गाउँ सहर

जसले विदेश पठाइदिने भन्दै ३ सय जनाबाट १५ करोड ठगी गरे

काठमाडौं । वैदेशिक रोजगारीका लागि कम्बोडिया,न्युजिल्याण्ड,फ्रान्सलगायत देशहरूमा पठाइदिने भन्दै ३०० जनाबाट १५ करोड ठगी गर्ने गिरोहका तीनजना पक्राउ परेका छन्।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा चितवन भरतपुर- १८ का २८ वर्षीय राजकुमार भट्ट ,कास्की पोखरा महानगरपालिका-८का २३ वर्षीय पवन पन्त र कास्की माछापुच्छ्रे गाउँपालिका- ८ का २२ वर्षीय नविक विक रहेका छन्।

उनीहरूले फेसबुक,म्यासेन्जर,ह्वाट्सअपलगायत सामाजिक सञ्जालमा रविन आले मगर, मनोज जंग थापा र महेश थापा लगायतका फेक आइड प्रयोग गरी नेपालीहरूलाई वैदेशिक रोजगारी कम्बोडिया,न्युजिल्याण्ड,फ्रान्सलगायत देशहरूमा पठाइदिने भनि आकर्षक तलब,भत्तासहितको विज्ञापन सार्वजनिक गरी सम्पर्कमा आएका व्यक्तिहरूलाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाएको खुल्न आएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

प्रहरी निरीक्षक रेग्मीका अनुसार पक्राउ परेकाविरुद्ध खातामा जम्मा हुन आएको रकम चेक मार्फत् निकाल्न लगाइ निजले भनेबमोजिमका मानिसलाई भेटेर नगद दिन लगाइ तथा विभिन्न खाताहरूमा ट्रान्जेक्सन गराइ ठगी गरेको भन्दै १५ जनाले उजुरी दिएका थिए।

विदेश जान चाहने मानिसहरूले सुरुमा केही रकम जम्मा गरिदिएपछि प्रोसेसिङ भइरहेको छ भन्ने विश्वास दिलाउन निजहरूको नाम राखी फेक भीसा,वर्क परमिट,होटल बुकिङ,पुलिस रिपोर्ट लगायतका कागजातहरू अनलाइनबाट पठाइ टिकट र डल साट्न थप रकम चाहिने भनि प्रतिव्यक्तिबाट ५ देखि १० लाखसम्म रकम ठगी गरी त्यो व्यक्तिबाट सम्पर्कविहीन हुने गरेको अनुसन्धानबाट खुलेको छ।

कम्पनीमा लेखापाल (कर्मचारी) को काम दिन्छु भनि बैंक खाता प्रयोग भएका सुनबहादुर बुढा, राजु कुमार बस्नेत, प्रभाकर भट्टराई, हरि बहादुर कामी, शेर बहादुर तामाङ, राजेश श्रेष्ठलगायतमाथि  वैदेशिक रोजगार विभागबाट अनुसन्धान भई वैदेशिक रोजगार भुक्तान गरी कतिपय छुटि र राज कुमार बस्नेत हाल पनि कारागारमै रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

उक्त गिरोहले विगत ३/४ वर्षदेखि नेपालबाट ३० जनाभन्दा बढि व्यक्तिलाई विदेश पठाइदिने भन्दै प्रतिव्यक्तिबाट ५ देखि १० लाखका दरले हालसम्म १५ करोडभन्दा बढि रकम ठगी गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत