गाउँ सहर

प्रधानमन्त्री प्रचण्डले असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन् । आजदेखि सुरु हुने सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगान्डा गणतन्त्रको राजधानी कम्पालामा भोलिसम्म चल्नेछ । 

आजै प्रधानमन्त्री प्रचण्ड युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना हुने राजकीय भोजमा सहभागी हुनेछन् ।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो । स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । 

सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड हिजो बिहान युगान्डा गणतन्त्र प्रस्थान गरेका थिए । 

प्रधानमन्त्री प्रचण्ड भ्रमण सम्पन्न गरी माघ ७ गते बिहान ९ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत