकाले आन्दोलन थप चर्काउने निष्कर्षमा पुगेको महासंघले जनाएको छ ।
शिक्षा मन्त्रालयको तथ्यांकअनुसार प्रारम्भिक बालविकासको अनुभवसहित कक्षा १ मा भर्ना हुने बालबालिका ७६ प्रतिशत रहेका छन् । आधारभूत तहको भर्नादर ९४ र माध्यमिक तहको भर्नादर ५६ प्रतिशत रहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न ७ सय ५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ ।
शिक्षकहरूले चैत २० बाट काठमाडौंकेन्द्रित सडक आन्दोलन थालेका हुन् । शिक्षा मन्त्रालयसँग गत साता भएको छलफलमा उनीहरूले माग पूरा गर्न २४ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । स्थानीय तह मातहत नबस्ने मुख्य मागलाई संविधान संशोधनका बेला उठान गर्ने सर्तसहित उनीहरूले ध्यानाकर्षण पत्र बुझाएका हुन् । शिक्षक सेवा सुविधा, स्थायित्व, बढुवा, मर्यादाक्रमलगायतका विषय अहिले मुख्य मागका रूपमा रहेका छन् । सरकारले भने शिक्षकको माग पूरा गर्न अर्बौं आर्थिक दायित्व थप हुने बताउँदै राज्य कोषले धान्न नसक्ने जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस