दृष्‍टिकोण

प्रधानमन्त्रीलाई चिठी : ‘लोकतन्त्र, विकास र जिम्मेवार नेतृत्वको माग’

श्रीमान् प्रधानमन्त्री केपी शर्मा ओलीज्यू,

तपाईंले पटक-पटक गरेका निर्णय र अभिव्यक्तिहरूले हामी नेपालीलाई गम्भीर सोच्न बाध्य बनाएको छ। म यो पत्रमार्फत्, तपाईंको नेतृत्वमा देखिएका केही क्रियाकलाप र पछिल्ला घटनाहरूलाई उठाउन चाहन्छु। तपाईंलाई यसमा सोच्न र आत्मविश्लेषण गर्न आग्रह गर्दछु।

भीम रावलजस्तो नेता, जसले जीवनभर विचारधारा र राष्ट्रिय स्वाभिमानको पक्षमा अडान लिए, उहाँलाई पार्टीबाट निष्कासित गर्नु लोकतन्त्रको चीरहरण मात्र होइन, एमाले पार्टीको विचार र मूल्यमा ठूलो चोट हो। रावलजस्तो योग्य, त्यागी, र राष्ट्रवादी नेतालाई निष्कासन गरेर तपाईंले पार्टीलाई अधिनायकवादी संस्थाको रूपमा ढाल्नुभएको प्रमाणित गरेको छ। भीम रावलमाथिको यो अन्याय एमालेको मात्र होइन, सम्पूर्ण लोकतान्त्रिक प्रक्रियामाथिको प्रहार हो। पार्टीभित्र आलोचनात्मक आवाज र स्वस्थ प्रतिस्पर्धाको संस्कार समाप्त गर्नु, पार्टीलाई तपाईंको व्यक्तिगत गुट र स्वार्थको यन्त्र बनाउनु, र सत्यलाई दबाउने प्रयास गर्नु भनेको तपाईंको नेतृत्वको खतरनाक दिशा देखाउँछ।

प्रधानमन्त्रीज्यू, पार्टी भनेको विचार र मूल्यमा आधारित संस्था हो। तर, तपाईंले यसलाई व्यक्तिवादी र स्वार्थी गुटमा परिवर्तन गर्नुभएको छ। यो प्रवृत्ति एमालेको भविष्यका लागि मात्र होइन, देशको लोकतान्त्रिक स्थायित्वका लागि पनि खतरा हो। भीम रावलजस्ता नेताको अडान र विचारधाराको योगदान नेपाली राजनीतिको इतिहासमा सधैं जीवित रहनेछ, तर तपाईंको यो अधिनायकवादी शैलीले पार्टी र देशलाई कहाँ पुर्‍याउँछ, त्यो सोच्ने समय आएको छ।

अब म अर्को गम्भीर विषयतर्फ आउँछु— रवि लामिछानेप्रति राज्यको व्यवहार। उनले नयाँ सोच र दृष्टिकोणसहित राजनीतिमा आएका युवाहरूलाई आशा र भरोसा दिलाएका थिए। तर, उहाँप्रति राज्यको प्रतिशोधपूर्ण रवैया देखिन्छ। एक नेताको आलोचना गर्नु, प्रश्न उठाउनु, र नेतृत्वलाई सशक्त रूपमा चुनौती दिनु लोकतन्त्रको अभिन्न पाटो हो। तर, यस्तो आलोचनात्मक आवाजलाई दमन गरेर तपाईंले लोकतन्त्रलाई कमजोर बनाउनुभयो। रवि लामिछानेजस्ता नेतालाई किन राजनीतिक रूपले असफल बनाउन खोजिएको हो? के यो लोकतन्त्रका लागि शुभ संकेत हो?

प्रधानमन्त्रीज्यू, तपाईंको सरकारको प्राथमिकताहरू असंवेदनशील र उद्देश्यहीन देखिन्छन्। जलवायु परिवर्तनको चपेटामा परेको नेपालमा हिमालको हिउँ पग्लिँदैछ, नदीहरू सुक्दैछन्, र हिमाली बासिन्दाहरू आफ्नो अस्तित्व जोगाउन संघर्ष गरिरहेका छन्। तर, सरकारको ध्यान न त यो संकटप्रति छ, न त हाम्रो जैविक विविधताको संरक्षणप्रति। बरु तपाईं "बाघ उपहार दिने" जस्ता हावादारी गफ गर्दै हुनुहुन्छ।

तपाईंको अभिव्यक्ति केवल गैरजिम्मेवार मात्र होइन, यसले सरकारको नीतिगत संवेदनशीलताको अभावलाई प्रस्ट पारेको छ। नेपाल जस्तो जैविक विविधताले सम्पन्न देशका लागि बाघ, जङ्गल, र पर्यावरण केवल सजावटका वस्तु होइनन्। यिनले जलवायु सन्तुलनमा निर्णायक भूमिका खेल्छन्। बाघहरू उपहारमा दिएर जङ्गल रित्तो बनाउने कुरा गर्नु गम्भीर नीति-स्तरको चूक हो। जलवायु परिवर्तनले प्रभावित देशमा सरकारले पर्यावरणीय संकटप्रति संवेदनशीलता देखाउनुपर्नेमा, तपाईं जस्ता नेताबाट यस्तो गैर-जिम्मेवार टिप्पणी आउनु लज्जास्पद हो।

प्रधानमन्त्रीज्यू, औद्योगिक क्षेत्रको पतन र त्यसले निम्त्याएको बेरोजगारीको समस्या अझै चर्को छ। राजा महेन्द्रले निर्माण गरेका औद्योगिक पूर्वाधारहरू, जस्तै हेटौंडा कपडा उद्योग, विराटनगर जुट मिल, र जनकपुर चुरोट कारखाना, निजीकरणको नाममा बेचेर समाप्त गरिए। यी उद्योगहरूले लाखौंलाई रोजगारी दिएका थिए। अब ती सबै समाप्त भएका छन्, र देशको युवा शक्ति विदेशिन बाध्य छ। तपाईंको सरकारले देशभित्र रोजगारीका अवसर सिर्जना गर्न नसक्नु भनेको नेतृत्वको असफलता हो। गाउँहरू रित्तो हुनु, तराईमा बुढेसकालले मात्रै भरिनु, र देशको उत्पादनशील जनशक्ति विदेशमा पसिना बगाउनु, यो हाम्रो राष्ट्रिय असफलताको तस्वीर हो।

तपाईंको सरकार र पार्टीभित्रको अधिनायकवादी शैलीले देशको राजनीतिमा गम्भीर प्रश्न खडा गरेको छ। सत्ता र शक्तिको दुरुपयोगले तपाईंको नेतृत्वको गाम्भीर्यलाई कमजोर बनाउँदैछ। अब तपाईंलाई निर्णय लिनुपर्ने समय आएको छ— तपाईं इतिहासमा अधिनायकवादी प्रवृत्तिको नेता बन्न चाहनुहुन्छ कि देशलाई सही दिशामा अघि बढाउने परिवर्तनकारी नेता?

तपाईंको नेतृत्वले देशलाई कुन दिशामा लैजाने हो, त्यो तपाईंको वर्तमान कदमले निर्धारण गर्नेछ। अब पनि तपाईंले जिम्मेवारीपूर्वक काम गर्नुभएन भने, नेपालको भविष्यको लागि यो विनाशकारी हुनेछ। जलवायु परिवर्तनको समस्या, बेरोजगारी, औद्योगिक पतन, र लोकतान्त्रिक मूल्यहरूको क्षयका यी सबै विषयमा अब गम्भीरता अपनाउन ढिला भइसकेको छ।

यो पत्र कुनै व्यक्तिगत आक्षेप होइन, यो देश र लोकतन्त्रको हितका लागि गरिएको गम्भीर आग्रह हो। देशका सबै योग्य नेताहरूलाई सम्मान दिनुस्, आलोचनात्मक आवाजलाई दबाउन खोज्नुस्, र नेपालको भविष्यको लागि समर्पित भएर काम गर्नुस्।

तपाईँको मत