गाउँ सहर

सकियाे एक महिना लामो स्वस्थानी व्रत

काठमाडौं । एक महिना लामो स्वस्थानी व्रत शनिबार समापन भएको छ ।

पौष शुक्ल पूर्णिमादेखि घर-घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गरिएको हो । यस्तै काठमाडौँको साँखु शाली नदीमा एक महिना लामो माधव नारायण व्रत पनि समापन भएको छ । यस वर्षको साँखुको एक महिना लामो स्वस्थानी व्रतमा सहभागी महिला र पुरुषले व्रत समापन गरेका हुन् ।

स्वस्थानी व्रत कथामा स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ महात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई भन्ने र सुन्ने गरिन्छ । विधिपूर्वक एक महिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता तथा विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र र भेटी चढाएर व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिने धार्मिक परम्परा छ ।

स्वस्थानी व्रत कथामा उल्लेख भएअनुसार एक महिनासम्म विधिपूर्वक स्वस्थानी माताको पूजा आराधना गरे श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । स्वस्थानीका व्रतालुले माधव नारायणको दर्शन नगरे व्रत पूरा नहुने र फल प्राप्त नहुने धार्मिक विश्वाससमेत छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत