गाउँ सहर

हराउँदै परम्परागत घर

  • २२ माघ सोमबार, २०८० | ०८:२६:०० मा प्रकाशित

बेदकोट (कञ्चनपुर) । थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन् ।

“अचेल काठको घर अधिकांशले बनाउन छोडिसके । इँटा, ढुंगाको पक्की घर बनाउँछन्”, बेदकोटका राजेश रानाले भने, “पुराना काठका घर विस्थापित हुँदै छन् ।”

काठले निर्माण गरिएका थारु बस्तीका अधिकांश घर माटोले लिपपोत गरिएका हुन्छन् । घर छेउमै गाईभैँसीको गोठ, परालको कुन्यु पनि बनाइएका हुन्छन् । तर पछिल्लो समय डगौरा, चौधरी थारु र रानाथारु समुदायको बस्ती यस्ता घर विस्थापित हुँदै गएका छन् । 

धमाधम पक्की घर निर्माण हुँदै गएपछि परम्परागत काठले निर्माण गरिएका घर लोप हुँदै गएको लालझाडीका मदन रानाले बताए । “घरसँगै गाई भैँसीको गोठ हुन्थ्यो । नयाँ पुस्ताले गाई भैँसी पाल्दैनन्”, उनले भने, “सहजै काठ पाइँदैन । धेरैजसो पक्की घर बनाउने हुनाले परम्परागत घर हराउँदै गएका छन् ।”

उनका अनुसार विगतमा एउटै परिवारमा सय÷डेढ सय जनासम्म बसोबास गर्थे । तर अहिले १०÷१५ जनाको परिवार पनि भेटिँदैन । “विगतको जस्तो संयुक्त परिवार पनि हुँदैन । बिहे गरेपछि छुट्टिएर बसिहाल्छन्”, उनले भने । रोजगारीका लागि तेस्रो मुलुक जाने क्रम बढेसँगै थारु बस्तीमा पक्की घर बनाउने क्रम बढेको भीमदत्त नगरपालिकाकी लक्ष्मी डगौराले बताए । 

कच्ची घर बर्सेनि लिपपोत गर्नुपर्ने, छानो फेर्नुपर्नेलगायत झन्झटले पराम्परागत घर विस्थापित हुँदै गएका छन् ।  

“अग्लो भेगमा लहरै घर र होचो भेगमा खेतीपाती गरिन्थ्यो”, बेलौरी नगरपालिका अभिषेक रानाले भने, “जनसंख्या वृद्धि र जमिन खण्डीकरणले अहिले होचो खेतीपाती हुने जमिनमा पनि घर निर्माण भइरहेका छन् ।” रासस

तपाईँको मत