बीपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब लाग्ने तर सरकारसँग छैन पैसा
- गाउँ सहर संवाददाता
- २१ पौष आइतबार, २०८१ | ०६:३२:०० मा प्रकाशित

काभ्रेपलाञ्चोक । गत असोजमा आएको बाढी र पहिरोले बीपीराजमार्गको विभिन्न सडकखण्डमा ठूलाे क्षति भएको छ । जसको पुनर्निर्माणका लागि करिब रु नौ अर्ब ६६ करोड हुने भएको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बीपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो ।
उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगासम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको छ ।
कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार उक्त सडकमा तीन किसिमका पर्खाल (आरसीसी रिटेनिङ, प्लम र गेभियन वाल) लगाउनुपर्ने अध्ययनबाट देखिएको छ ।
“अध्ययनबाट केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखिए पनि पुल बनाउने कि पर्खाल लगाउने भन्नेबारे छलफलपछि निष्कर्ष निकालिनेछ”, उनले भने । प्रमुख योगेशका अनुसार खोलाको बाढी आउन सक्ने ठाउँमा आरसीसी वाल लगाउनुपर्ने देखिएको छ भने कतै प्लम वाल र कतै गेभियन वाल लगाउनुपर्ने अध्ययनले देखाएको छ ।
क्षतिग्रस्त सडक पुनर्निर्माण गर्न स्रोत सुनिश्चितताको पर्खाइमा रहेको प्रमुख योगेश बताउँछन् ।
“सडकखण्ड पुनर्निर्माण गर्न गरिएको अध्ययनअनुसार लाग्ने लागतको स्रोत सुनिश्चित भएको छैन । दातृ निकाय तथा नेपाल सरकारबाटै स्रोत सुनिश्चित भएपछि ठेक्का खोल्ने प्रक्रियातिर लाग्छौँ”, उनले भने ।
राजमार्गको भत्किएको खण्ड पुनर्निर्माणका विषयमा जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले गत कात्तिक दोस्रो साता अध्ययन गरेको थियो ।
उक्त राजमार्ग पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुुता युताकासँग छलफल गरेका थिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जाईकासँग उक्त सडकखण्ड पुनर्निर्माणका लागि सहयोगको प्रस्ताव गरिसकेको छ । मन्त्रालय जाईकाको प्रतिवेदन र जवाफको पर्खाइमा छ ।
मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् व्यवस्थापन कोषमा रहेको बजेट माग गर्ने तयारी छ ।
दातृ निकायहरू एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकको सहुलियतपूर्ण ऋण लिएर भए पनि राजमार्ग पुनर्निर्माणको तयारी छ । सचिव शर्मा आगामी फागुनसम्ममा ठेक्का प्रक्रिया अघि बढाउने तयारी छ ।
पुनर्निर्माणका लागि स्रोत सुनिश्चित लम्बिए आउने वर्षको वर्षामा यातायात सञ्चालनमा कठिनाइ ब्यहोर्नुपर्ने प्रमुख योगेशले बताए । उनले भने, “हाल स्रोत सुनिश्चित भएको भए काम सुरु गर्थ्यौं अब ढिला भयो भने वर्षाभरि यातायात सञ्चालन नहुन पनि सक्छ ।”
उनका अनुसार पूर्ण रूपमा सडक पुनर्निर्माण गर्न कम्तीमा दुई वर्ष लाग्छ ।
बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त छ ।
बाढीपहिरोले अवरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखि नै साँझ ६ बजेदेखि १० घण्टा (रातको समय) यातायात सञ्चालमामा रोक लगाउँदै आएको छ ।
राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको हो ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो ।
खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
जाइकाले उक्त राजमार्ग निर्माण गर्दा प्रतिकिमी रु ३५ करोड लागत थियो । २०७२ सालको भूकम्पमा करिब ५ स्थानमा यो सडक भासिएको थियो । त्यतिबेला जापान सरकारले १८ महिना लगाएर पुनर्निर्माण गरिदिएको थियो । RSS

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस