ब्लग

स्वस्थानी व्रतकथा र हामी

  • सुनिल उलक
  • ११ माघ बिहीबार, २०८० | ०९:१३:०० मा प्रकाशित

आज पौष शुक्ल पूर्णिमा आजबाट स्वस्थानी ब्रत कथाको ब्रतारम्भ तसर्थ स्वस्थानी सम्बन्धी केही तथ्यहरू यहाँ राख्दैछु ।

मसँग दुईवटा विद्यावारिधी गरेका थेसिसका कपीहरु छन् । एउटा लिण्डा लुइस ईलटिसको जसले यूनिवर्सिटी ऑफ विस्कॉन्सिन मैडिसनबाट विद्यावारिधी गरेकी थिइन् । उनको विषय थियो - "स्वस्थानी व्रत: नेपालमा नेवा: महिला र संस्कार" । उनको विद्यावारिधीको विषयमा स्वस्थानी व्रतलाई नै प्राथमिकता दिइएको थियो । उनले सन १९८५ मा विद्यावारिधी गरेको करिव २५ वर्षपछि जेस्सिका वान्थाइन बर्कन्होल्जले सिकागो यूनिवर्सिटीबाट स्वस्थानी ब्रतकथाको विषयमा विद्यावारिधी गरिन् । उनको विषय थियो - "स्वस्थानी व्रतकथा परम्परा: नेपालका हिन्दूहरुमा स्वयंको, स्थानको तथा पहिचानको परिवर्तन" ।

लेखक-सुनिल उलक

यसरी लामो अन्तरालमा दुई अमेरिकी महिलाले स्वस्थानी ब्रत र स्वस्थानी व्रतकथामा विद्यावारिधी गरे तापनि कुनै नेपालीले भने यो विषयलाई प्राथमिकता दिएर शोध गर्न चाहेको भेटिँदैन । जेस्सिकाले भनेपछि पुस्तक पनि छपाए Reciting The Goddess नामक पुस्तक बजारमा आएको पनि छ । मेरो हातमा दुवै थेसिस भएको हुँदा पनि मैले केही गहिराइबाट अध्ययन गर्ने कोशिस गरेको छु ।

स्वस्थानी शव्दको अर्थ हो - स्व अर्थात आफ्नो तथा स्थान अर्थात ठाउँ हो । तसर्थ स्वस्थानी कथा भनेको आफ्नै ठाउँको वर्णित कथा हो । यसमा वर्णित देवी नेवा:हरुले पूज्ने अष्टमात्रिकाको रुप हो भने यसमा वर्णन गरिएको शहर लावण्य देश - साँखु हो । साथै यहि साँखुमा बस्ने एक महिला "गोमयजु" को जीवनका सुख दुख, आँसु हाँसो तथा सम्पन्नता विपन्नता बिच रुमल्लिएको कथा नै स्वस्थानीको कथा हो ।

सबैभन्दा पुरानो स्वस्थानीको कथा भने करिव ४५० वर्ष अगाडि नेपाल सम्वत ६९३ (वि.सं. १६२९) मा हस्तलिखित संस्कृतमा नेवारी भाषामा मिसाएर लेखिएको राष्ट्रिय अभिलेखालयमा सुरक्षित राखिएको छ । साथै सो समय यो ब्रत केवल २ दिन १ रात अर्थात केवल दुइ दिनको हुने देखिन्छ । तर यसको केवल ३० वर्ष पछि लेखिएको स्वस्थानी ब्रतकथामा भने ३० दिनको हुने वर्णन गरिएको छ । वि.सं. १६५९ देखि मात्र स्वस्थानी ब्रत ३० दिनको हुन थालेको भन्ने बुझ्न सकिन्छ । साथै यो नेवारी भाषामा मात्र लेखिएको थियो । यसरी नेवा:हरु बिच स्वस्थानी ब्रतकथा ब्यापक हुन थाले पछि वि.सं. १७३० माघ शुक्ल पञ्चमीका दिन कान्तिपुरका राजा प्रताप मल्लले मखन तानाबहा:मा पहिलो पटक स्वस्थानीको मुर्ति स्थापना गराएका थिए ।

उपत्यकामा गोरखाली राजा पृथ्वीनारायण शाहले आक्रमण गरि गोरखा राज्यमा समाहित भएपछि मात्र स्वस्थानीको ब्रत तथा वाचन अन्य खस तथा ब्राम्हणहरुले पनि अंगिकार गरेका हुन् । स्वस्थानीको नेपाली भाषानुवाद राजा गिर्वाण वीर बिक्रमको पालामा वि.सं. १८६६ मा मात्र भएको थियो । यसरी हेर्दा मल्लकालमा शुरू भएको स्वस्थानीको ब्रत कथा गोर्खालीले काठमाडौं उपत्यका विजय गरेको ४० वर्ष पछि मात्र अन्यले पनि यसलाइ अंगिकार गरेको मान्न सकिन्छ ।

शुरुका स्वस्थानी आठ पन्नाको ताडको पातमा लेखिएको थियो भने पछि यो बिस्तृत भएर करिव ४०० पन्नाको मोटो किताब बनेको थियो । शुरुका करिव २०० वर्षसम्म केवल नेवारी भाषा मात्र प्रयोग भएको भेटिएको छ । साथै यसको कथामा पनि समय समयमा फेरबदल भइरहेको पनि पाइन्छ । स्वस्थानीको मूलकथा महाभारतको स्कन्द पुराणमा रूमल्लिएको छ । यहि स्कन्द पुराणमा रहेको केदार खण्डलाई नै केन्द विन्दु बनाएर यो कथा लेखिएको छ । पुराणका कथामा प्रमुख पात्र भने स्थानिय बिभिन्न नाममा राखिएको छ । यसैले स्वस्थानीको कथा हाम्रा आख्यानका कथालाई आफ्नो ठाउँको कथा बनाइएको कथा हुँदा यसको नाम नै स्वस्थानी रहेको हो । यस कथा भित्र मुख्य पात्र गोमयजु नै हुन् । नेपाली अनुवाद गरिदा गोमा ब्राम्हणीको रुपमा लेखिएको छ । दोश्रो गोमयजुको छोरा नवराज र तेश्रो नवराजकी श्रीमती चन्द्रावती । तीन पात्रसँगै तीन चरित्र रहेको छ । गोमयजु शान्त जस्तै दुखमा पनि नआत्तिने, नवराज आमाको आज्ञाकारी सुपुत्र जसको असल चरित्रले गर्दा पछि राजा बन्छन् । तेश्रो चन्द्रावती स्वार्थी स्वभावको । केवल सुखभोग गर्न चाहने । लोभ, लालच र घमण्डले गर्दा निकै दुख पाए ।

यस कथाको मुख्य विषयवस्तु नै महिला केन्द्रित रहेको छ । यसमा पनि मुख्य विवाह पछि पतिको घरलाई स्वीकार्नुपर्ने तथा नयाँ घरमा जस्तै विषम परिस्थिती रहे तापनि खुशीसँग रहनु पर्छ भन्ने देखाइएको छ । गोमयजुले विवाह पछि पुगेको पति शिवदत्तको घरको दयनिय अवस्था र चन्द्रावतीले विवाह पछि पुगेको पति नवराजको घरमा खासै धेरै फरक देखिदैन । दुबै गरिब थिए । साथै धनी घर र सुखसयलमा हुर्किएका गोमा र चन्द्रावती थिए ।

आखिर को हुन् त गोमयजु वा को हुन त नवराज भन्ने प्रश्न हामी स्वस्थानी पढ्ने हरेकमा खुलदुली हुने गर्दछ । के यि पात्र केवल काल्पनिक हुन वा कुनै राजनैतिक चरित्रलाई लिएर लेखिएका हुन् । स्वस्थानी ब्रत कथा के साँच्चै पौराणिक कथा हो त ? के यसको सम्बन्ध महाभारतसंग छ ? के यसमा हरेक अध्यायमा भनिए जस्तो कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि अर्थात कुमारले भन्ने र अगस्त्य मुनिले लेखेकै हो त ? यि सबै अनुत्तरित प्रश्नहरू छन् । सबै भन्दा महत्वपूर्ण यो केवल नेपालमा मात्र पढिन्छ । यसमा लेखिएका पिठहरू पौराणिक कथाहरूसँग मिल्दैन ।

यो कथामा महिला माथि अन्याय भएको बढी देखिन्छ । तर महिलाको सहनशिलता र उसको धैर्यले गर्दा जीवनमा सुख सुविधा सबै प्राप्त हुन्छ । यस कथामा दैवी शक्तीको कथावस्तु देखाएर महिलालाई धैर्य गरेमा अवश्य फल प्राप्त हुने देखाइएको छ । यसको कथावस्तुले भगवानको छलकपटहरू देखाएको छ । भगवान माथी प्रश्न चिन्ह लगाईएको छ । भगवान सम्पूर्ण रूपले पूर्ण होइन हामी मनुष्य झै स्वार्थी पनि हुने गर्छ भन्ने देखाइएको छ ।

यसको ब्रत बस्दा सोचेको पुरा हुन्छ भनिन्छ । तर यसको दैवी शक्तिले होइन यसका कथा वस्तुले महिलामा आत्मविश्वास वृद्धि गर्छ । कार्यमा लगनशिलता बढाउँछ । जसले गर्दा आफ्नो लक्ष प्राप्ती गर्दछ ।

यस स्वस्थानी ब्रतकथामा शाली नदीको वर्णन रहेको हुँदा शाली नदीमा ब्रत बस्ने तथा नुहाउनेहरुको भिड लाग्ने गर्दछ । तर पुराना स्वस्थानी कथामा भने कुनै पनि नदीको नाम उल्लेख गरिएको थिएन । करिव २०० वर्ष अगाडिबाट मात्र शाली नदीको उल्लेख गरिएको भेटिएको छ । तसर्थ शाली नदीमा ब्रत बस्ने चलन पनि बढीमा २०० वर्ष मात्र भएको अनुमान गरिएको छ । साथै यहि स्वस्थानी ब्रत आरम्भ हुने समय पौष शुक्ल पूर्णिमाको दिनबाट दुइ जात्रा दुइ ठाउँमा लाग्ने गर्दछ । चाँगुनारायणमा चाँगुनारायण जात्रा तथा साँखुमा माधवनारायण जात्रा । यो दुबै जात्रालाई धेरै पुरानो जात्रा मानिदैन । माधवनारायणको कठिन एक महिना लामो व्रत बस्ने गरिन्छ ।

साथमा राखिएको तस्विर स्वस्थानीको हालसम्ममा प्राप्त पहिलो लिखित अभिलेख हो । जुन नेपाल सम्वत ६९३ मा लेखिएको थियो । 

तपाईँको मत