गाउँ सहर

बीआरआई सम्बन्धी दलैपिच्छेका अडान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको हुन लागेको चीन भ्रमणका क्रममा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ परियोजनाको कार्यान्वयन योजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने विषयमा दलहरूले आ-आफ्नै मतबाट राखिरहेका छन् जसले गर्दा विभाजित भएका छन् ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई अनुदानमा अघि बढाउनुपर्ने बताएका छन् । सोमबार जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले बीआरआईलाई ऋणमा नभइ अनुदानमा अघि बढाउनुपर्ने पार्टीको निर्णय रहेको बताएका हुन् । 

उनले भारतका साथै चीन पनि मित्रराष्ट्र भएकाले प्रधानमन्त्री चीन भ्रमणमा जानु सकारात्मक कुरा भएको धारणा राखे । प्रधानमन्त्री चीन भ्रमण सफल हुने देउवाको विश्वास छ । उनले अहिलेको सरकारलाई सहज रुपमा अघि बढाउन कांग्रेसको पूर्ण साथ र समर्थन रहेको स्पष्ट पारे ।

ओलीले चीन भ्रमणबारे सुझाव लिन पूर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँगको छलफलमा कांग्रेसले बीआरआई कार्यान्वयनमा सम्झौता गर्न नहुने धारणा राखेको छ भने माओवादी केन्द्र, एकीकृत समाजवादीले बीआरआई परियोजना सम्झौता गर्नुपर्ने सुझाव दिएको छ ।

बैठककको सुरुमै प्रधानमन्त्री ओलीले बीआरआई कार्यान्वयनलगायत अन्य गर्नुपर्ने सहमति, सम्झौताबारे सुझाव मागेका थिए । उनले ठूलो विवाद हुने गरी आफूले नयाँ सम्झोता नगर्ने उल्लेख गर्दै मुलुकको हित हुनेगरी भ्रमणको गृहकार्य भइरहेको बताए ।

बैठकमा सहभागी माओवादी वरिष्ठ उपाध्य एवं पूर्व परराष्ट्रपति नारायणकाजी श्रेष्ठले बीआरआई परियोजना अघि बढाउने विषयमा अनुदान वा सफ्ट लोनको विवादमा अल्झिएर यसको कार्यान्वयन सम्झौता रोक्न नहुने पार्टीले सुझाव दिएको बताए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि ऋण लिँदै नलिने विवादकमा कारण मुलुकको हितमा हुने सम्झौता गर्नबाट पछि हट्न नहुने सुझाव दिएका थिए ।

कांग्रेस नेता एवं पूर्व परराष्ट्रमन्त्री एनपी साउदले हाल बीआरआई परियोजना कार्यान्वयन सम्झौता गर्न नहुने धारणा राखेको एक सहभागीले बताए । ‘कांग्रेसका पूर्व परराष्ट्रमन्त्रीले एक्कासी बीआरआई कार्यान्वयन परियोजनामा सम्झौता गर्न नहुने धारणा आयो,’ ती नेताले भने ।

सत्ता गठबन्धन कांग्रेस र एमालेबीच बीआरआई परियोजना अघि बढाउनेबारे अझै सहमति हुन बाँकी छ । ओलीले मंसिर १७ देखि चीनको औपचारिक भ्रमण गर्दैछन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत