खेल

अर्जुनको शतकका बाबजुद नेपाल ‘ए’ पराजित, आयरल्यान्ड वल्भ्सले तीनै खेल जित्याे

काठमाडौं । युवा ओपनर अर्जुन कुमालको शतकका बाबजुद नेपाल ‘ए’ एकदिवसीय सिरिजको अन्तिम खेलमा पनि आयरल्यान्ड वल्भ्ससँग ६९ रनले पराजित भएको छ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वल्भ्सले प्रस्तुत गरेको २ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ‘ए’ ले ४० औं ओभरमा अलआउट हुँदै २ सय १५ रन जोड्यो । राम्रो सुरुवात गरेपनि मध्यक्रममा अनुभवी ब्याटरहरुले निराशाजनक प्रदर्शन गर्दा नेपाल ‘ए’ पराजित हुन पुग्यो ।

यससँगै वल्भ्सले सिरिज ३-० ले क्लिन स्विप गर्यो । वल्भ्सले पहिलो खेल २१ रन र दोस्रो खेल १ सय १४ रनले जितेको थियो ।

अर्जुन साउद र अर्जुन कुमालले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । अर्जुन १२ औं ओभरमा ३६ रन जोडेर आउट भए । ३० बलमा ४ चौका र ३ छक्का प्रहार गरेका उनी ह्वाइटको बलमा बोल्ड भए ।

तेस्रो नम्बरमा आएका देव खनाल १७ बलमा ११ रन जोड्दै म्याथ्यु फोस्टरबाट बोल्ड भए । नरेन भट्ट र अर्जुन कुमालले ५१ रनको साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर नरेन १५ रनमा ह्वाइटबाट बोल्ड भए । त्यसपछि नेपालले नियमित विकेट गुमायो ।

कप्तान विनोद भण्डारी मात्र ४ रनमा आउट भए । भीम सार्की पहिलो बलमै पेभेलियन फर्किए । अर्जुन पनि शतक पूरा गरेपछि आउट भए । उनी ३५ औं ओभरमा ह्वाइटलाई आक्रमण गर्ने धुनमा अघि बढ्दा स्टम्पिङ आउट भए ।

रिजन ढकाल खाता नखोली आउट हुँदा साहब आलमले ६ रनको योगदान दिए । वल्भ्सका लागि ह्वाइटले ५ विकेट लिए । ग्याभिन होएले ४ विकेट तथा म्याथ्यु फोस्टरले १ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको वल्भ्सले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन जोड्यो । ओपनर डोहनीले १ सय २९ बलमा १ सय ७ रनको योगदान दिए । उनले ४७ औं ओभरमा आउट हुनुअघि ८ चौका र २ छक्का प्रहार गरे ।

त्यसअघि ओपनर जेम्स मकलम ९ रन जोडेर विकास आग्रीको बलमा विकेटकिपरबाट समातिएका थिए । दोस्रो विकेटका लागि पिटर मुर र डोहनीले ६६ रनको साझेदारी गरे । मुरले २५ बलमा २ चौका र ५ छक्कासहित ४४ रनको विष्फोटक इनिङ खेले । उनी साहब आलमको बलमा बाउन्ड्रीनजिक समातिए ।

केड कार्माइकल १३ बलमा ८ रन जोड्दै रंजित कुमारको बलमा बोल्ड भए । मोर्गन टपीङ ३६ बलमा २ चौकासहित २१ रन जोड्दै रिजनको एलबीडब्लु धरापमा परे । कप्तान निल रक मात्र १ रन जोड्दै रिजनकै बलमा आउट भए ।

तल्लोक्रममा ग्याभिन होएले १० बलमा १४ रन जोडे । फिओन ह्यान्डले २१ बलमा २ चौका र १ छक्कासहित २० रन बनाए । म्याथ्यु हम्फ्रिजले अन्तिम बलमा रनआउट हुनुअघि ३४ बलमा २३ रन जोडे । बेन ह्वाइट १९ रनमा नटआउट रहे । उनले १२ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

नेपाल ए का लागि रिजन ढकाल र रंजित कुमारले ३-३ विकेट लिए । विकास आग्री र साहब आलमले १-१ विकेट बाँडे ।

वल्भ्सले यसअघि टि२० सिरिज २-१ ले जितेको थियो । 

गाउँ सहर संवाददाता

तपाईँको मत