कला

लघुकथा : सबैको गुरू पेट !

छोरा मर्‍याे डिस्को घर, रस्क्सि बोतल फष्ट, बुढी आमा घरमा रून्छिन् पर्नुपर्‍याे कष्ट..!"

सानु बालखले यही गीत गाएर सारङ्गि रेट्दैथ्यो । त्यो सँगै एउटी सानि बालिका पनि सहयोगीको भुमिकामा थिई ।

बसभित्र बसेकामध्ये कसै-कसैले दया गरेर दश बीस रूपियाँ दिए होलान् । उनीहरू कोहलपुरबाट बसमा चढेका थिए । रमेशको मनमा उनीहरूलाई देखेर केही सोध्न मन लाग्यो ।

बस नेपालगञ्जमा अडियो; उनीहरू पनि बसबाट झरे ।रमेश पनि झर्‍याे ।

रमेशलाई भारत जानु थियो समय प्रशस्तै भएकोले झरेर तिनै बाबु नानी नजिकै गयो । "चिया खान्छौ बाबु ?" रमेशले सोध्यो ।

उनीहरू एकले अर्कातिर हेर्न थाले ।

आउ नास्ता गरौँ ! उनीहरू नास्ताको नाम सुनेपछि खुशि भए ।

भोका थिए होलान् । नजिकै पुडीको पसल थियो ।

रमेश बेञ्चमा बस्यो तर उनीहरू भुईँमा बस्न थाले । "माथि बस ! बाबु नानी, तिमीहरू त कलाकार हौ । कति सुन्दर गीत गाउँछौ । यो सारङ्गी पनि बजाउन जानेका रहेछौ ।

कस्ले सिकायो सारङ्गि बजाउँन ? रमेशले प्रसंसा गर्दै सोध्यो ।

अलि अलि बाले बजाएको देखेको थिएँ र आफैँ सिकेँ -उसले भन्यो ।

तिम्रा बा-आमाले के गर्छन् ? - रमेशले सानी नानीलाई नियाल्दै सोध्यो ।

"बाबा मर्नुभयो । आमाले हामीलाई छाडेर अन्तै जानुभयो " त्यो केटाको शब्दले रमेशको मन छोयो । ती भाई बहिनी परिस्थितीसँग सङ्घर्ष गर्दै थिए ।

"सबैको गुरू पेट नै हो  ।" रमेशले ती बालबालिकातिर क्षणभर हेरिरह्यो र मनैमन भन्यो ।

तपाईँको मत