खेल

आजदेखि २३ औँ पोखरा गोल्ड कप

काठमाडाैं । मोफसलकै लोकप्रिय २३औँ संस्करणको आहा रारा पोखरा गोल्ड कप मङ्गलवारदेखि सुरु हुँदै छ।

सहारा क्लब पोखराको आयोजनामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लब, विभागीय टिमहरू, सुपर लीगका टिम, विदेशी टिम, मोफसलका टिमसहित आयोजक सहारा क्लबकै टिमले पनि प्रतिस्पर्धा गर्दै छन्। 

पोखरा रङ्गशालामा हुने गोल्ड कप माघको २० गतेसम्म सञ्चालन हुने सहारा क्लबका पोखराका महासचिव रामजीप्रसाद अधिकारीले बताए।  ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौँ’ भन्ने नाराका साथ २०८० सालको संस्करणको आयोजना भएको हो।

क्लबले सार्वजनिक गरेको ‘म्याच टाई सिट’ अनुसार हरेक दिनका खेलहरू दिउसो दुई बजेबाट सुरु हुनेछन् भने ‘फाइनल’ खेल भने माघ २० गते दिउसो एक बजे खेलाइने छ। 

कुल १२ ‘टिम’ को सहभागिता रहेको यस संस्करणको पहिलो दिन मङ्गलवार आयोजक सहारा क्लब पोखरा र थ्री स्टार क्लब भिड्दै छन्। यसबाट विजेता बनेको टोलीले माघ १३ गते पारो फुटबल क्लब भुटानसँग भिड्ने छ। 

माघ १० मा राइजिङ स्टार फुटबल क्लब र विभागीय त्रिभुवन आर्मी क्लबबिच खेल हुने छ। यी दुईबिचको विजेताले माघ १४ गते सङ्कटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ। 

माघ ११ मा मच्छिन्द्र क्लब र जाउलाखेल यूथ क्लबीच प्रतिस्पर्धा हुने छ। यसबाट विजेता बनेको समूहले माघ १५ मा मनाङ मर्स्याङ्दी क्लबसँग भिड्नुपर्ने छ। माघ १२ मा विभागीय नेपाल प्रहरीको नेपाल पुलिस क्लब र अर्को विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबबिच प्रतिस्पर्धा हुने छ। यो खेलबाट विजेता बन्ने टोलीले माघ १६ मा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग भिड्नुपर्ने छ। 

भुटानको पारो फुटबल क्लब, आयोजक सहारा क्लब पोखरा र थ्री स्टार फुटबल क्लबमध्येको एक टोलीले मच्छिन्द्र क्लब, जाउलाखेल यूथ फुटबल क्लब र मनाङ मर्स्याङ्दी टोलीमध्येबाट आएको एक टोलीसँग माघ १७ गते सेमिफाइनलमा प्रतिस्पर्धा गर्नुपर्ने छ। यस्तै अर्को समूहमा सङ्कटा क्लब, राइजिङ स्टार फुटबल क्लबमध्येको एक टोलीले नेपाल पुलिस क्लब, एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेड फुटबल क्लबमध्येबाट आएको एक टोलीसँग माघ १८ मा प्रतिस्पर्धा गर्ने छन्। 

आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा २८ लाख रुपैयाँ भन्दा बढी रकम पुरस्कारका लागि मात्रै खर्च हुने छ। प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख एक हजार रुपैयाँ र दोस्रो हुने टोलीले छ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन्। सहभागी टोलीले हरेक खेलमा प्रोत्साहन रकम पाउने सहारा क्लबका अध्यक्ष केशवराज बरालले बताए। प्रि– क्वाटर खेल्ने दुवै टोलीले २० हजार, क्वाटरफाइनल खेल्ने टोलीले ३० हजार तथा सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसरी सबै पुरस्कारका लागि २८ लाख ३२ हजार पाँच सय ५५ रुपैयाँ खर्च हुने छ। 

आयोजक सहाराले प्रि–क्वाटर र क्वाटर फाइनलका खेलहरूको साधारणतर्फ एक सय रुपैयाँ र भिआइपी तर्फ दुई सय रुपैयाँ, सेमिफाइनलमा साधारणतर्फ दुई सय र भिआइपीतर्फ चार सय रुपैयाँ तथा फाइनलमा साधारण तर्फ तीन सय रुपैयाँ र भिआइपीतर्फ पाँच सय रुपैयाँ टिकट दर निर्धारण गरेको छ।

आहा ! रारा पोखरा गोल्ड कपको २२ औँ संस्करणको उपाधि सङ्कटा क्लबले जितेको थियो। आमन्त्रित भुटनिज स्पोर्टस् क्लब, मिन्नेसोटा अमेरिकाले उपबिजेतामा चित्त बुझाएको थियो। पोखरा रङ्गशालामै भएको गत संस्करणमा १० ‘टिम’ ले भाग लिएका थिए।  

विगत २३ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगिताबाट बचत हुन आएको रकम क्लबबाट सञ्चालित सूर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गर्ने गरिएको छ। सहारा क्लबले २०६१ साल देखि आवासीय रूपमा निःशुल्क स्वास्थ्य, शिक्षा दीक्षा लगायत फुटबल प्रशिक्षण सहित सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आइरहेको छ। पोखरा महानगरपालिका–१७, दोविल्लामा रहेको सहारा एकेडेमीमा अहिले चौथो ब्याचमा आठ जिल्लाका १४ जना बालकहरू आश्रित छन्। विपन्न तथा कठिन परिस्थितिका बालकलाई आवासीय रूपमा निःशुल्क स्वास्थ्य, शिक्षादीक्षा लगायत फुटबल प्रशिक्षण गर्दै आएको छ। 

हिमश्री फूड्स प्रा.ली.को मुख्य प्रायोजन तथा पोखरा महानगरपालिकाको प्रवर्धनमा सञ्चालन हुने गोल्ड कपमा राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, अखिल नेपाल फुटबल सङ्घ, कास्की जिल्ला फुटबल सङ्घ, सहारा यु.के, सहारा हङकङ, सहारा अस्ट्रेलियाले विशेष सहयोग गर्दै आएका छन्। 

‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौँ’ भन्ने मन्त्रका साथ विसं २०५५ मा स्थापित सहारा क्लबले आयोजन गर्ने प्रतियोगिता पोखराकै पर्यायवाचीको रूपमा लिने गरिन्छ । आहा रारा गोल्डकप देशकै पुरानो मध्यको एक प्रतियोगिता हो।

गाउँ सहर संवाददाता

तपाईँको मत