राजनीति

राष्ट्रियसभा उपाध्यक्षमा घिमिरे र पुडासैनीको उमेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदका निम्ति मंगलबार दुईजनाको उमेदवारी दर्ता गरिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा नेकपा (एमाले)की विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीको उमेदवारी दर्ता गरिएको हो ।

सत्ता गठबन्धनका तर्फबाट उमेदवारी दिएकी घिमिरेको प्रस्तावकमा राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपाने छिन् । समर्थकमा नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामी रहेका छन् । उनी ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी हुन् । उनको कार्यकाल दुई वर्ष बाँकी छ ।

कांग्रेसकी उमेदवार पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् । पुडासैनी गएको माघमा भएको निर्वाचनबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् । महिला क्लस्टरका सातजनामध्ये वाग्मती प्रदेशबाट उनी निर्वाचित भएकी हुन् । पुडासैनी ७३ वर्षीया सांसद हुन् ।

०३३ सालमा पद्मकन्या क्याम्पसमा पढ्दादेखि नै उनी राजनीतिमा सक्रिय भएकी थिइन् । ०४९ सालमा उनी काठमाडौंको तत्कालीन भद्रबास गाविसको अध्यक्षमा निर्वाचित भएकी थिइन्  ।

गाउँ सहर संवाददाता

तपाईँको मत