पूर्वाधार

‘ब्रेक थ्रु’ को तयारी मधेशलाई सिँचाइ गर्ने सुनकोशी–मरिण डाइभर्सन सुरुङ

काठमाडाैं । सुनकोशी–मरिण डाइभर्सनमा सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । सुनकोशी–मरिण डाइभर्सन सुरुङको एक महिनाभित्र ‘ब्रेक थ्रु’ हुने भएको छ ।

१३ दशमलव ३ किमिमध्ये शनिबारसम्म १२ दशमलव ५१७ किमि सुरुङ निर्माण भएको छ । अब सुरुङको काम ७८३ मिटर बाँकी छ । यस आयोजनामा कमलामाई नगरपालिका–२ कुसुमटारदेखि सुनकोशी गाउँपालिका–७ कानढुंग्रीसम्म सुरुङ बनिरहेको हो । कानढुंग्रीमा पुगेपछि सुनकोशी नदी भेटिन्छ ।

०७९ असोज २८ बाट सुरु भएको सुरुङ खन्ने काममा ६ पटक अवरोध भएको थियो । सुरुङभित्र सुक्खा पहिरो खस्ने, लेदोसहित पाखै खस्ने हुँदा सुरुङ खन्ने टीबीएम मेसिन अगाडि बढ्न नसक्दा काम रोकिएको थियो । सुरुङ खन्न २२ महिनाको लक्ष्य लिइएकामा यही गतिमा गए ६ महिनाअगावै सम्पन्न हुने आयोजना प्रमुख मित्र बराल बताउँछन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले शनिबार आयोजनाको निरीक्षण गरेका छन् । सरकारले प्राथमिकतामा राखेको आयोजना भएकाले यसको काममा रकम अभाव हुन नदिइने उनको भनाइ छ ।

सुनकोशी–मरिण डाइभर्सन आयोजना चुरे र महाभारत क्षेत्रमा निर्माण भइरहेकाले भौगोलिक कठिनाइ उत्पन्न भएको आयोजना प्रमुख बरालले जनाए । ‘अब बाँकी सुरुङको काम महाभारत रेन्ज नै भएकाले समस्या उत्पन्न हुन सक्छ,’ उनले भने, ‘कुनै समस्या नआए एक महिनामा सुरुङको पहिलो चरणको काम सकिन्छ । त्यसपछि डेढ वर्ष परीक्षणकाल र उपचारको काम हुन्छ ।’ हालसम्म आयोजना निर्माणमा ११ अर्ब ९१ करोड १९ लाख खर्च भएको छ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड ३१ लाख छ । सुरुङ निर्माण, सुनकोशी नदीमा हेडवर्क्सको काम, सामाजिक काम र घर तथा जग्गा अधिग्रहणमा रकम खर्च भएको आयोजनाले जनाएको छ । आयोजना भौतिकतर्फ प्रगति २६.३८ र वित्तीय २४.१० प्रतिशत छ । यो समग्र आयोजनाको हो ।

०७७ फागुन २० मा कमलामाई नगरपालिका–२ कुसुमटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भई आयोजना निर्माण सुरु भएको हो । प्राप्त बजेटबाट सुरुङ निर्माणदेखि सुनकोशीमा बाँध निर्माण, विद्युत् गृह, सिँचाइ, सामाजिकलगायत काम भएको आयोजनाले जनाएको छ । सुनकोशी र तामाकोशीको संगमस्थलभन्दा ९ सय मिटर तल कानढुंग्रीमा सुनकोशीमा बाँध बाँध्न ठेक्का सम्झौता भई निर्माण व्यवसायीले काम सुरु गरेको छ ।

उच्च प्रविधिबाट ५ दशमलव ५ डायमिटरको सुरुङमार्गमा गुणस्तरीय सेग्मेन्ट प्रयोग भएको आयोजनामा कानढुंग्रीमा सुनकोशी नदीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिणखोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलव ०७ मेगावाट बिजुली पनि उत्पादन गरिने छ ।

सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) अहिले दैनिक सरदर ३५ मिटरदेखि ४० मिटरसम्म टनेल बोरिङ मेसिनले सुरुङ खनिरहेको छ । सुरुङ खन्न मात्रै चाइना ओभरसिज कम्पनी कोभेकले १० अर्ब ५ करोड ६८ लाख ३७ हजारमा ठेक्का पाएको थियो । १५ अर्ब ५९ करोड ४० लाख रुपैयाँको सुरुङ निर्माणको ठेक्का कोभेकले ३६ प्रतिशत घटेर लिएको हो । सुनकोशीमा बाँध निर्माणलगायत कामको १७ अर्ब ७५ करोडको ठेक्का रमण–पटेल जेभी उपक्रमले ३२ प्रतिशत घटेर १२ अर्बमा सकारेको छ । नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिणखोलामा खसाली मधेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै वाग्मती सिँचाइ आयोजनाका पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउनेछ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत