खेल

नेपालले जित्याे एसएमएस फ्रेन्डशिप कपको उपाधि

काठमाडौं । गुजरातलाई हराउँदै नेपालले एसएमएस फ्रेन्डशिप कपको उपाधि जितेकाे छ । वापीमा भएको फाइनल खेलमा घरेलु टोली गुजरात माथि १८ रनको जित हासिल गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालले दिएको १७७ रनको बलियो लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्र बनाउन सक्यो ।

गुजरातका लागि कप्तान उमङ्ग रोहित कुमारले २८ बलमा सर्वाधिक ४० रन जोड्न सफल भए । यस्तै आर्य देसाईले २४ बलमा ३६ रन बनाए । रुद्र मयूर पटेलले १७ रन बनाए भने जयमित पटेलले १५ रन जोडे ।

नेपालका लागि अविनाश बोहोराले ३ तथा दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । यस्तै करन किसी र कुशल मल्लले समान १-१ विकेट लिए ।

त्यसअघि गुजरातको वापीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ७४ रन बनाए ।

नेपालको सुरुवात केही सुस्त रहेको थियो । पाँचौं ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल २१ बलमा १९ रन बनाएर शेन पटेलको बलमा बोल्ड भएका थिए । उनी आउट हुँदा टोलीको स्कोर २१ रन रहेको थियो ।

दोस्रो विकेट भने १५औं ओभरमा खसेको थियो । कप्तान रोहित पौडेलसँगको ७७ रनको साझेदारी पछि आशिफ शेख ३४ बलमा ३४ रन प्रहार गर्दै जाला युवराज सिंहको बलमा आउट हुदै पेभेलियन फर्किए ।

तेस्रो विकेटका रुपमा रोहित तेजश पटेलको बलमा १९औं ओभरमा आउट भएका थिए । दीपेन्द्र सिंह ऐरी अन्तिम ओभरमा ३ बलमा ७ रन बनाएर जयमित पटेलको बलमा क्याच आउट भए ।

कुशल मल्ल १३ बलमा ३१ रन बनाएर अविजित रहे भने अर्को तिर सन्दिप जोरा ३ बलमा ७ रन बनाएर नटआउट रहे । गुजरातका लागि शेन पटेल, तेजश पटेल, जाला युवराज सिंह र जयमित पटेलले समान १-१ विकेट लिए ।

नेपालले लिग चरणमा ४ मध्य ३ खेल जित्दै फाइनल प्रवेश गरेको हो । अन्तिम खेलमा बरोडा विरुद्ध हार बेहोर्नु अघि नै नेपालले फाइनलमा आफ्नो स्थान बनाइसकेको थियो । गुजरात भने ४ खेलमा २ जित सहित फाइनल प्रवेश गरेको हो । आजको खेल ओमानमा हुने प्रिमियर कप अघि नेपालका लागि अन्तिम खेल रहेको थियो ।

नेपाली टोली भारतबाट सिधै ओमान तर्फ प्रस्थान गर्नेछ । प्रिमियर कपमा नेपाल रहेको समूहमा मलेसिया, हंगकंग, साउदी अरेबिया र कतार रहेका छन् । नेपालले अप्रिल १२ मा मलेसिया, अप्रिल १३मा कतार, अप्रिल १५ मा हंगकंग र अप्रिल १७ मा साउदी अरेबियाको सामना गर्नेछ । समूहको शीर्ष दुई टोलीले सेमीफाइनल खेल्नेछन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत