गाउँ सहर

लायन्सको मल्टिपल काउन्सिल चेयरपर्सनमा रमेशकुमार लामा निर्वाचित

काठमाडाैं । लायन्स क्लब अन्तर्राष्ट्रिय, मल्टिपल डिष्ट्रीक्ट ३२५, नेपालको वर्ष २०२४/०२५ को काउन्सिल चेयरपर्सन (नेपालको केन्द्रीय समितिको अध्यक्ष) मा लायन रमेशकुमार लामा निर्वाचित भएका छन् । 

शुक्रबार (२४ मे, २०२४ अर्थात २०८१ जेष्ठ ११ गते) होटेल यल्लो प्यागौडा, कान्तिपथमा भएको निर्वाचनमा लायन्स क्लब अन्तरास्ट्रिय, डिष्ट्रीक्ट ३२५ 'डि' का वर्ष २०२३/०२४ का गभर्नर लामा निर्वाचित भएका हुन् ।  

त्यसै गरि उपाध्यक्षमा लायन मिलन थापा (३२५ 'जे'), सचिवमा लायन टासी डोल्मा (३२५ 'एस'), कोषाध्यक्षमा शंकरकुमार सारडा (३२५ 'एफ') र सहसचिवमा लायन बिनोदकुमार श्रेष्ठ (३२५ 'एन') निर्वाचित भएका छन् ।

यसको वार्षिक अधिवेशन २५ मे २०२४ अर्थात जेष्ठ १२ गते प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको थियाे ।

लायन रमेशकुमार लामाको गभर्नर पदको कार्यकाल ३० जुनका दिन समापन हुँदैछ त्यसलगतै जुलाई १ देखि काउन्सिल चेयरपर्सनको पदावधि शुरु हुनेछ ।

लायन्स क्लब अफ काठमाडौं राइजिङ्गसन मार्फत सन २००५ देखि लायन्स क्लबको सदस्य बनेका लामा २००८/०९ मा उक्त क्लबको अध्यक्ष भइ उत्कृष्ट कार्यहरु समेत गर्दै डिष्टृक्टको विभिन्न जिम्मेवारी पूरा गर्दै २०२३ मा वर्ष २०२३/०२४ का लागि गभर्नर पदमा निर्वाचित भएका थिए ।

लायन लामा सक्रिय सामाजिक सेवा समर्पित व्यक्तिकाे रूपमा चिनिन्छन् । 

यस वर्ष उनको नेतृत्वमा  दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा गत श्रावण महिनामा गएको पहिरो प्रभावित ६३ घर परिवारका लागि लायन्स  अन्तर्राष्ट्रियबाट १५ लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामाग्री वितरण गरिएको थियो भने काठमाडौंको चुच्चेपाटीमा अवस्थित स्तुपा सामुदायिक अस्पतालमा नि:शुल्क किड्नी डायलाइसिस सेवा उपलब्ध गराउने हेतुले १ लाख डलरको परियोजना स्वीकृत भइ स्थापनाको प्रक्रियामा गएको छ ।

त्यस्तै गरि  समुदायको आवश्यकता अनुसार डिष्ट्रीक्टका क्लबहरूद्वारा १५ सय भन्दा बढी सेवाका कार्यहरु मार्फत करिव ४ लाख सहयोगापेक्षी व्यक्तिहरुलाई सेवा उपलब्ध गराएका छन् ।

सन १९१७ मा अमेरिकामा स्थापना भएको लायन्स क्लब, नेपालमा भने १९७१ मा विधिवत स्थापना भइ सन २०२२ जुलाई १ देखि सिङ्गो नेपाललाई १५ वटा प्रशासनिक डिष्ट्रीक्ट (जिल्ला) मा विभाजन गरिएको छ । प्रत्येक डिष्ट्रीक्टको प्रमुखको रुपमा डिष्ट्रीक्ट गभर्नर रहने व्यवस्था रहेको छ । हालसम्म नेपालमा करिब ४५ हजार जना भन्दा बढि लायन सदस्यहरु रहेका छन् । 

"हामी सेवा गर्छौं" भन्ने मूल उद्देश्य बोकेको लायन्स क्लबले विभिन्न परियोजनाहरुमार्फत नेपालमा मानवीय सेवाको क्षेत्रमा थुप्रै कार्यहरु गर्दै आइरहेको छ । 

यस वर्ष मात्रै १५ वटा ठूला र १२ वटा साना परियोजनाहरु मार्फत करिब २७ लाख डलर भन्दा बढी रकम नेपालमा स्वीकृत भइ सम्पन्न हुने चरणमा छन भने भूकम्प, बाढी पहिरो, आगलागी अनि महामारीको बेलामा नेपालका कुना काप्चाहरुमा लायन्स क्लबका स्वयंसेवी सदस्यहरु मानवीय सेवाका कार्यमा सदा अग्रपंक्तिमा रहेको देखिन्छ ।

लामाले आफ्नो पेशा, व्यवसायलाई पहिलो प्राथमिकतामा राखेर आफूले कमाएको केही अंश लायनवाद मार्फत गरिने समाजसेवाका हातहरू पछिल्ला दिनमा फैलदै गएकाे बताए । 

गाउँ सहर संवाददाता

तपाईँको मत