खेल

नेपालले पाकिस्तानसँग हार्‍याे, सुपरसिक्समा पुग्न अफगानिस्तालाई जित्नैपर्ने

काठमाडौं । आइसीसी यू-१९ विश्वकप अन्तर्गत समूह डी को दोस्रो खेलमा पाकिस्तानले नेपाललाई हराएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा पाकिस्तानले नेपाललाई ५ विकेटले पराजित गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ९८ रन पाकिस्तानले ४८ औं ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍याे ।

पहिलो खेलमा अफगानिस्तानलाई हराएको पाकिस्तानले लगातार दोस्रो जितसँगै सुपर सिक्समा स्थान पक्का गर्‍याे । लगातार दोस्रो हार बेहोरेको नेपालको पनि सुपर सिक्समा अघि बढ्ने सम्भावना बाँकी छ । यसका लागि नेपालले अन्तिम खेलमा शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

अर्धशतक पूरा गरेका अजान अवाइसले विजयी चौकाका साथ पाकिस्तानलाई लगातार दोस्रो जित दिलाए । उनले ८२ बलमा ६ चौकासहित ६३ रन जोडे । हरुन अर्शद १५ रनमा नटआउट रहे । उनले १८ बलको सामना गर्दै २ चौका प्रहार गरेका थिए ।

जवाफी ब्याटिङ गर्ने क्रममा पाकिस्तानले उत्कृष्ट सुरुवात पाएको थियो । पहिलो विकेटका लागि बनेको ८१ रनको साझेदारी आकाशले २२ औं ओभरमा मात्र तोड्न सके । उनले पहिलो बलमा शामिल हुसेनलाई आउट गरे । ५९ बलमा ३७ रन जोडेका उनी उत्तम थापा मगरको मिड विकेटमा हातबाट समातिए ।

तेस्रो बलमा अराफात मिन्हासले १ रन लिए । चौथो बलमा अर्का ओपनर शाहजिब खान डिप स्क्वायर लेगमा आकाश त्रिपाठीबाट समातिए । उनले ७० बलमा ३७ रन जोडे ।

२६ औं ओभरमा आकाशले अराफात मिन्हासलाई ८ रनमा आउट गर्दै नेपाल खेलमा फर्कने संकेत दिए । आकाश त्रिपाठीले २८ औं ओभरको अन्तिम बलमा कप्तान साद बेगलाई खाता नखोल्दै पेभेलियन फर्काएपछि पाकिस्तान दबाबमा परेको थियो । २८ ओभरको समाप्तिमा पाकिस्तान १०४-४ को स्थितिमा थियो ।

तर पाँचौ विकेटका लागि अहमद हसान र अजानले ६४ रनको साझेदारी गर्दै पाकिस्तानलाई जिततर्फ डोर्याए । हसान ४३ औं ओभरमा दीपेश कँडेललाई आक्रमण गर्ने धुनमा स्टम्प्ड आउट भए । उनले ३७ बलमा ४ चौकासहित २९ रन जोडे ।

नेपालका लागि आकाश चन्दले ३ विकेट लिँदा दिपेश कँडेल र आकाश त्रिपाठीले १-१ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ५० औं ओभरको अन्तिम बलमा अलआउट हुँदै १ सय ९७ रन जोड्यो । नेपालले राम्रो सुरुवात पाएपनि मध्यक्रममा विकेट गुमेपछि अपेक्षित रन बन्न सकेन । पाकिस्तानका स्पिनरविरुद्ध नेपाली ब्याटर खुल्न नसक्दा मध्यम योगफल मात्र बन्न सक्यो ।

नेपालले ५० ओभर ब्याटिङ गरेपनि ११ चौका र ३ छक्का मात्र प्रहार गर्न सक्यो । पाकिस्तानका दुई मुख्य स्पिनरले २० ओभरमा मात्र ३८ रन खर्चेका थिए । पुन: एकपटक तल्लोक्रमका ब्याटरले नेपालका लागि महत्त्वपूर्ण योगदान दिँदै मध्यम योगफलसम्म पुर्‍याए ।

नेपालका लागि ओपनर विपिन रावलले सर्वाधिक ३९ रनको योगदान दिए । उनले ६८ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । तल्लोक्रममा दीपक डुम्रेले ५८ बलमा १ छक्कासहित २६ रनको योगदान दिए । सुभाष भण्डारीले २४ बलमा २० रन जोडे । आकाश चन्द ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नटआउट रहे ।

अघिल्लो खेलमा न्युजिल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका अर्जुन पाँचौ ओभरको दोस्रो बलमा आउट भए । अहमद हुसेनको बलमा बोल्ड हुनुअघि अर्जुनले १२ बलको सामना गर्दै ६ रन जोडे ।

आकाश त्रिपाठी १० बलमा ६ रन जोड्दै सातौं ओभरमा क्याच आउट भए । त्यसपछि देव र विपिनले इनिङ सम्हाल्ने प्रयास गरेपनि देव खराब सट खेल्दै आउट भए । उनले ३७ बलमा ३ चौकासहित २३ रन जोडे । लगत्तै उत्तम मगर पनि ४ रनमा आउट भए । त्यसपछि भने नेपालले बाउन्ड्री जोड्न सकेन ।

२७ औं ओभरमा विपिन रावल आउट हुँदा नेपाल ९६-५ को स्थितिमा पुग्यो । गुलशन झा ४७ बल खेल्दै विना कुनै बाउन्ड्री १८ रन जोड्दै आउट भए । अराफात मिन्हासबाट बोल्ड हुनुअघि दिपेश कँडेलले १७ बलमा २ चौकासहित १३ रनको योगदान दिए । सुभाष भण्डारी अन्तिम ओभरको पाँचौ बल र दुर्गेश गुप्ता अन्तिम बलमा उबेद शाहको बलमा उनैबाट क्याच आउट भए ।

पाकिस्तानका लागि मिन्हासले १० ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । अर्का स्पिनर अलि अस्फन्दले १० ओभरमा १ विकेट लिँदा १५ रनमात्र खर्चिए । उबेद शाह र अहमद हुसेनले २-२ तथा खुबेब खलिल र मोहमद जिशानले १-१ विकेट लिए ।

नेपालले न्युजिल्यान्डविरुद्धको पहिलो खेलबाट टोलीमा तीन परिवर्तन गरेको थियो । ओपनर दीपक बोहोरा, मध्यक्रम ब्याटर दिपक बोहोरा र स्पिनर तिलकराज भण्डारी टोलीबाट बाहिर रहँदा विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्ता टोलीमा आएका थिए ।

नेपाल पहिलो खेलमा आइतबार न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । नेपाल सुपर सिक्समा पुग्न शुक्रबार अफगानिस्तानलाई हराउनु पर्ने हुन्छ । अन्यथा नेपाल समूह चरणबाट बाहिरिनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत