कला

सहीद निवासमा प्रजातन्त्र दिवस

  • एमबी खड्का
  • ७ फाल्गुण सोमबार, २०८० | १३:३५:०० मा प्रकाशित

सहीद निवासमा प्रजातन्त्र दिवस
सत्तरी वर्ष कटेका प्रजातन्त्र बा
जेष्ठ नागरिक भत्ताको लाईनमा 
लौरोको सहारामा उभिरहेछन्
फाटेका ठाउँठाउँमा टालेका यादहरुलाई 
झोलामा कोचेर

शास्त्री टेकुतिर
धर्मभक्त माथेमा सिफलतिर
रुखको हाँगामा चढेर
बालुवाटारतिर फर्केर एकोहोरो 
टोल्हाईरहेका देखिन्छन्
दशरथ चन्द र गङ्गालाल 
शोभाभगवतीको पौराणिक 
चिहानमाथी बसेर
प्लेट भरी राखिएका 
बन्दुकका बासी गोलीहरु
चपाईरहेका छन् 

बा का दुई सन्तान 
लोकतन्त्र र गणतन्त्र
शहरका रङ्गिन गल्लितिर घुम्न गा छन्
खै कहिले फिर्छन् गाँउतिर ?

बा लाई अलि हतारो छ
सामाजिक सुरक्षा भत्ता बुझेर
छिट्टै फर्किनु छ र पुग्नु छ-
साँझ नपर्दै सहीद निवासमा
उता लखन थापाहरु 
पर्खिरहेका होलान् 
प्रजातन्त्र दिवसको विशेष समारोह 
आयोजना गरिएको छ सहीद निवासमा ।
 

तपाईँको मत